परिणामले आफ्ना पाइला
जतासुकै मोडोस्
अन्धकारले जस्तोसुकै उसको
विषाक्त व्यूह रचोस्
म सत्यको मियो,
न्यायको शिर
सधैं झलमलाउँदो दिग्विजयी हिमाल हरपल मुस्कुराउँदै
म अदम्य भाष्कर/अजश्र ओजस्वी ब्रह्मज्योति,
अविरल अनन्त कोसी/पवित्र–पावन शिर गंगा
बगिरहन्छु/बगिरहन्छु,
म अविछिन्न सृष्टिको खुसी मौलाइरहन्छु !
बाटो चिन्हे !
बल्ल मैले आफ्नो माटो बुझेँ
के हुँ म ? को हुन् आफ्ना/पराय ?
नीति बुझेँ । गीतका विधिहरू अन्तरबोध भयो,
घाम झुल्के छर्लङ्ग आँखाभरि,
अन्धकार गोरेटोमा जून उदाए
कसैले छेक्न सक्दैन,
उप्रान्त, कसैले काँडा तेस्र्याउने कष्ट नगरे हुन्छ मेरो मार्गमा
मौन/चुपचाप मेरा अथक पाइलाहरू,
आहा ! बल्ल महाज्योति बल्यो हृदयमा
अब म हाँसिरहन्छु/गाइरहन्छु/लम्किरहन्छु निरन्तर
म अदम्य अविचलित शिखर यात्राभरि घन्किरहन्छु,
बाँसुरीको जागरण धूनमा म नाचिरहन्छु जीवनभर !
मेरो निष्ठापूर्ण आराधना
निश्चल पुकार/प्रार्थना
सृष्टि कण–कणमा अनुगुञ्जित पे्रमिल बन्धना
अनन्त/अगणित आकाश,
फैलिरहनुपर्छ म बुद्धका निर्मम नयन भएर सिङ्गै सृष्टिभर !
यी झरेका खोसल्टे थुप्राहरू
र, ईष्र्यालु कपटी शकुनीहरू,
बुद्धको निश्छल हृदय धुलो उडाएर
सीमातीत आकाशका तारा चुँड्न
बङ्करका पाउ झुकिरहेछन् निरन्तर,
गाएर अघाउँदिनँ म मेरो बाँसुरीको धून
धरतीभरि शीलत जून उम्रिरहन्छु म
बुद्धको ढुकढुकी चुमेर हरेक बिहान,
म घन्किरहन्छु चेतना चुमेर बारम्बार !
हे ऽ पर्वतेश्वर !
तिमी अविचलित साक्षी छौ मेरो हृदयमा,
म आँधीको पन्छी छटपटाइरहेका बेलामा
तिमी देदीप्यमान महादीप मुस्कुराइरहनेछौ बासमा
हो, म त्यही विश्वासको आकाश सिरान हालेर
यी सैतानहरूले उर्लाएको कृत्रिम समुद्रमा
म एक्लो अर्जुन लडिरहेछु युद्धमैदानमा
म मात्र निमित्र पात्र हुँ यो अगम्य नाटकशालाको,
अन्तत: मेरो हार/मेरो जित,
हे ऽ पर्वतेश्वर तिमै्र हातको पन्छी हुँ म अगम्यश्वर !
प्रतिक्रिया