होला त शुक्रबार मन्त्रिमण्डल बिस्तार ?

होला त शुक्रबार मन्त्रिमण्डल बिस्तार ?


फागुन ३ गते तीन सदस्यीय मन्त्रिमण्डलका प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आठ दिन बितिसक्दा पनि मन्त्रिमण्डलको आकार बढाउन सकेका छैनन् । निर्वाचन भएको पनि मङ्सिर १० को मितिले ठ्याम्मै तीन महिना बितिसकेको छ भने निर्वाचनभन्दा तीन महिना अघिदेखि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी केपीले गर्दै आएका थिए । यस हिसाबले ओलीले आफूलाई राज्यको कार्यकारी भूमिकामा दोस्रो पटक देख्न थालेको लगभग ६ महिना भइसकेको छ ।

तर, आफूलाई प्रधानमन्त्रीको रूपमा त्यतिबेलै कल्पना गरेका केपी ओलीले आफ्ना मन्त्री छान्न भने सात दिन नाघिसक्दा पनि सकेनन् । विकास र समृद्धिको असाध्यै आकर्षक सपना देखाउन सफल प्रधानमन्त्री ओलीलाई अहिलेको कार्यभार कति भारी परिरहेछ, यसको ज्वलन्त उदाहरण हो मन्त्रिमण्डल विस्तार हुन नसकिरहेको अहिलेको अवस्था । आखिर यस्तो अप्ठ्यारो कसरी या किन आइपर्यो त ? जवाफ सरल नै छ । पार्टी एकता नभई सत्ताको वागडोर समात्न पुग्नु पनि एउटा कारण हो, जसले मन्त्री चयनमा प्रधानमन्त्री ओलीलाई सकस दिएको छ ।

तथापि, निकै छलफल, कसरत र माथापच्चीपछि एमाले र माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा र मन्त्रिमण्डलमा पठाइने पात्रहरूको चयन गरेका समाचार सार्वजनिक भएका छन् । बताइएअनुसार एमाले र माओवादी केन्द्रबीच हिजो बुधबार नै भएको समझदारी अनुसार मन्त्रालयको सङ्ख्या जम्मा अठार राखिने तय भएको छ भने सोहीअनुरुप एमालेले प्रधानमन्त्रीसहित ११ मन्त्रालय र माओवादी केन्द्रले ७ मन्त्रालय बाँडेर लिने सहमति भएको छ । यसबीच उपेन्द्र यादवले नेतृत्व गरेको फोरमलाई पनि सरकारमा सहभागी गराउन प्रयत्न गरिएको र तत्कालका लागि त्यो सम्भावना टरेकोले दुई दलबीच यस्तो समझदारी भएको बताइन्छ ।

एमालेका शीर्षतहका एक नेताका अनुसार एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने र माओवादी केन्द्रले गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय लिने समझदारी गरेको छ भएको छ ।

मन्त्रालयको भागबण्डामा कुरा मिले पनि मन्त्रीमा कसकसलाई लैजाने भन्नेमा दुबै दलभित्र खिचातानीको अवस्था रहेको बुझिन्छ । आकांक्षीहरुको संख्या निकै रहेकोले नाम चयनमा कठिनाई परिरहेको छ । एमालेलाई मन्त्री छान्न निकै सकस परे पनि माओवादी केन्द्रले भने लगभग नाम टुंग्याएको बुझिएको छ । माओवादीले रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा पठाउने पात्रहरुको चयन गरेको छ । अन्तिम सूची तयार गरिसकेको नभए पनि रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्की, बिना मगरलगायत आकांक्षी रहेका र यिनैमध्येबाट मन्त्री बनाइने बताइन्छ । तथापि, रातभरमा मन्त्रीको सूची परिवर्तन हुने पनि उत्तिकै सम्भावना छ । प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार नै नाम टुंगो लगाएर सपथ ग्रहण गराउने सहमति भएको बुझिएको छ ।