हाम्रा नेताहरू कस्ता हलुका
जसलाई हेर्यो अधिकांश हलुकै–हलुका
हेर्दा चिल्ला चाकला खाइलाग्दा
चालढालचाहिँ हावामा फिरफिरेजस्ता
लामो बिमारीले लगलग आमाप्रति बेवास्ते अल्लारेजस्ता
कर्मकाण्डका आशामुखी कट्टर गुरु पुरेतजस्ता
अन्य देशका नेताहरूको बखान सुन्दा
यहाँ त्यो त्याग तपस्या दूरदर्शिता सहलह कताकता
हामी पढ्छौँ सुन्छौँ तिनका बारे अनि झुन्ड्याउँछौं तस्बिर पनि
अनि ती देशका उन्नति–प्रगतिमा इष्र्याउँछौं आफूलाई बिर्सेर
हाम्रा नेताहरू कस्ता अनौठा
देश नै आफूले अपुताली पाएजस्तो सम्झने
खेतबारी आफ्नो भागमा परेका दाजुभाइजस्ता
साँध आली खनजोत सिँचाइ रोपाइँ फसल कताकता
बन्जर बुट्यान रहलपहलमै घाँटी तानातान
घमण्ड स्वार्थ त्यागी एकजुट भई नवनिर्माण गर्ने भावना त कताकता
आफ्नै देशका पुख्र्यौली नेताहरूको कथा सुन्दा
जनताकै लागि ज्यान दिने सहिदहरूको सपना कस्ता–कस्ता
जनताको नाम जनताको दुहाई दिएर जनताको अमंगल गर्ने
देशको दुर्गति गर्ने नेताहरू सम्झिराख्नैपर्ने आपूmलाई सजग पारेर
हाम्रा नेताहरू कस्ता फितला
लोभ तीव्र आपसी द्वेष रोक्न नसक्ने भविष्यको वास्ता नगर्ने
नेता कहलाउने तर जिम्मेवारी नसम्झने
नेता हुँ भनी गर्व गर्ने तर चुनावसँग टाढा हुन खोज्ने
जनताको आकाङ्क्षा र भरोसा नै नेता, कतिले सम्झने कतिले बिर्सने
खँदिलो गहकिलो नेता आगमनको बाटो खुल्यो, खुल्दै छ
देश पनि कति कमजोर कति बलियो
जनता सार्वभौम भएको बेला बिक्नुभएन चुक्नुभएन
सिद्घान्त जसले जे अघि सारे पनि व्यक्तिको व्यक्तिगत आदर्श
कसौटी बन्नुपर्नेछ प्रतिनिधि चुन्दा देशलाई सम्झेर
अनि वजनदार नेता कसो नपाउला यो देशले ?
प्रतिक्रिया