२०३२ सालतिरको कुरा हो, हामीहरू भर्खर कलेज पढ्थ्यौँ । महिलाका लागि काठमाडौंमा मुख्यरूपमा पद्मकन्या कलेज थियो भने पुरुष पढ्ने अन्य धेरै कलेज थिए । तर, ती कलेजमा थोरै सङ्ख्यामा मात्र महिला हुन्थे । पुरुष पढ्ने कलेजमा महिला छुट्टै बेन्चमा बस्तथे । युवतीको विशाल जत्था त पद्मकन्या कलेजमा नै पढ्थ्यो । उपत्यका तथा देशबाहिरका चेलीहरूका लागि पद्मकन्या कलेजमा पढ्नु एउटा गौरवकै विषय थियो । त्यति वेला देशमा उच्च तहमा पुग्ने महिला पनि प्राय: यसै कलेजका उत्पादन हुने गर्दथे । नेपालमा पद्मकन्या कलेजको आफ्नै गरिमा र शान थियो ।
बिहानदेखि बेलुकीसम्म सञ्चालन हुने पद्मकन्या कलेजको गेटबाट तिनताका माहुरीका घारबाट हजारौँ माहुरी एकैपल्ट निस्किएझैं अटाइनअटाई गर्दै गेरु रंगको साडीमा चेलीहरू कलेजको ढोकाबाट जब बाहिर निस्किएर बागबजार, डिल्लीबजार, पुतलीसडक हुँदै काठमाडौंमा छरिन्थे उनीहरू हिँड्ने बाटो नै उज्यालो भएझँै लाग्दथ्यो । गेरु रंगको एउटै पहिरनमा उनीहरू निक्कै आकर्षक लाग्दथे । वास्तवमै पद्मकन्या कलेजका छात्राले त्यतिबेलाको काठमाडौं सहरलाई नै आकर्षक बनाउँथ्यो । तिनका अगाडि अन्य फेसनमा फुटपाथमा हिँड्ने अरू चेलीहरू निकै फिक्का देखिन्थे । पद्मकन्या कलेजका सयौँ छात्रा एकैपल्ट निस्कँदा सूर्योदयको प्रकाश क्रमश: बाहिर छरिएझैँ भान हुन्थ्यो । त्यतिबेला पद्मकन्या कलेजबाट निस्किएका छात्राले नेपालका हरेक क्षेत्रमा योगदान दिए । राजनीतिमा होस् वा प्रशासनमा, सुरक्षा इकाइमा होस् शैक्षिक संस्थामा, व्यवसायमा होस् वा उद्योगमा, सामाजिक सेवामा होस् या गृहणीका रूपमा पद्मकन्या कलेजबाट निस्किएका छात्रा हरेक स्थानमा सफल नै हुन्थे किनकि त्यहाँ केवल शिक्षा मात्र होइन नेपाली संस्कारका नारीहरू पनि उत्पादन गरिन्थ्यो । त्यो कलेजमा पढ्ने कोही धनी वा गरिब जे भए पनि बाहिरी आँखाले तिनको हैसियत छुट्याउन सकिँदैनथ्यो किनकि सबै एउटै पोसाकमा हुन्थे ।
त्यतिबेला पद्मकन्या कलेज जोडी मिलाउने र केटाकेटी हेर्ने थलो पनि थियो । त्यतिबेलाका अधिकांश प्रशासक, सुरक्षा निकाय वा उद्योग व्यवसायीको विवाह पद्मकन्या कलेज पढ्ने छात्राहरूसँगै हुन्थ्यो । राजपरिवारले विवाह गर्ने चेलीहरू पनि प्राय: त्यहीँ पढेका हुन्थे । त्यसैले घरघरमा विवाहका कुरा लिएर आउने लमीहरूले ल्याएका केटीहरूको फोटो पनि प्राय: पद्मकन्या कलेजकै धोतीमा देखिन्थ्यो । त्यो धोतीमा खिचिएको तस्बिरको आफ्नै महत्व हुन्थ्यो ।
लभ गर्न खोज्ने युवाहरू पनि त्यतै दौडिन्थे र रत्नपार्कतिर बसेर चेलीहरूलाई प्रभाव पार्न खोज्दथे । तर, पद्मकन्या कलेजका चेलीहरूले भने उत्ताउलो व्यवहार गरेको ठ्याम्मै देखिँदैनथ्यो । उनीहरू जहिले पनि समूहमा हिँड्थे । सबैको आ–आफ्नै समूह हुन्थ्यो । त्यही समूहसँग मात्र उनीहरू फुटपाथमा कुरा गरी अघि बढिरहेका देखिन्थे । रत्नपार्कबाट थुप्रैले साझा बस चढेको देखिन्थ्यो ।
