चियापसलका अन्तरङ्गी कुराकानी

चियापसलका अन्तरङ्गी कुराकानी


ठूलाबडा, हुनेखाने सम्भ्रान्त वर्ग वा नेताहरूको विचार–विमर्श, छलफल, वार्ता वा गफ त पाँचतारे होटल, रिसोर्ट वा यस्तै अन्य दरबारहरूमा हुने गर्छन् । तर, सर्वसाधारण नेपाली जनताको छलफल र गफ भने साधारण चियापसलहरूमा हुने गर्छन् । चियापसलमा हुने जनताका कुराकानीमा कसलाई राजा बनाउने वा राष्ट्रपति बनाउने वा कसरी नेताहरूलाई सखाप पार्ने भन्नेसम्मका चर्चा चल्ने गरेका छन् । वर्तमान स्थितिमा नेपाली जनताले भोगिरहनुपरेका पीडाका कारण नतमस्तक बन्न पुगेका जनता विशेषत: नेतागणसँग आगो देखिन्छन् । जिन्दगीभर सुखसयल दिन्छु भनी विवाह गरिएकी पे्रमिकालाई पछि घोर पश्चात्ताप भएजस्तै नेपाली जनता आजभोलि नेता भनाउँदाहरूसँग रुष्ट छन्, आगो भएका छन् । पे्रमिकालाई दयनीय स्थितिमा राखेर पे्रमीले एक्लै मोज गरिराख्दा जस्तो परिस्थिति सिर्जना हुन्छ ठीक त्यही खालको सम्बन्ध आज जनता र नेताबीच विद्यमान छ । त्यसकारण चियापसलमा सबै नेताको उछित्तो काडिन्छ, सबै नेता उस्तै हुन्, यी सबै चोर हुन्, फटाहा हुन्, धोकेवाज हुन् भन्ने गरिन्छ ।
सर्वसाधारण नेपाली जनताले यसरी नेता महोदयहरूको हुर्मत लिइरहँदा यतिबेला देशमा के भइरहेको छ भन्ने हेक्का सबैले राखेकै छन् । प्रधानमन्त्री डा. भट्टराईलाई पद त्याग अन्तिम म्याद आगामी मङ्सिर ७ भनेर जनताले तोकिसकेपछि यो दशैं–तिहारको सम्मुखमा घनघोर आन्दोलनको जरुरत काङ्गे्रस–एमालेलगायत विपक्षी दलहरूलाई किन परेको हो, बुझिनसक्नु भएको छ । यतिखेर त चुनावी राष्ट्रिय सरकारको सर्वसम्मत प्रधानमन्त्री रामचन्द्र पौडेललाई कसरी बनाउने भन्ने पो कसरत हुनुपर्ने हो । एउटा सर्वसम्मत प्रधानमन्त्रीको नामसम्म आजका दिनसम्म पहिल्याउन वा दिन नसक्नेहरूले कस्तो आन्दोलन गर्ने हुन्– जनता प्रतीक्षारत छन् । आन्दोलनबाट वाक्कदिक्क भइसकेका जनताले मुख्य चाडको मुखमा आन्दोलनमा साथ दिन्छन् भन्नु दिवासपना मात्र हो । हो, बाबुराम असफल बनाइएकै हुन् । यसमा दुईमत छैन । उनले काम गर्न सकेनन्, त्यो पनि जगजाहेर छ । तर, उनले पदमा सधैंभरि बसिरहन्छु त भनेका छैनन् नि । विपक्षीहरूलाई बाबुराम सरकार काउसो बनेकै हो भने अहिलेको अवस्था र जटिलतालाई मध्यनजर गर्दै राष्ट्रपतिशासनमा मुलुकलाई लैजाऊ भनेर आन्दोलन गरेर सबैले स्वीकार गर्ने परिस्थिति बन्न सक्छ । यो यसकारण कि यतिखेर नेपालले खोजेको प्रणाली नै राष्ट्रपतीय प्रणाली हो । तर, राष्ट्रपति रहेछन् गाई प्राणी, साह्रै डरपोक, उनलाई वर्तमानको होइन भविष्यको चिन्ता छ, आफ्नो इतिहासको चिन्ता छ, अनि के गर्नु ?
चियागफले वास्तवमा सर्वसाधारण नेपालीलाई धेरै कुराको ज्ञान पनि दिइराखेको हुन्छ । यसै प्रसङ्गमा आगामी चुनावमा कमरेड प्रचण्डको जमानत जफत हुने चर्चा पनि चलेको छ । उनी जनजातिका असाध्यै पक्षपाती भएकाले खस आर्यहरूले उनलाई भोट दिने कुरै भएन । अनि कुकुर र बिरालोले भोट हाल्न पाउँदैनन्, भएन त अब प्रचण्डको जमानत जफत ? यस्तै छ एमालेका असन्तुष्टहरूको हालत पनि । पार्टी छोडौँ गोरेबहादुर भइएला भन्ने पिर नछाडौँ बाटो बिराइसकियो । एमालेको हाइकमाण्ड पनि लाछी नै रहेछ । यस्ता पार्टी फोडुवा धुन्धुकारीहरूलाई पाता कसेर कारबाही गर्न नसक्ने । पार्टीबाट निष्कासन गरिएको घोषणा गर्न नसक्ने, अनेक आरोप सहेर बस्ने । खैर जे होस्, अब विस्तारै राजा ज्ञानेन्द्रको पनि सक्रियता बढिरहेको छ । आखिर जसको पुर्खाले मुलुक निर्माण गर्‍यो राज्य गर्ने हकदार पनि उसैको सन्तान हुनमा आपत्ति के छ ? चियापसलभित्रका गन्थन यति मात्र कहाँ सीमित छ र तर के गर्ने ठाउँ सकिहाल्यो । चियापसलको यो गन्थनलाई सरोकारवालाहरूले सदासयतापूर्वक ग्रहण गरे सायद सबैको भलो हुने थियो ।