नेपाली जनता हामी गरिब हौँला तर मन गरिब छैन । आजको महँगीले हामी सबैको ढाड भाँचेको छ । तर पनि हामीले खासै सिकायत गरेका छैनौँ । नेपाली जनताजस्तो महान् यो धर्तीमा कुनै जनता छैनन् । सोझा नेपाली जनताको सहनशीलताको पनि सीमा छैन । उनीहरू एकछाक खाएर पनि खुसी छन्, दङ्ग छन् नेपाली राजनीतिले हावा खाइसकेर पनि नेपाली जनता दु:खी देखिँदैनन् । यो अभाव, यो महँगी, यो असुरक्षा, यो अराजकता व्याप्त हुँदा पनि नेपाली जनता शान्तसँग बसेका छन् । जातपातको राजनीति चरम चुलीमा पुग्दा पनि नेपाली जनता मौन छन्, शान्त छन् बेथिति र बेरोजगारी चरमचुलीमा पुग्दा पनि हामी बरु विदेशिन तयार छौँ तर अरू कुनै कुराको मतलब राखेका छैनौँ ।
नेपालमा राजनीतिक पार्टीले हामी जनतालाई बेवकुफ बनाए, उल्लू बनाए । यी सबै थाहा पाएर पनि हामी चुपचाप छौँ । जबसम्म राजनीति सुधिँरदैन तबसम्म नेपाली समाजमा कुनै पनि कुरा सुध्रेला भन्ने आशा रहँदैन । बिग्रिएको त्यही राजनीतिले हामीलाई मात्र दु:ख दिइरहेको छ । हामी चाहन्छौँ– यो मुलुकमा विकास होस्, रोजगारीको सम्भावना होस्, शान्ति होस् तर यी सब ‘आकाशको फल आँखा तरी मर’ जस्तो भएको छ । नेपाली जनताको भोलाभालापन अर्थात् साधापनको फाइदा नेताहरूले आजपर्यन्त उठाइरहेका छन् । यी नेताहरूले जे भन्यो त्यो पत्याउनुपर्ने विवशतामा हामी छौँ । तर, समय सधैँ एकनास हुँदैन । हिजो हामीले महान् ठानेका नेताहरू आज आएर पङ्गु सावित भएका छन् । हिजो हामीले लगाएको फूलको माला आज जुत्तामा परिणत भएको छ । यो सबैको कारण भनेको नेताहरूमा रहेको अदूरदर्शिता हो । त्यही अदूरदर्शिताकै कारण अहिले नेपाली जनतालाई दिग्भ्रमित तुल्याएको छ । डर र हार भनेको कुन चराको नाम हो हामीलाई थाहा छैन । सत्य छाडेर असत्य राजनीति गरिरहेकाहरूलाई हाम्रो बिन्ती छ कि अझै पनि नेपाली जनतालाई उल्लू बनाउने कामकारबाही बन्द होस्, जनतालाई मूर्ख बनाउने कार्यदिशा पनि बन्द होस् ।
जंगबहादुरलाई सम्झँदा व्यङ्ग्य ठान्नेहरूले के बुझुन् भने उनी दूरदर्शी र राष्ट्रवादी थिए । हाम्रो गुमिसकेको भूभाग पनि उनले फिर्ता ल्याए । चाहेको भए उनी आफैँ श्री ५ बन्न सक्थे, तर उनले इतिहास सम्झे र श्री ३ नै काफी भएको ठाने । इतिहासको एउटा क्रूर खेलाडी जंगबहादुरमा त राष्ट्रवादिता थियो भने आज हामी गणतन्त्रवादी भएर के पायौँ ? विचारणीय विषय छ । नेपाली जनताको कायापलट गर्ने नाममा नेपाली जनतालाई नै पेल्ने कार्य भइरहेको सर्वविदितै छ । त्यसकारण अब हामीले गणतन्त्रको विरुद्धमा जाग्नुपर्छ । यो गणतन्त्र कुनै पनि हालतमा नेपाल र नेपाली जनताको पक्षमा छैन । यसले बैरीहरूको सेवाबाहेक अरू केही गर्दैन । गणतन्त्रले नेपाली जनताको भलाइ गथ्र्यो भने आज धेरैथोक हामीले प्राप्त गरिसक्थ्यौँ । केही पनि प्राप्त नहुनु र खालि गुमाउने मात्र भएकाले यस्तो गणतन्त्र हामीलाई चाहिएन । त्यसकारण ‘गणतन्त्र मूर्दावाद’ भने पनि फरक नपर्ला †
गणतान्त्रिक सरकारहरूले नेपाली जनताको आवश्यकता र चाहनालाई बुझ्न सकेनन् । सिंहदरबारमा फोटो टाँग्नेबाहेक अरू केही गर्न चाहेनन््, सकेनन् । त्यसैले अब राजसंस्थाको पुनर्वहालीबाहेक अर्को कुनै उत्पन्न छैन । अब हामी नेपाली जनता एकजुट भएर गणतन्त्रलाई बिदाइ गर्दै राजतन्त्रको पुनर्वहाली अर्थात् पुनस्र्थापना गर्नु अपरिहार्य भइसकेको छ । कमसेकम राजसंस्था कायम रहे देश बेचिँदैन भन्ने ग्यारेन्टी हुनेछ । जनता मालिक हुनुपर्ने गणतन्त्रमा आजपर्यन्त हामी नेताका रैती वा दास बनिरहेका छौँ । अब पनि यी नेताहरूलाई हामीले अगुवा ठानिरह्यौँ भने त्यो हाम्रो गम्भीर भूल हुनेछ । यिनीहरू राजाकै छत्रछायामा मात्र काम गर्न सक्षम छन् । आफैँ राष्ट्रको नेतृत्व गर्न यी नेताहरू पूरापूर असक्षम सावित भइसकेका छन् । त्यसैले अब फेरि हामीले यो देशमा नारा घन्काउनुपरेको छ । त्यो नारा हो, ‘गणतन्त्रले के दियो ? महँगी, अभाव, असुरक्षा †’ यो नारासँगै मात्र राजसंस्था पुनस्र्थापना हुनुपर्ने जनभावनाको कदर गरियोस् भन्ने माग पनि जिम्मेवार निकायसमक्ष आमनेपालीका तर्फबाट पङ्क्तिकार राख्न चाहन्छ ।
प्रतिक्रिया