सिटौला छोडेर सुशीलमाथि आक्रमण किन !?

सिटौला छोडेर सुशीलमाथि आक्रमण किन !?


हालै कपनमा काङ्ग्रेस सभापतिलाई सो पार्टीमा आस्था राख्ने युवकले नै साङ्घातिक हमला गरेको दृश्य टेलिभिजनका समाचारहरूमा देखाइयो । त्यस दिन म केही साथीहरूसँग आफ्नै घरमा अरू विषयमा व्यस्त थिएँ । त्यहाँ साथीहरूका परिवार पनि आएका थिए । समाचार हेरेपछि एउटी महिला साथीले प्वाक्क भनिन्, ‘नजिकै कृष्णप्रसाद सिटौला हुँदाहुँदै त्यो युवकले किन कोइरालाई हात उठाएछ ?’ उनको कुरा सुनेपछि त्यहाँ हाँसोको फोहोरा छुट्यो र सबैले त्यस कुरामा हो मा हो मिलाउन थाले । मैले पनि त्यसपछि अन्यत्रबाट ध्यान मोडी आफूलाई त्यो समाचारप्रति केन्द्रित गरेँ । वृद्ध व्यक्तिमाथि हातपात गरिएको घटना निन्दनीय नै लाग्यो । तर, काङ्ग्रेसमा इतिहास बोक्ने र नेपाली काङ्गे्रसको जन्म गराउन महत्वपूर्ण भूमिका निभाउने कोइराला परिवारमाथि नै आज तिनकै कार्यकर्ताले किन हात उठाउने अवस्था आउन थालेको छ ? यो प्रश्नले भने मेरो मनमा घर बनायो ।
कुनै बेला कोइराला परिवारको आह्वान र आदेशमा ज्यान समर्पण गर्न तयार हुने कार्यकर्ताहरूले नै त्यो परिवारमाथि किन हातपात गर्न थाले ? यसको उत्तर भने कोइराला परिवारले र नेपाली काङ्ग्रेसले अब खोज्नुपर्ने बेला आएझैं मलाई लागेको छ । कोइराला परिवारले नेपाली काङ्ग्रेसलाई लौ त भन्ने हो भने आफ्नो पेवाझैं चलाएकै हुन् । उनीहरूले २००७ सालदेखि नै नेपाली राननीतिमा आफ्नो उचाइ बढाउँदै गएका कारण त्यस परिवारको काङ्ग्रेसभित्र राजनीतिक उचाइ यति धेरै बढ्यो कि अन्य त्यस पार्टीका नेताहरू तिनका अगाडि बाउन्नेझैं साना कदका सावित हुँदै गए । जो–जो नेताहरू तिनका नेतृत्वमुनि बस्न सकेनन् वा ती परिवारका नेतृत्वमा प्रश्न उठाउन थाले ती सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराई, जगन्नाथ आचार्यझैं भएर किनारा लगाइँदै गए । कोइराला परिवारको सधैँ एउटै उद्देश्य देखियो, ‘एनी हाउ पार्टीमा आफ्नो परिवारको पकड जमाऊ ।’
नेपाली जनताका लागि प्रजातन्त्र ल्याउन कोइराला परिवारको महत्वपूर्ण योगदान भए पनि मुलुकको आर्थिक विकासमा उनीहरूको योगदान ज्यादै नगन्य मात्र होइन लगभग नकारात्मक नै देखियो । यदि हामीले गहिरिएर हेर्‍यौँ भने नेपालमा निजी आर्थिक उदारीकरण र विकास कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका कार्यकालमा मात्र भएको छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आफैँ पार्टी फुटाउने, भ्रष्टाचारलाई संस्थागत गराउने र राष्ट्रपतिको लोभमा राजसंस्था हटाई चरम उग्रपन्थी विचारधारका माओवादीसँग मिल्नेसमेत काम भएको छ । काङ्ग्रेसमा