एमाले १०५ पुऱ्याउने कोसिसमा

एमाले १०५ पुऱ्याउने कोसिसमा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले हिजो संसद् सचिवालयमा वर्तमान संयुक्त सरकारका विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गऱ्यो । यसअघि अस्ति सोमबार एमालेका ८६ जना सांसदले सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइयोस् भनी श्री ५ महाराजाधिराजसमक्ष समावेदन दिएका थिए । काङ्ग्रेससित सरकारमा मिलेर बस्ने या नबस्ने भन्ने विषयलाई प्रमुख मुद्दा बनाएर राप्रपा केन्द्रीय समितिको बैठक चलिरहेको बेला पारेर दिइएको समावेदनले राप्रपाभित्रको वामपरस्त एवम् उग्र काङ्ग्रेसविरोधीहरूलाई बडो झकझक्याएको थियो ।

तर, एमालेको इच्छाअनुरूपको देखल निर्णय भने राप्रपाले गरेन । यतिबेला एमाले नेतृत्व राप्रपाभित्रका चन्द पक्षधर सांसदहरूलाई आफ्नो पक्षमा तान्न विभिन्न कसरतमा लागेको छ । कतिबेला क–कसका बीच कहाँ गुप्त बैठक चलिरहेको हुन्छ भन्न सकिन्न । एमाले नेताहरू र राप्रपा नेताहरूका बीच पनि यसबीचमा अनेकौँपटक बैठक भइसकेका छन् भने राप्रपाभित्रका चन्द पक्षका सांसद एवम् पार्टीका अन्य नेताबीच पनि पटकपटक बैठक चलिरहेको छ । हिजो साँझ केन्द्रीय सदस्य दीपक बोहराको निवासस्थानमा लोकेन्द्रबहादुर चन्दसहितको उपस्थितिमा एक बैठक भएको थियो ।

एमालेले अविश्वासको मतको पक्षमा १०५ जना सांसद पुग्ने विश्वास लिएको छ । त्यस निम्ति आन्तरिक रणनीतिक तयारीमा पनि जुटिरहेको छ । को कति पानीमा छन् भन्ने कुराको स्पष्ट जानकारीका निम्ति आगामी चैत ७ गतेसम्म पर्खनैपर्ने भएको छ ।

(घटना र विचार, २०५२ फागुन ३० गते बुधबार)