कांग्रेसले कार्यशैली, कार्यक्रम र आचरण सुधारे अझै भविष्य उज्जवल छ : महामन्त्री कोईराला

कांग्रेसले कार्यशैली, कार्यक्रम र आचरण सुधारे अझै भविष्य उज्जवल छ : महामन्त्री कोईराला


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नेपाली कांग्रेसले आफ्ना कार्यशैली, कार्यक्रम र आचरण सुधार्न आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले अझैं कांग्रेसको भविष्य उज्जवल रहेको भन्दै निराश नहुन आग्रह गरेका छन् ।

लमजुङस्थित बेसीशहर नगरपालिकाभित्र रहेको जनकल्याण माविको प्रांगणमा निर्माण गरएको विद्यालयका संस्थापक एवम् प्रजातन्त्रका सेनानी स्वर्गीय रोहिणीराज त्रिपाठीको अर्धकदको शालिक अनावरण गर्दै नेता कोईरालाले देश निर्माणको अभिभारा कांग्रेसकै काँधमा आउने भन्दै कांग्रेसले कार्यशैली, कार्यक्रम र आचरण सुधार्न आवश्यक रहेको बताएका हुन् ।

‘पार्टीको संगठन कमजोर होइन् । घात अन्तरघातका कारण कमजोर बनाइएको हो ।’ उनले भने, ‘अब विगतलाई बिर्सिएर सबै एकताबद्ध भएर अघि बढ्ने बेला आएको छ ।’

मुलुकमा विकास जति पनि भएको छ त्यो सबै कांग्रेसकै पालामा भएको भन्दै नेता कोइरालाले भने, ‘इतिहासमा नयाँ कडी थप्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ, सबै एकतावद्ध भई अव पार्टीलाई बलियो बनाउनेतर्फ लाग्नु आवश्यक छ ।’

प्राविधिक शिक्षा सञ्चालन गर्ने पवित्र उद्धेश्यले विद्यालयले महायज्ञ सञ्चालन गरेकोमा उनले खुशी व्यक्त गर्दै महायज्ञको सफलताको कामना गरेका छन् । उनले शिक्षा विना केही देशको विकास असम्भव रहेको भन्दै गुणस्तरिय शिक्षामा जोड दिन शिक्षकहरुलाई अनुरोध गरेका छन् ।