—माधव नेपाल, एमाले वरिष्ठ नेता
० नेपाली राजनीतिमा सुखद परिस्थिति निर्माण हुनै सकेन नि, किन होला ?
– माओवादी गैरजिम्मेवार भएकाले हाम्रो मुलुकको राजनीति सुखद बन्न नसकेको हो । उसलाई जिम्मेवार बनाउने प्रयत्न हामी गरिरहेका छौँ । विडम्बना के छ भने माओवादी अगाडि बढ्छ तर फेरि पछि हट्छ, सुस्त गतिले अगाडि बढ्छ फेरि उही ठाउँमा फर्कन्छ, अघि बढेजस्तो देखिए पनि कतिबेला पर्लक्क पछाडि फर्कन्छ टुङ्गै हुँदैन ।
० किन यस्तो अस्थिर बनेको होला त माओवादी, के लाग्छ तपाईंलाई ?
– माओवादीका दिमागमा एउटा कुरा छ, त्यो के भने– ‘जसरी पनि सत्ता कब्जा गर्नुपर्छ उ’ माओवादीका लागि सत्ता, शक्ति र पैसा नै सबैथोक हो । ध्वंश–विध्वंश, जबर्जस्ती चन्दा सङ्कलन, अपराध आदि उसको दैनन्दिनी बनेको छ । यस्तो छ माओवादीको नयाँ नेपाल बनाउने तौरतरिका । दुनियाँलाई ढाँटढुँट गरेर पन्छाउन सकिन्छ भन्ने गलत सोच माओवादीको दिमागमा भरिएको छ । यसैले उसलाई चञ्चल बनाएको छ । यसबाट एमाओवादीलाई तत्कालका लागि लाभ त भएको होला तर उसको प्रतिष्ठा ठूलो मात्रामा गुमिरहेको छ । यति हुँदा पनि उसलाई यथार्थ बोध भने भइरहेको छैन, अचम्मलाग्दो कुराचाहिँ यही छ ।
० उसलाई यसो गर्न छुट दिएर गल्ती त तपाईंहरूले नै गर्नुभएको हो नि, होइन र ?
– मैले त आफ्नो समयमा माओवादीलाई अङ्कुश नै लगाएको हो । तह लगाउन खोजेकै हुँ मैले । लडाकुको नाममा पैसा कुम्ल्याउन नदिनका लागि लडाकुले पाउने रकम व्यक्ति–व्यक्तिको हातमा दिलाउने कोसिस पनि मैले गरेकै हुँ । तर, जालझेल गर्न खोज्नेले हजार चाल चल्दारहेछन् ।
० तपाईंले सरक्क प्रधानमन्त्रीको कुर्सी छोडिदिएर पनि यस्तो अवस्था निम्तिएको हो कि ? त्यस हिसाबमा त दोषी तपाईं पनि होइन र ?
– एक हिसाबले माओवादीका लागि प्रधानमन्त्री बन्ने अवसरको ढोका खोलिदिएर मैले गल्ती नै गरेको दोष लगाउन पनि मिल्ला, तर त्यसलाई राजनीति सप्रिएर जान्छ कि भनी मैले गरेको त्यागका रूपमा पनि त हेर्न सकिन्छ नि । आ–आफ्नो नजरियाको कुरा हो । कुर्सीको उद्देश्य भनेको नेपाल राष्ट्रको रूपान्तरणका लागि केही गर्नका लागि हो, पदको जिम्मेवारी लिनुको अर्थ मैले बुझेको त देशलाई सकारात्मक दिशामा अगाडि बढाएर लैजानका लागि हो । विभिन्न अवरोधहरू तेस्र्याइएपछि, मेरो आफ्नै दलको संसदीय बोर्डतिरबाट समेत असहयोग महसुस गरेपछि पदमा टाक्सिएर रहनुको कुनै अर्थ नरहने बुझेर मैले छोडिदिएको हुँ । मैले पूर्ण सहयोग पाएको भए अहिलेसम्म मुलुकको स्थिति धेरै राम्रो भइसकेको हुने थियो ।
० पहिलेको कुरा छोडेर अहिलेको कुरा गरौँ, तपाईंहरूले आवश्यक ठानेको ‘सहमतिको सरकार’को प्रधानमन्त्रीका लागि यत्रो विवाद किन चलिरहेको होला ?