त्यतिबेला लभ गर्नेहरूका पनि आफ्नै पारा थियो । हामीहरू राति बीए पढ्थ्यौँ । त्रिचन्द्र कलेजमा दिउँसो काम गर्नेहरूका लागि रात्रि कलेज थियो । मेरो कक्षामा मिल्ने हामी केही साथी थियौँ । त्यसमध्ये एक साथीले पद्मकन्या कलेजकी एक चेली मन पराउँथे । केटीले मन नपराए पनि तीचाहिँ मेरी हो है भनेर साथीसाथीमा एकतर्फी रूपमा हक जताउने चलन पनि थियो । मेरो साथीले मन पराउने केटी दिउँसोको करिब साढे तीनदेखि चार बजेको बीचमा रत्नपार्क आइपुग्थिन् । हामी दुई साथीहरू छुट्टाछुट्टै अफिसमा काम गर्ने हुँदा दिउँसो हाम्रो भेट हुँदैनथ्यो । केवल साँझमा पाँच बजेपछि कलेजमा भेट हुन्थ्यो । तर, उनले मलाई अफिसबाटै डेढ घन्टाअगाडि भाग्न बाध्य बनाउने किनकि उनले मन पराएकी केटीलाई रत्नपार्कको फुटपाथको रेलिङमा बसेर एक्लै हेर्ने उनको हिम्मत थिएन । त्यसैले उनको आँटका लागि म पनि त्यहाँ हुनु जरुरी हुन्थ्यो । हामीहरू दुवैजना रत्नपार्कको रेलिङमा बसेर ती केटीका समूहलाई कुथ्र्यौं । हुलका हुल छात्राहरू फर्कंदा अरूलाई देखेरै पनि हामी अब उनको पनि आउने बेला भयो भनेर अनुमान गथ्र्यौं किनकि एउटै कक्षाका छात्रा एकैपल्ट छुटेर आउँथे । बागबजारबाट रत्नपार्कको चोकमा अब उनको पनि आउने बेला भयो भनेर हामी अनुमान गथ्र्यौं । बागबजारबाट रानीपोखरीतर्फ लाग्नेबित्तिकै टाढैबाट हामी उनलाई देख्थ्यौँ । अनि म भन्थेँ ‘ल ल सी इज कमिङ ।’ मैले यति भनेपछि ती साथीको छटपटी सुरु हुन्थ्यो । यताउता हिँड्न थाल्दथे र केटी नजिकै आइपुग्ने बेलामा फुत्त नजिकको मिठाई पसलतिर लुक्न छिर्थे । भित्र छिरेपछि मिठाईको सोकेसबाट बाहिर चियाउन थाल्दथे । म एक्लै पर्दथँे । मलाई पनि रेलिङमा बसिरहन अप्ठ्यारो हुन्थ्यो किनकि मेरो साथीको साथ दिँदा मलाई पनि त्यो समूहले चिनिसकेको थियो । म त्यहाँ रेलिङमा भएपछि मेरो साथी पनि त्यही हुनुपर्छ भनेर उनीहरूले पनि सायद अनुमान गर्दथे । ती तीनजना चेलीको समूह नजिक–नजिक आउँदा सबै मुसुमुसु हाँस्दथे । साथीले मन पराएकी चेली नजानिँदो रूपले आँखा घुमाई यताउता मेरो साथीलाई खाज्ने गर्दथिन्, मचाहिँ नर्भस भएर रेलिङमा बसी खुव दुवै खुट्टा हल्लाउँथेँ । नजिकैबाट ती चेलीका समूह मलाई नाघेर दरबार हाइस्कुलतर्फ जान्थ्यो । तर, उनीहरूले फर्केर हामीलाई कहिल्यै हेर्दैनथे । मेरो साथी ती छात्राहरू हामीबाट अलि पर पुगेपछि मिठाई पसलबाट रातोपिरो भएर निस्कन्थे अनि हामी दुवै दौडिएर कलेजतिर जान्थ्यौँ । तर, धेरैजसो हाम्रो पहिलो पिरियड यो चक्करमा छुट्ने गर्दथ्यो । एकपटक मैले एउटा साथीका लागि उनले लेखेको प्रेमपत्र पनि एउटी छात्रालाई दिएँ । तर, सुरुमा त उनलाई त्यो पे्रमपत्र मैले नै दिएँछु कि क्या हो भन्ने परेछ । जे होस् त्यतिबेलाको पद्मकन्या कलेज सुन्दर युवतीहरू देख्न पाउने थलो पनि थियो । त्यहाँ हेर्दाहेर्दै छात्राहरू सिन्दुर–पोते लगाएर आउँथे र कति हराउँथे । मेरो साथीले मन पराएकी चेली पनि कता हराइन् कता । म पनि थुप्रैलाई हेर्न भ्याउँथेँ । जे होस्, त्यतिबेला पद्मकन्या कलेजले काठमाडौंका धेरै युवायुवतीलाई आजीवन जीवनसाथीको डोरोमा बाँध्ने मौका प्रदान गर्दथ्यो र त्यो कलेजमा पढ्नेहरूसँग गरिएका वैवाहिक जीवन प्राय: सफल नै भएको देखिन्थ्यो ।
