
नेपाली काङ्ग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा जोडदार रूपमा उठिरहेको भए पनि सभापति शेरबहादुर देउवाका विपक्षीहरूबीच समान धारणा बन्न नसक्दा नेतृत्व परिवर्तनको विषयले गति लिने सम्भावना कमजोर हुँदै गएको छ ।
देउवाको विकल्पका रूपमा अगाडि आएका रामचन्द्र पौडेल संसदीय निर्वाचनमा पराजित भएपछि उनी रक्षात्मक बन्न पुगेका छन् । देउवाको सम्भावित विकल्पको रूपमा लिइएका डा. रामशरण महत र डा. शेखर कोइराला पनि निर्वाचनमा पराजित भएकोले महामन्त्री डा. शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई देउवाको वैकल्पिक नेताका रूपमा हेरिएको छ ।
महामन्त्री शशाङ्क कोइराला देउवासँग सीधा टक्कर दिने मनस्थितिमा नरहेको र प्रकाशमान सिंह अलिक मुखरित भएर अगाडि आएकोले देउवाको विकल्पका रूपमा सिंहलाई लिन थालिएको छ । काङ्ग्रेसमा यतिबेला क्रियाशील नेताका रूपमा प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, डा. नारायण खड्का, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, विमलेन्द्र निधि, चन्द्र भण्डारी, एनपी साउद, बद्री पाण्डे, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, शङ्कर भण्डारी, गगन थापा, कल्याण गुरुङ र प्रदीप पौडेललगायतलाई लिइन्छ । प्रभावी मानिएका नेता खुमबहादुर खड्का स्वास्थ्यका कारण तत्काल कुनै भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छैनन् ।
क्रियाशील नेताहरूमध्ये अधिकांशले शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवैको विकल्प खोज्नुपर्ने धारणा बनाएका छन् । तर, देउवाको सर्वमान्य विकल्प बन्ने स्थितिमा अहिलेसम्म कोही नरहेको र पौडेल–कोइराला खेमाभित्रै एकमन एकताको स्थिति विकसित नभएकोले त्यसको लाभ शेरबहादुर देउवाले उठाउन सक्ने सम्भावना बढेको छ । देउवाका विपक्षी समूहभित्र नै एकले अर्कोलाई अस्वीकार गर्ने स्थिति रहेकोले काङ्ग्रेस संसदीय दलको नेतामा समेत देउवाले नै निरन्तरता पाउने सम्भावना बढेको छ । नेता प्रकाशमान सिंह देउवालाई चुनौती दिन अग्रसर भएलगत्तै महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सर्वसम्मत ढङ्गले संसदीय दलको नेता बन्न चाहेको बताएकाछन् । जब कि देउवा आफैँ दलको नेता बन्न इच्छुक भएकोले डा. कोइरालाको नाममा सर्वसम्मति हुने सम्भावना देखिँदैन ।
देउवा र सिंहबीच चुनावी प्रतिस्पर्धा भएमा शशाङ्क कोइरालाको सहयोग देउवालाई रहने हो या सिंहलाई सो यकिन गर्न सकिने स्थिति छैन । युवा पुस्ताका नेताहरू गुट–उपगुटमा विभाजित भएकाले चुनाव परिणामपछि नेतृत्व परिवर्तनका निम्ति उनीहरूले शुरु गरेको अभियान पनि शिथिल हुन पुगेको छ । युवाहरूको शिथिलता र विभाजन पनि देउवाका निम्ति लाभप्रद रहने देखिएको छ । रामचन्द्र पौडेल र शशाङ्क कोइरालाको नेतृत्वमा सुदृढ र सक्रिय टिम बन्ने स्थिति नरहेको, कृष्ण सिटौलाको स्थिति पनि पहिलेभन्दा कमजोर भएको, खुमबहादुर खड्का विभिन्न कारणले रक्षात्मक बन्दै गएको र डा. रामशरण महतले टिम बनाउन नै नखोजेको यस अवस्थामा प्रकाशमान सिंहले देउवालाई चुनौती दिन गरेको प्रयास कति सफल हुन सक्ने हो, प्रतीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया