नेकपाले प्रधानमन्त्रीको पुत्ला जलाउने, बन्द ‘शानदार’ सफल भएको दाबी

नेकपाले प्रधानमन्त्रीको पुत्ला जलाउने, बन्द ‘शानदार’ सफल भएको दाबी


नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीले मङ्गलबारका लागि आह्वान गरेको नेपाल बन्द ‘शानदार’ ढङ्गले सफल भएको दाबी गरेका छन् । मङ्गलबार साँझ एक ‘धन्यवाद विज्ञप्ति’ प्रकाशित गर्दै उनले बन्द सफल पार्न साथ–सहयोग गर्ने राजनीतिक दल र आमजनताप्रति आभार प्रकट गरेका छन् ।

धन्यवाद वक्तव्यमा उनले राज्य आतङ्क र ओली सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गर्नुपरेको उल्लेख गर्दै आमजनता, मित्र राजनीतिक दलहरू र नेता–कार्यकर्ताको सक्रियतामा बन्द शानदार सफल भएको दाबी गरेका छन् । साथै, ‘बन्द–सङ्घर्ष’मा सहभागी सयौँ नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको भन्दै विप्लवले यसअघि पक्राउ परेका सुदर्शन, पदमलगायत बन्दका क्रममा गिरफ्तार भएका सबैलाई यथाशीघ्र मुक्त गर्न माग गरेका छन् । यस मागको सुनुवाई नभए विरोधका सशक्त कार्यक्रम ल्याइने चेतावनी पनि उनले दिएका छन् ।

सोही विज्ञप्तिमार्फत् विप्लवले भोली ९ गते बुधबार कोणसभा, १० गते अन्तरक्रिया, ११ गते प्रधानमन्त्री ओलीको पुत्ला दहन, १२ गते प्रदर्शन र १३ गते देशब्यापी ठूलो कार्यक्रम आयोजना गरिने जानकारी पनि दिएका छन् ।