आफ्नो उचाइमा कुनै नेतालाई आउनै नदिने र बाँच्न चाहनेहरूले पनि कोइराला परिवारको नेतृत्व स्वीकार गर्नुपर्ने गिरिजाको स्पष्ट नीति थियो । उनले आफ्नो परिवारलाई बलियो पार्न र आर्थिक रूपले मजबुत बनाउन नेपालको निजामती प्रशासन र सुरक्षा निकायमा चरम हस्तक्षेप गरिदिए । उनकै कार्यकालबाट प्रहरीमा आईजीपी बनाउनेदेखि निजामतीमा सचिव र मुख्यसचिव बनाउने प्रक्रियामा प्रधानमन्त्रीकोे प्रत्यक्ष हस्तक्षेप हुन थाल्यो र यति मात्र होइन संवैधानिक पद र गृहमन्त्रीसमेत उनको व्यक्तिगत स्वार्थ पूर्तिको एजेण्डामा काम गर्ने व्यक्ति नियुक्ति हुन थाले । गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र पनि तिनै मानिसलाई मात्र नजिक राखे जो उनको परिवारको वंशाणुगत प्रभावलाई कायम राख्न तिनको सामु आत्मसमर्पण गर्न सक्दथे ।
गिरिजाप्रसादको कार्यशैलीसँग असन्तुष्टहरू छत्तीसे भएर बाहिर आई अलग धार बनाए पनि कोइरालाले पूरै प्रशासनतन्त्र, सुरक्षातन्त्र र न्यायतन्त्रमा जसरी आफ्ना मान्छेहरू फिट गर्नुका साथै भारत तथा अन्तराष्ट्रकै मान्यता प्राप्त नेताको छवि बनाएका थिए, उनका अगाडि ती छत्तीसेहरूको प्रभाव समाज, राजनीति र प्रशासनयन्त्रमा ज्यादै न्यून मात्र रह्यो । पार्टीभित्रैबाट कसैले विरोध गरेर कोइराला परिवारको पर्खाल तोडी काङ्ग्रेस पार्टीमाथि नियन्त्रण गर्ने खुवी कुनै नेता वा कार्यकर्तामा भएन । मनबाट कोइराला परिवार नमाने पनि त्यो परिवारको खुलेर विरोध गर्ने साहस कसैमा थिएन । त्यो असन्तुष्टि वर्षौंदेखि कुण्ठा भएर बसिरहेको थियो । सायद त्यही कुण्ठा साहस बनेर कपनमा धेरै वर्षपछि युवक बस्नेतको माध्यमबाट बाहिर आएझैं मैले महसुस गरेँ ।
गिरिजाप्रसाद कोइराला धेरैपल्ट नेपालमा प्रधानमन्त्री बन्न सफल हुनुमा उनले काङ्ग्रेसका अन्य नेताहरूलाई आफ्ना बराबरीमा आउन नदिनु पनि एक प्रमुख कारण थियो । उनको पालामा महत्वपूर्ण मन्त्री, प्रहरीमा महत्वपूर्ण पदमा पुग्ने व्यक्ति, प्रशासनमा सचिव मुख्यसचिव हुने व्यक्तिहरू, महत्वपूर्ण देशमा राजदूतहरू स्पष्ट रूपमा काङ्ग्रेस र त्यसमाथि पनि कोइराला काङ्ग्रेस भनेर चिनिएकै मानिस नियुक्ति हुन्थे । गृहमन्त्री सधैँ त्यस परिवारका व्यक्तिगत सेवक नै हुने गर्दथे जसले सम्पूर्ण सुरक्षा निकायलाई त्यो परिवारमाथि आस्था राख्ने बनाउनुका साथै त्यो परिवारको राजनीतिक–सामाजिक उचाइ बढाउन आवश्यक पर्ने रकमसमेत जोगाड गरिदिनुपथ्र्यो । यही चक्करमा पर्नाले नै खुमबहादुर खड्कादेखि गोविन्दराज जोशीसम्मले भ्रष्टाचारको मुद्दा खेप्नुपरेको हो । सिटौला कर्मले बाँचेका मात्र हुन् तर जान उनी पनि पथ्र्यो । त्यसैले कोइराला परिवारले आफ्नै पार्टीभित्र, सुरक्षा र प्रशासनिक निकायमा त्यहाँका पद्धतिहरूलाई भताभुङ्ग पारी जसरी त्यो परिवारको पकड कायम राख्न धेरैलाई अन्याय गर्ने काम गरे, अन्यायमा पर्नेहरू त्यो परिवारप्रति भित्रभित्रै असन्तुष्ट थिए नै । मलाई लाग्छ– कोइराला परिवारप्रतिको त्यो असन्तुष्टि नै युवक बस्नेतले कपनमा जाहेर गरेको हुन सक्छन् ।
