अहिले नेपालमा केमा छैन राजनीति ? हरेक वर्ग, क्षेत्र, तह र तप्काका व्यक्तिहरूमाझ राजनीति भइरहेको अवस्थामा यसै देशका कलाकारहरू पनि राजनीतिबाट टाढा हुन सकेनन् । उनीहरूलाई पनि यतिबेला चुनावी राजनीतिले छोपेको छ ।
नेपाली सिनेमाका कलाकारहरूको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको यतिबेला नेतृत्व फेरिन लागेको छ । यही नेतृत्व आफ्नो पोल्टामा वा आफ्नो समूहमा पनि कलाकर्मीबीच निकै घम्साघम्सी सुरु भएको छ । असोज २७ गते हुने चुनावमा विभिन्न पदहरूमा उठेर कलाकार सङ्घको सत्ता आफ्नो हातमा पार्न कलाकर्मीहरू कम्मर कसेर लागेका छन् । यो भीडमा यतिबेला कलाकार एवम् निर्माता नवल खड्का र कलाकार गिरिधारी सविन बास्तोलाले भने अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसैगरी कलाकार रामकेशर बोगटी र डा. घनश्याम खतिवडाबीच महासचिव पदमा प्रतिस्पर्धा हुने देखिन्छ । नवलले एकल रूपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए भने सविनले चेतबहादुर सिंहलाई उपाध्यक्षमा उठाएर एकैपटक उम्मेदवारी घोषणा गरेका हुन् ।
कलाकार सङ्घको चुनाव त पहिले पनि हुन्थ्यो तर यसपटक सङ्घभित्रै खुबै राजनीति चलेको कुरा उनीहरू स्वयम् बताउँछन् । वर्षौंसम्म हराउने तर चुनाव हुने समयमा जुर्मुराउने कलाकाहरूको भीडमा पनि यतिबेला रामै्र देखिएको छ कलाकार सङ्घभित्र । सानो मुलुक अनि त्यो मुलुकभित्र जेनतेन सङ्घर्ष गरेर बाँचिरहेका कलाकारहरूबीच यसरी तँछाडमछाडको परिस्थिति नै सिर्जना हुने गरी चुनावकै अवस्था आउनुले भने बजारमा त्यति सकारात्मक सन्देश नजाने आँकलन पनि गर्न थालिएको छ । यो गुट र ऊ गुटभन्दा पनि सहमतिकै आधारमा चुनावमा जाने वातावरण बनाउनुपूर्व नेतृत्वकर्तालाई हाम्रो पनि सुझाव ।
कस्तो होला सालीभेनाको रोमान्स ?
नायक दिलीप रायमाझी एक होनहार र प्रतिभाशाली अभिनेता हुन् । उनको व्यक्तिगत कुरालाई छाड्ने हो भने सिनेमाको पर्दामा दिलीपले धेरै अभिनेत्रीसँग रोमान्स गरेको भूमिकामा अभिनय गरिसकेका छन् । नृन्य, कडेमी, द्वन्द्व वा सिरियस हरेक भूमिकामा जम्न सफल दिलीपकी अर्धाङ्गिनी पनि आफैंमा राम्रो नृत्य गर्ने कलाकारमा पर्छिन् तर दिलीपले आफ्नी धर्मपत्नीलाई पर्दामा ल्याएका छैनन् । आफ्नी धर्मपत्नीलाई पर्दामा नल्याए तापनि धर्मपत्नीकी बहिनी अर्थात् दिलीपकी साली भने विस्तारै सिनेमाको पर्दातिर आउन थालेकी छिन् । उनी हुन् अनिता दाहाल । स्टार हिरोकी साली अनितालाई भिनाजुबाट कत्तिको साथ र सहयोग मिलेको छ त्यो थाहा भएन तथापि दिलीपकी साली भनेर परिचय गराउन पाउँदा भने उनलाई नजानिँदो तरिकाले फाइदा पुगेकै छ जस्तो लाग्छ हामीलाई ।
सायद, प्लान र कसलाई आफ्नो भनूँ गरेर तीन चलचित्रमा अनुहार देखाइसकेकी छिन् अनिताले । नृत्यमा पनि पारंगत अनिता र दिलीपलाई एउटै सिनेमामा जोडीको रूपमा उभ्याउन धेरै निर्माता÷निर्देशकहरूले प्रयास गरेका थिए र अहिले पनि प्रयासरत छन्, तर कुन्नी के कारण हो मिलिरहेको छैन भन्छन् उनीहरू ।
सालीभेनालाई एउटै चलचित्रमा जोडीको रूपमा देखाएर उनीहरूबीचको रोमान्सका दृश्यहरू खिच्ने योजना कहिले पूरा होला ? त्यो भन्न सकिने अवस्था छैन । तर पनि सालीभेनाबीचको पर्दामा रोमान्सका दृश्यहरू कस्तो होला भन्ने कुतूहल भने सबैमा रहेको पाइन्छ ।
अमेरिकामा राजेश र सरोजले कम्मर मर्काउने
‘अम्रिकामा सरोज खनाल
नेपालमा राजेश हमाल…
अमेरिकामा रहेका सरोज खनाल र नेपालमा रहेका नायक राजेश हमालप्रति इङ्गित चलचित्र ‘शक्ति’को गीत हो यो । यो गीतमा नायक हमाल पर्दामा निकै कस्सिएर नाचेका छन् । गीतमा सरोज खनालको पनि कुरा त छ तर गीतको छायाङ्कन नेपालमा भएका कारण हमाल मात्र नाच्न बाध्य भए यो गीतमा ।
सिनेमाको पर्दामा आफूमाथि लेखिएको गीतमा नाच्न नपाए पनि नायक सरोज खनालले यो गीतमा स्टेजमा नाच्ने भएका छन्– त्यो पनि अमेरिकामा । गीतमा तोकिएका अमेरिकामा रहेका सरोज खनाललाई साथ दिन नेपालबाट राजेश हमाल अमेरिका जाने भएका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका सरोजले नै कार्यक्रमको चाँजोपाँचो मिलाएका हुन् । दशैंको अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न भोलि बिहीबार नायक राजेश हमाल अमेरिका जाने भएका छन् भने केही हप्ताअगाडि नै नायिका करिश्मा मानन्धर अमेरिका पुगिसकेकी छिन् । यो कार्यक्रममा राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर मात्र होइनन् कि अमेरिकामा रहेका दुई अभिनेत्री गौरी मल्ल र सारंगा श्रेष्ठ पनि स्टेजमा उत्रने भएका छन् । नेपालका पूर्व र वर्तमान स्टारहरूको यो जमघटले यसपटकको दशैं अमेरिकामा रहेका नेपालीहरूका लागि अविष्मरणीय हुने दाबी गरिएको छ ।
प्रतिक्रिया