काङ्ग्रेस सभापतिलाई पदमुक्त गर्न माग

काङ्ग्रेस सभापतिलाई पदमुक्त गर्न माग


ललितपुर काङ्ग्रेसका स्थानीय नेताहरूले पार्टी सभापति मदन अमात्यलाई पदबाट हटाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार (फागुन ८ गते) एक निवेदन दर्ता गराएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी ललितपुर काङ्ग्रेसका नेताहरू रामकृष्ण चित्रकार, प्रमोद शर्मा, भरतलाल न्याछयों, माधव खनाल, जितेन्द्र श्रेष्ठ, राजेश महर्जन र महेश्वर थापालगायतले दिएको संयुक्त निवेदनमा ललितपुरमा काङ्ग्रेस पराजित हुनुको मुख्य कारण नै सभापति मदन अमात्य भएको भनिएको छ ।

निवेदनमा लेखिएको छ, ‘भष्मासुर प्रवृत्तिका वर्तमान सभापति अमात्यलाई तुरुन्त अनुशासनको कारबाही गरी नेपाली काङ्ग्रेसको विधानको धारा ४३ र नियमावलीको दफा ४२ को उपदफा (६) अनुसार तत्काल निलम्बन गरी सभापति पदबाट हटाउन हामी सम्पूर्ण पदाधिकारी तथा कार्यकर्ताहरू जोडदार माग गर्दछौँ ।’

ज्ञातव्य छ, ललितपुर काङ्ग्रेसका सभापति मदन अमात्य ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकोमा माओवादी उम्मेदवार पम्फा भुसालबाट झिनो मतान्तरले पराजित भएका थिए । उक्त पराजयमा काङ्ग्रेसकै नेताहरूको अन्तर्घाती भूमिका रहेको ठहर गर्दै सभापति अमात्यले दोषी ठानिएका केही नेतालाई कारबाहीका निम्ति सिफारिस गरेका थिए । यसरी कारबाहीमा परेका काङ्ग्रेस नेताहरूले नै सभापति अमात्यलाई पदमुक्त गर्न पार्टी कार्यालयमा निवेदन दिएका हुन् ।