गिरिजाप्रसाद कोइराला जब अस्वस्थ भए उनले आफ्नो उत्तराधिकारीको रूपमा छोरी सुजातालाई एकैपल्ट उपप्रधानमन्त्री बनाई देश र काङ्गे्रस पार्टीमा त्यस परिवारको वंशाणुगत दाबी रहेको प्रमाण पेस गरे । पार्टीको साँचो सुशीललाई सुम्पँदै गए । विकल्पको रूपमा डा. शेखर र डा. शशांकलाई पनि छेउछेउमा राखे । चुनाव जितेकाहरूलाई काम नदिई त्यही परिवारको गुनगान गाएकै आधारमा चुनाव हारेका कृष्णप्रसाद सिटौलाजस्तालाई उनले चाकडीकै भरमा गृहमन्त्री बनाइदिए । कृष्णप्रसाद सिटौलाजस्तालाई त्यो हैसियतमा कोइरालाले ल्याउनेबित्तिकै कोइराला परिवारको त्यो दादागिरी ध्वस्त गर्नुपर्ने ठहर काङ्ग्रेसमा धेरैको रह्यो र नरहरि आचार्यजस्ताले त्यो परिवारवादविरुद्ध सिँगौरी खेले पनि तर गिरिजाप्रसाद कोइरालाले बनाएका डिफेन्स तोड्न त्यति सजिलो थिएन । नरहरि आचार्यजस्ताले स्वभिमानी काङ्ग्रेसीहरूको साथ धेरै पाउन सकेनन् । यसरी आफ्ना अगाडि शिर उठाउन खोज्नेहरूलाई गिरिजाप्रसाद कोइरालाले सधैँ किनारा लगाउन सफल भए तर पनि असफलहरूले पार्टीभित्रै उनको परिवारवादको विरोध भने मनबाट गरिनै रहेका थिए । गिरिजाप्रसाद कोइरालाको मृत्युपश्चात् काङ्गे्रसको वागडोर सजिलै सुशील कोइरालाको पोल्टामा पर्न सफल हुनुमा पनि गिरिजाकै सांगठानिक संरचनाको भूमिका थियो । यद्यपि पुन: काङ्ग्रेसको वागडोर कोइराला परिवारमै गएको सबैले रुचाइरहेका भने थिएनन् । त्यस्तै नरुचाउनेहरूलाई प्रतिनिधित्व गर्ने काम सायद ती बस्नेत युवकले गरेका हुनसक्छन् ।
अहिले सुशील कोइरालामा पनि त्यही जिम्मेवारी आएको छ ‘एनी हाउ पार्टीमा आफ्नो परिवारको पकड जमाऊ’ । उनले यो काम देउवा, नरहरि वा खुमबहादुरलाई हात लिएर जमाउन सक्दैनथे । अत: सहाराका लागि उनले अलोकप्रिय र आफ्नै क्षेत्रमा चुनाव हार्ने कृष्णप्रसाद सिटौलालाई च्यापे । पार्टीभित्र र देशमै अत्यधिक अलोकप्रिय सिटौलालाई सुशील कोइरालाले च्याप्नेबित्तिकै उनको विरोधमा भित्रभित्रै हजारौँ तल्ला कार्यकर्ता उम्रिए । झन् उनले आफ्ना कोटाबाट सीधै सिटौलालाई महामन्त्री र उपप्रधानमन्त्रीसमेतको हैसियत दिएपछि त सुशीलमाथि असन्तुष्ट कार्यकर्ता झनै बिच्किए । त्यही बिच्किनेहरूको प्रतिनिधित्व सायद युवक वबस्नेतले गरेका हुन सक्छन् ।
