यतिबेला नेपाली कलाकारिता क्षेत्रलाई पनि राजनीति लागेको छ । नेपालका सम्पूर्ण कलाकारको छाता सङ्गठन चलचित्र कलाकार सङ्घको असोजको अन्तिम साता हुन गइरहेको नयाँ नेतृत्व चयनमा कलाकारहरूको भिडन्त सुरु भइसकेको छ । अध्यक्ष रमेश बुढाथोकीको कार्यकाल सकिएपछि सो पदमा को उठ्ने भन्ने चासो भइरहेको समयमा सङ्घका वर्तमान महासचिव तथा नायक नवल खड्काको उम्मेदवारी परिसकेको छ । यसकारणले पनि नवल यतिबेला भेटघाट अनि भोट माग्न र यसो गर्छु, उसो गर्छु भन्नेतिर व्यस्त भइरहेका छन् ।
० भनेपछि यसपटक अध्यक्ष पदमा उठ्ने नै भइयो, होइन त ?
– अब त शङ्कै भएन नि । नवलले बोलेपछि बोल्यो । खोटाङ्गे अब पछाडि हट्दैन ।
० अरू चलचित्र विकास बोर्डको अध्यक्ष ताकिरहेका छन् तर तपाईंचाहिँ कलाकार सङ्घको अध्यक्ष ताकिरहनुभएको छ । के छ यहाँ ?
– यो व्यावसायिक संस्था होइन र यहाँ यो भएर वा ऊ भएर पनि आउने होइन । हामी कलाकारहरूको आस्था हो यो अनि पे्ररणा र सम्मान हो । धन कमाउन कलाकार सङ्घ आउने होइन ।
० तपाईंसँग को छन् त प्रतिस्पर्धी ?
– अहिलेसम्म कोही पनि छैन र सबै साथीहरूले अनि अग्रज कलाकाहरूले नवललाई जिताउनुपर्छ । नवलले हाँक्न सक्छ भन्नुभएको छ । म निकै खुसी छु ।
० फेरि पछि तिनीहरूले नै ढाल्लान् नि ?
– त्यो हुनै सक्दैन । यो संसार नै विश्वासमा अडिएको छ र म पनि विश्वास गर्छु । कलाकारितामा लागेर जीवन खर्चनुभएका अग्रजहरूबाट यस्तो हुनै सक्दैन । उहाँहरूले नै मलाई उठाउनुभएको हो ।
० कलाकारहरूलाई ठीक लाग्छ राजनीति ?
– यसलाई राजनीति नभनौँ । यो संस्था आफ्नो क्षेत्र, वर्ग र पेसाको हकहितका लागि हामी सबै मिलेर गठन गरेको संस्था हो । यहाँ राजनीतिज्ञ होइनन् विशुद्ध कलाकारहरू मात्र छन् ।
० तपाईंलाई नै कलाकारहरूले किन भोट दिने ?
– उनीहरूको हकहित र अधिकारका लागि बोल्नका निम्ति अनि कलाकारिता क्षेत्रलाई विदेशसम्म पहुँच पुर्याउन । अब हामी त हाम्रो कलाकारिता देशभित्र मात्र सीमित रहनुहुँदैन ।
० अध्यक्ष पदमा जित्छु भन्ने विश्वास छ ?
– यो त मेरा अग्रज र साथीहरूको विश्वास हो । उहाँहरूकै पे्ररणा र हौसलाले गर्दा म उठ्न लागेको हुँ । त्यसैले मलाई विश्वास छ कि उहाँहरूको विश्वास र साथले फेल खाँदैन ।
‘म ठग्न सक्दिनँ’
कलाकर्मीहरू अझै पनि पूर्ण रूपमा कलाकारिता क्षेत्रतर्फ भरोसा गर्न सकिरहेका छैनन् । केही कलाकर्मीलाई छाडेर भन्ने हो भने (साइड विजनेस) मा प्राय: कलाकर्मी रहेका देखिन्छन् । काम, त्याग अनि खर्चेको समयको अनुपातमा राम्रोसँग टिक्न र चल्न सक्ने पारिश्रमिक नपाएपछि कलाकर्मीहरू समय कटाउन पनि सजिलो हुने र दुई–चार पैसा पनि आउने भन्ने सोचमा केही न केही व्यवसायमा लागिपरेको देखिन्छ ।
आइतबार दिउँसो काठमाडौंको दरबारमार्गमा भेटिएकी अभिनेत्री सङ्गीता भोक्तानले पनि यस्तै धारणा राखिन् । उनलाई दिउँसो शोभाज अप्टिङमा भेट्दा त्यहाँ बाक्लै उपस्थिति रहेको थियो महिलाहरूको । साडी र कुर्थाहरू पाइने त्यहाँ यो स्तम्भकारले सङ्गीतालाई ग्राहकको रूपमा सोचेको थियो तर त्यहाँ त उनी किन्न होइन बेच्न पो उपस्थित भएकी रहिछिन् । ‘केही न केही त गर्नुपर्यो नि । परिवारलाई पनि हुने अनि आफूलाई पनि समय बिताउने बाटो हुने । सुटिङ नभएको समयमा बरालिएर हिँड्नुभन्दा साहुनी हुनु नै वेश होइन र ?’ उनको प्रतिप्रश्न थियो ।