– अहिलेका लागि प्रधानमन्त्री पदलाई त्यस्तो ठूलो विवादको विषय बनाउनु हुँदैन भन्ने मलाई लाग्छ । अहिले त चुनाव सम्पन्न गर्ने मूल कार्यका लागि सरकार गठन गर्ने हो । यस्तो अवस्थामा दाबी ज–जसले गरे पनि नेपाली काङ्ग्रेसलाई दिने सहमति हिजो भएकोले त्यसैअनुसार हुन्छ र हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । तर, माओवादीकै तर्फबाट समस्या उत्पन्न हुन्छ जस्तो कताकता लागिरहेको छ मलाई त । एमाओवादीले धेरै समयसम्म यस्तै अनेक बखेडा र विवाद खडा गरी लम्ब्याएर लैजान्छ कि भन्ने लाग्छ मलाई । तर, मेरो अनुभूति गलत भइदेओस्, एमाओवादी सप्रिएको अवस्थामा देख्न पाइयोस् ।
० भनेपछि एमाओवादीले सत्ता छोड्दैन अब ?
– त्यस्तो लाग्छ, तर भन्न सकिँदैन कहिलेकाहीँ र राणनीतिअन्तर्गत नै सत्ता छोडर देखाइटोपल्न पनि सक्छ । अनेक नौटङ्की गर्न जानेको छ एमाओवादी नेतृत्वले, त्यसैले यस्तै होला भनी किटेर भन्न सकिने अवस्था पनि छैन ।
० प्रचण्ड आफैं फेरि प्रधानमन्त्री बन्न इच्छुक हुनुहुन्छ, भित्रभित्रै त्यसका लागि कसरत गरिरहनुभएको छ भन्ने चर्चा पनि सुनिन्छ, तपाईंलाई त्यस्तो लाग्छ ?
– प्रचण्डजीले इच्छा नै गर्नुभएको छैन होला अथवा चाहना राख्नै मिल्दैन भनेर त मैले कसरी भन्नु ? तर, मैले उहाँसँग भन्दै आएको छु कि हामी पूर्वप्रधानमन्त्रीहरूले अहिलेको अवस्थामा प्रधानमन्त्रीको चाहना नगरौँ । प्रचण्ड, झलनाथ, माधव नेपाल, हामी कोही पनि प्रधानमन्त्री बन्ने कसरत नगरौँ, अरूकै लागि सहमति जुटाउन लागिपरौँ ।
० राजनीति गर्नेहरू प्रधानमन्त्री पद हत्याउन कति मरिहत्ते गर्छन्, तपाईं भने यस्तो कुरा गर्नुहुन्छ, किन ?
– जसरी पनि आफ्नो मात्र हित गरौँ, देश भड्खालोमा गए जाओस् भन्ने सोच राख्नेहरूले मात्रै हो यस्तो जटिल परिस्थितिमा पनि आफैं जसरी पनि प्रधानमन्त्री बनूँ भनेर मरिहत्ते गर्ने उ
० काङ्ग्रेसको नेतृत्वमा सरकार बन्न नसक्ने देखेर मात्र तपाईंले काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने कुरा गर्नुभएको पनि भन्छन् नि, हो ?
– काङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउँछौँ भनी दाबा गरिरहेको छ, पालोको कुरा गर्ने हो भने पनि उसैको हो । वैशाख ५ गते भएको पाँचबुँदे सहमतिमा पनि यो उल्लेख भएकै हो । यी सब कुरामाथि विचार गरेर नै हामीले उसको नेतृत्वमा सरकार बन्न सघाउने कुरा गरिरहेका हौँ । अब नेपाली काङ्ग्रेस आफैँ विवादमा परेर अगाडि बढ्न सकेन भने त विचार गर्नैपर्ने हुन्छ ।
० यतिखेरको राजनीतिको चुरो के हो ? वास्तविकता के हो, बुझाइदिनुहोस् न ?
– पहिलो कुरो त सरकारको नेतृत्व कसले लिने भन्ने टुङ्गो लगाउनु नै यतिखेरको प्रमुख राजनीतिक सवाल बनेको छ । जसले नेतृत्वको जिम्मेवारी लिन्छ उसले आगामी वैशाखसम्ममा निर्वाचन गरेर देखाउनैपर्छ, उसको नालायकीका कारण यदि चुनाव हुन सक्दैन भने उसले तत्काल कुर्सी छोड्नुपर्छ र अर्को पार्टीको नयाँ व्यक्तिको नेतृत्वमा सरकार बनाउनुपर्छ । यससम्बन्धी सहमति अहिले नै भएमा कतै बाबुराम भट्टराईले जस्तै जबर्जस्ती घिस्रिएर कुर्ची नछोड्ने पो हो कि भन्ने आशङ्का रहँदैन । दोस्रो कुराचाहिँ संविधानको विषय पनि अहिलेको राजनीतिक चुरो हो । पहिले नै संविधानका विषयहरू टुङ्ग्याइनुपर्छ भनी एमाओवादीले भनिरहेकै हो भने यो उसको बखेडाबाजी र निहुँ खोज्ने कुरा मात्रै हो ।
० प्रचण्डजीले त माधवकुमारजीकै कारण संविधानको कुरा नमिलेको हो भनेर पनि बोल्नुभएको छ नि ठाउँठाउँमा ?