आज सुशील कोइरालाका लागि काङ्ग्रेस पार्टी र जनताको विकासभन्दा बढी कोइराला परिवारको पकड पार्टीभित्र बचाइराख्नु प्राथमिकतामा परेको छ । यही प्राथमिकता पूरा गर्न उनी स्वार्थवश भ्रातृ सङ्गठनहरूमा परिवर्तन गरेर हुन्छ कि वा रामचन्द्रलाई प्रधानमन्त्रीको ललिपप देखाएर हुन्छ हर प्रयास गर्दै छन् । यस दुस्प्रयासमा पनि हजारौँ कार्यकर्ता उनीप्रति रुष्ट छन् । त्यही रुष्टतालाई उजागर गर्न बाहिर देखिएको एक कार्यकर्ता युवक बस्नेत हुन सक्छन् ।
साँचो कुरो यही हो आफ्नै कार्यकर्ताले यदि आफ्नै नेतामाथि हातपात गर्छन् भने तिनले यस्तो कार्य त्यसै गरेका हँुदैनन् । त्यसका पछाडि ठूलो कारण हुनुपर्छ । जीवनभर शान्त मानिएका सुशील कोइरालालाई पनि परिवारवाद जोगाइराख्न जीवनको अन्तिम समयमा स्वार्थी निर्णय लिन सिटौलाजस्ता चतुर खेलाडीहरूले बाध्य पार्नेछन् । सुशील कोइरालाले पनि केन्द्रीय सदस्यको चुनावमा वा सांसदको चुनावमा धेरै भोट ल्याएकै भरमा कसैलाई प्रधानमन्त्री वा गृहमन्त्री हुन दिने छैनन् । उनले यो पद कोइराला परिवारभित्रै सुजाता, शेखर वा डा. शशांकको पोल्टामा हाल्नेछन् । यदि तिनका पोल्टामा पार्न नसके आफ्नै वृद्ध शरीर बालुवाटार लैजानेछन् । रामचन्द्र पौडेलजस्ता व्यक्तिहरू कोइराला परिवारका लागि केवल खेलौनाजस्तो मात्र हुन् । मन भएसम्म तिनले साथै राख्नेछन् र मन भरिएपछि कतै थन्क्याइदिनेछन् । केन्द्रीय सदस्यका जतिसुकै भोट ल्याएर महामन्त्री भएका भए पनि टिके महामन्त्री सिटौलाका अगाडि प्रकाशमान सिंहको पार्टी र राज्य चलाउने कुरामा कुनै पकड हुने छैन । उनी पनि बुबा गणेशमान प्रयोग गरिएझैं मात्र कोइराला परिवारको स्वार्थमा प्रयोग गरिनेछन् । सिटौलाजस्ता चरित्रको हालिमुली कोइराला परिवारमा भएसम्म प्रदीप गिरीजस्ता चिन्तक वा थुप्रै भोट ल्याएर दङ्ग पर्ने गगन थापाजस्ता काङ्ग्रेसी नेताको पार्टीमा कुनै पकड हुने छैन । यो कुरा सुशील कोइरालाले कृष्णप्रसाद सिटौलालाई खुल्लमखुला रूपमा उपप्रधानमन्त्री बनाएर देखाइदिइसके । २००७ सालदेखिका काङ्ग्रेसी कार्यकर्ताहरूले बाबुका पालादेखि यो पार्टीलाई माया, आदर गरे पनि यो पार्टी देशको, जनताको नभई क्रमश: कोइराला जातको एकल पार्टी भएको महसुस गरिरहेका छन् । उनीहरूभित्र जुन आक्रोश छ त्यही आक्रोश युवक बस्नेतद्वारा कपनमा उजागर भएको हुनुपर्छ । कोइराला परिवारले पनि बस्नेतको आक्रमणभित्र लुकेका रहस्य आफूभित्रै खोज्न जरुरी छ । त्यो परिवारमाथिको आक्रमणको एक कारण त्यस परिवारले बढाएको सिटौलाको हैसियत पनि हुनसक्छ । सायद त्यसैले होला समाचार हेर्नेहरूले भने, ‘सिटौला त्यहीँ हुँदाहुँदै आक्रमण किन सुशीललाई ?’