०३६ र ०४८ सालको आन्दोलनमा यो कलेजको ठूलो भूमिका रह्यो । प्रजातन्त्र ल्याउन त्यस कलेजका छात्राले पुलिसका अगाडि निडरतापूर्वक सामना गरेको पनि मैले देखँे । त्यहाँका छात्राले त्यो आन्दोलनलाई सफल पार्न समग्र नेपाली महिलाकै प्रतिनिधित्व गरेका थिए । त्यसै समयबाट त्यो कलेजले नेपाली राजनीतिमा नयाँनयाँ महिला नेतृहरू पनि जन्मायो ।
म पुलिसमा डीएसपी हुँदा नेपालका चेलिबेटी बेचबिखन रोक्न एउटा विशाल योजना बनाएँ । त्यस योजनाअन्तर्गत चेलिबेटी बेचबिखन हुने नुवाकोट, सिन्धुपाल्चोकलगायत नेपालका थुप्रै पहाडी भेगका घरघरमा पुगी जनचेतना जगाउनुपर्ने थियो । यसरी जनचेतना जगाउने समूहमा पत्रकार, वकिल, स्वास्थ्यकर्मी पनि लाने योजना थियो र मुख्य रूपले महिला छात्राको त्यो कार्यक्रममा भूमिका हुन्थ्यो । छात्रा भन्नेबित्तिकै पद्मकन्या कलेजभन्दा अरू मानसपटलमा आउने कुरै थिएन । म यस अभियानमा साथ दिन प्रस्तावसहित पद्मकन्या कलेज पुगी ठूलो समूहका छात्रालाई चेलिबेटी बेचबिखन समस्याबारे बुझाएँ । मेरो प्रवचनपछि सयौँ हात प्रहरीलाई साथ दिन तयार भए । यद्यपि त्यतिबेला घर छोडेर पहाडपहाडमा पालमा बस्दै जनचेतना जगाउने काममा छात्रालाई जान र लैजान सजिलो पनि थिएन साथै परिवारबाट स्वीकृति पाउन पनि गाह्रै थियो । तर, त्यहाँ त्यसबेला काम गर्ने निरन्जन सर, माधव सर, सन्ध्या म्याडम, गुड्डी म्याडमजस्ता शिक्षकको सकारात्मक सहयोगले त्यो महान् कार्य सफल भयो र यो मुलुकमा चेलिबेटी बेचबिखनको समस्यालाई रोक्न त्यो कलेजले ०५१ सालदेखि ०५३ सालसम्म ऐतिहासिक योगदान दियो ।
धेरै समयपछि करिब दुई वर्षअघि ड्रग्ससम्बन्धी सचेतना कक्षा दिन फेरि मैले त्यस कलेजमा जाने मौका पाएँ । तर, यो कलेजका छात्राले लगभग त्यहाँको ऐतिहासिक युनिफर्म लगाउनै छोडिसकेका रहेछन् । मेरा लागि त्यहाँका छात्रा आफूखुसी पोसाकमा कार्यालय छिर्ने, सैनिक र प्रहरीजस्तै लाग्यो । जसको पहिचान नै थिएन । त्यो कलेजमा यसपटक म पुग्दा एउटै रंगको ऐतिहासिक पहिरनमा पहिलापहिला देखिनेझँै गरिमामय लागेन । बाटामा हिँडिरहेका मानिसका भीडजस्तो मात्र लाग्दथ्यो । कसैकसैले पोसाक पहिरिए पनि धेरैले नपहिरिएको कारण त्यसले शोभा दिन सकेको थिएन । त्यहाँ भर्ना आदिमा राजनीतीकरण हुन थालेको दु:खद् कुरा सुनँे । सरकारले प्रशासनमा पनि हस्तक्षेप गर्न थालेको चर्चा पनि चलेको पाएँ । त्यस दिन मैले आफूले भन्नुपर्ने कुरा भनेर म त्यहाँबाट फर्किएँ तर पनि मैले पहिलापहिला देखेको महान् इतिहास र गरिमा बोकेको कलेजमा छिरेर निस्किएझँै मलाई भएन । कक्षामा पनि छात्रालाई ऐतिहासिक पोसाक छोड्न नहुने सल्लाह दिएँ । बाहिर निस्केर बागबजार फुटपाथहरूमा हेर्दा पनि त्यस कलेज यतै नजिकै छ है भन्ने चिनारी दिने पोसाक देखिनँ ।
मलाई त्यस दिन नरमाइलो लाग्यो र विगतको त्यो महान् कलेज र त्यहाँका ओजस्वी छात्राहरूको समूह एकछिन याद गरेँ । किनकिन मलाई लाग्यो त्यो पद्मकन्या कलेज यस्तो त थिएन ।
प्रतिक्रिया