– प्रचण्डजीको कुरा के गर्नु ? उहाँको बोलीको पनि कुनै ठेगान छ र ? ‘जेठ २ गते भएको ११बुँदे सहमतिको बारेमा मैले आफ्नो पार्टीलाई मनाउन सकिनँ, मधेसी दलहरूलाई पनि मनाउन सकिएन, यसैले गर्दा संविधान बनाउन सकिएन’ भनेर खुद प्रचण्डजीले हामीहरूसँग भन्नुभएको थियो । पटक–पटक कुरा फेर्ने मामलामा प्रचण्डजी उस्ताद नै हुनुहुन्छ, अनि के भन्ने ?
० यतिबेला आएर दोस्रोपटक संविधानसभाको निर्वाचनको कुरा जो गरिन थालिएको छ, यो कति औचित्यपूर्ण या सामयिक छ ?
– पटक–पटक संविधानसभाको चुनाव गर्दै जाने कुरा उपयुक्त होइन । तर, अलिकता नमिलेको कुराको निम्ति अलिकता कोसिस गरौँ न त भन्ने मात्रै हो । तर, अलिकता कोसिस गर्ने नाममा वर्षौं लगाउन त अब किमार्थ पाइन्न । मेरो व्यक्तिगत सोचको कुरा गर्नुहुन्छ भने त तीन महिनाभन्दा बढ्ता समय नै अब दिनुहुँदैन । धेरैको आग्रह छ भने ६ महिनासम्म गर्न सकिएला । फेरि पनि संविधानसभाको म्याद चार–पाँच वर्ष बनाउनुपर्छ भन्नेहरू कोही छन् भने नेपाललाई डुबाउन खोज्नेहरू तिनै हुन् भनी बुझ्नुपर्ने हुन्छ । मेरो व्यक्तिगत राय सुन्नुहुन्छ भने अबको चुनाव भनेको संविधानसभा र संसद् दुवैका लागि हुनुपर्छ र बढीमा ६ महिना मात्र संविधानसभाको रूपमा काम गरेर बाँकी अवधि संसद्को रूपमा क्रियाशील रहनुपर्छ । तर, यस विषयमा अरू सबै दलसँग परामर्श गरिनुपर्छ । आमसहमति नभई त अघि बढ्नै सकिन्न अब ।
० फेरि ६ महिनामा पनि संविधान नआएचाहिँ के गर्नुपर्ला नि ?
– त्यो अवस्थामा त जनमतसङ्ग्रहमा जानुपर्छ ।
० अब संविधानसभा सदस्यको सङ्ख्या कति बनाउनु उचित ठान्नुहुन्छ तपाईं ?
– एकजना मधेसी नेताले त फेरि पनि ६०१ नै बनाउनुपर्ने कुरा गरेको पनि सुनियो, तर त्यो सङ्ख्या भनेको बद्नाम भइसकेको सङ्ख्या हो । अब त्यस्तो भारी सङ्ख्या त राख्नै हुँदैन । मेरो विचारमा त एक सय ७१ – एक सय ४० को सङ्ख्या उचित हुन सक्छ ।
० एउटा फरक प्रसङ्ग, तपाईंहरू सरकार नालायक भयो भनिरहनुभएको छ, तर शान्तिप्रक्रिया त बाबुराम भट्टराईकै नेतृत्वमा सम्पन्न भयो नि, होइन ?
– केको बाबुराम भट्टराईजीले शान्तिप्रक्रिया सम्पन्न गर्नु ? सेना समायोजनको कुरा गरेको होला, त्यो बाबुरामजीको बुताले भएको होइन । परिस्थितिजन्य बाध्यताका कारण प्रचण्डजीको निर्णयबाट यो काम भएको हो । रक्तपात निम्तिने अवस्था आयो भनेर प्रचण्डको पनि सातो गयो र रातारात नेपाली सेनाको जिम्मा लगाइएको हो । यसमा बाबुराम भट्टराईको कुनै भूमिका छैन, उहाँको औकात नै थिएन ।
० बाबुराम भट्टराई व्यक्तिगत रूपमा कस्ता मानिस हुन् भन्ने लाग्छ तपाईंलाई ?
– मलाई त लाग्थ्यो पढे–लेखेका व्यक्ति भनी कहलिएका, पैसा–सैसातिर पनि मोह नराख्ने, भिजन भएका व्यक्ति होलान्, देशका लागि केही गर्लान् उ तर, केही भिजन–सिजन नभएका बेकारका व्यक्ति पो रहेछन् भट्टराईजी त । दोहोरो चरित्रका व्यक्ति हुनुहुँदोरहेछ उहाँ ।
– ऋषि धमला
प्रतिक्रिया