कुराकानीको क्रममा सङ्गीताले काठमाडौं दरबारमार्गको नाङ्लोको ठीक अगाडि रहेको शोभाज अप्टिङ खोलेको एक महिना जति भएछ । ‘किन्ने ग्राहकहरू राम्रै आइरहनुभएको छ । मलाई घाटा छैन । म सन्तुष्ट नै छु । फरक क्षेत्र र फरक अनुभव रमाइलै छ,’ उनी प्रसन्न छिन् । साडी र कुर्था सलवार मात्र पाइने यहाँका लागि सङ्गीता आफैं भारतबाट सामान ल्याउँदिरहिछिन् । ‘भारतको चेन्नाई, कोलकाता र दिल्लीबाट साडी र कुर्थाहरू ल्याउँछु म’ उनले थपिन ।
चलचित्रहरूको छायाङ्कन र विदेशमा हुने सांस्कृतिक कार्यक्रममा व्यस्त हुँदा भने सङ्गीताले यो पसललाई के गर्छिन् त ? प्रश्न भुइँमा खस्न नपाउँदै यस्तो आयो उनले भनिन्, ‘आमाले हेर्नु हुन्छ । मेरो एउटा दाइ र भाइ विदेशमा बस्नुहुन्छ । नेपालमा आमा, बुबा र म मात्रै छौँ । आमालाई पनि दिन कटाउन सजिलो हुन्छ यो पसलबाट,’ सङ्गीताले बताइन् ।
साडी र कुर्था पसल राखेर लाखौँ कमाउने सपना देखेकी छैनन् उनले । ‘मेरो सम्पर्कस्थान पनि हो यो । साथीभाइलाई बोलाउँदा बोलाउने ठाउँ पनि थिएन, अब भयो । ठगेर रातारात कमाउने सपना छैन मेरो । नाफा धेरै नहोस् तर घाटा पनि नजाओस् भन्ने उद्देश्य छ मेरो । सामान्य रूपमा अगाडि बढ्ने योजना छ । म ठग्न सक्दिनँ,’ उनले बताइन् ।
सौजन्य उडिसातिर
अभिनयको मामिलामा त सौजन्य सुब्बालाई कसैले पनि औंला उठाउन सक्दैनन् । एक समय टेलिभिजन क्षेत्रमा एकछत्र राज गरेकै हुन् उनले । उनकै नामले पनि टेलिचलचित्रहरू चल्ने र बिक्ने गर्दथे । अहिले समय फेरिएको छ तथापि सौजन्यको क्रेज, प्रशंसा अनि उनले तारिफ गर्नेहरूको सङ्ख्या भने घटेको छैन ।
केही तकड–भडक विषयमाथि बनेका चलचित्रहरूको बजार विस्तार भइरहेजस्तो देखिए तापनि अभिनयको क्षेत्रमा नाम कमाएकाहरूको मूल्याङ्कन भने कहीँ न कहीँ भइरहेको हुँदोरहेछ । यो कुराको गतिलो र पछिल्लो उदाहरण बनेकी छिन् अभिनेत्री सौजन्य सुब्बा । कुनै विदेशी चलचित्रमा एक सिन झुलुक्क देख्न पाइयो भने पनि कामभन्दा हल्ला बढी पिटाउने नेपाली सिनेबजारको भीडमा विदेशी चलचित्रमा एकल नायिकको रूपमा देखापर्दा पनि सौजन्यले हल्ला गरिनन् । उनले भनिन्, ‘म सुरुदेखि नै हल्लालाई भन्दा कामलाई महत्व दिने मान्छे हुँ । तपाईंले थाहा पाउनुभएछ । नत्र म गुपचुप सुटिङ सकाएर रिलिजपछि मात्र मिडियामा जाने तयारीमा थिएँ,’ सौजन्यले सुटिङमा काठमाडौंबाट भारततर्फ उड्नुअगाडि घटना र विचारसँग भनिन् ।
सौजन्य यतिबेला भारतको उडिसामा उडिसा भाषाको चलचित्रमा काम गरिरहेकी छिन् । भारतमा राम्रो बजार पाएको यो भाषाको चलचित्रमा सौजन्य नेपाली मूलकी भारतीय युवतीको भूमिकामा देखापरेकी हुन् ।
चलचित्रको नाम ‘नेसनल हाइवे’ हो भने यसमा नायक भने उडिसाका सुपरस्टार हरि महापात्र रहेका छन् । चलचित्रलाई निर्देशक पापास सर घटियाले निर्देशन गरेका हुन् । सौजन्यले पारिश्रमिक पनि निकै राम्रो पाएकी छिन् यो चलचित्रबाट । ‘पारिश्रमिकभन्दा पनि विदेशी भाषाको चलचित्रमा फड्को मारियो । यो नै यतिबेला मेरा लागि सुखद् कुरा हो । यहाँको सिनेमा बजारमा पनि ठूलो रहेछ । पारिश्रमिक बढी नहुने त कुरै भएन,’ उनी भन्छिन् ।
प्रतिक्रिया