फिल्म अवार्डको नाममा किर्ते काम

फिल्म अवार्डको नाममा किर्ते काम


यतिबेला चलचित्रहरू राम्रोसँग चलिरहेका छैनन् । एकातिर निर्माताहरू आर्थिक मारमा परिरहेका छन् भने सिनेमाहरू नचलिरहेको अवस्थामा यही कारणले गर्दा कलाकारहरूले पाउने पारिश्रमिकमा पनि कमी भइरहेको छ । अर्थात् उनीहरूले श्रमअनुसारको मूल्य पनि पाइरहेका छैनन् ।
अवस्था यस्तो छ तर एउटा समूह भने कलाकारहरूको नाम, उचाइ, मान र सम्मानलाई नै तिलाञ्जली दिने खालको काम गर्दै हिँड्न थालेको छ । फिल्म अवार्डको नाममा कलाकारहरूको अनुमति र स्वीकृतिबिना उनीहरूको तस्बिर प्रचार सामग्रीहरूमा राखेर किर्ते काम गर्दै हिँड्न थालेको यस्तो समूहबाट सबै सचेत रहनुपर्ने अवस्था छ अहिले । युएईमा आगामी साता भव्य रूपमा आयोजना हुने भनेर स्वघोषित ‘भव्य’को चर्चा गर्दै हिँड्ने बक्स अफिस फिल्म अवार्डले केही कलाकारको नाममा किर्ते काम गरेको रहस्योद्घाटन भएको छ । यो मारमा परेका छन् महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर र हास्यकलारद्वय दीपकराज गिरी र दीपाश्री निरौला ।
आफू दुबई जाने कुरा यीलगायत अन्य केही कलाकारहरूलाई थाहा छैन, तर पोष्टरहरूमा यिनीहरूको तस्बिर ठूलो पारेर राखिएको छ । एक त यो कार्यक्रममा यी कलाकारहरू जानै सक्दैनन् भने अर्कोतर्फ यिनीहरूको स्वीकृति नै लिइएको छैन । जुन समयमा दुबईमा कार्यक्रम हुँदै छ त्यही समयमा राजेश हमाल र करिश्माको अमेरिकामा कार्यक्रम छ भने दीपकराज र दीपा हास्य कार्यक्रममा देशदौहाडामा छन् । आफ्नो तस्बिरको दुरुपयोग गरेकोमा नायक राजेश हमाल पनि रिसाएका छन् यसपटक । ‘मलाई थाहा पनि छैन र कुरा पनि गरिएको छैन । यसरी गलत काम गर्नु राम्रो होइन,’ हमाल भन्छन् । उता करिश्मा अमेरिकामा छिन् तर यता पोष्टरमा उनको तस्बिर छ ।
यसरी फिल्म अवार्डको नाममा गलत सोच बोकेर किर्ते काम गर्दै हिँड्ने समूह देखेर सिनेकर्मीहरू नै तीनछक परेका छन् । स्टारहरूको नाम राखेर टिकट बेच्ने अनि कार्यक्रममा दर्शकहरूले स्टार खोज्दा देखेनन् भने आयोजकको हालत के होला ? र, यी कुराहरू दर्शकहरूले थाहा पाए भने आयोजकको अवस्था के होला ? यसतर्फ आयोजकलाई चेतना भया ।

किरण प्रधान एकल साँझ
आफ्नो तीन दशकभन्दा लामो गायन यात्रामा नै पहिलोपटक वरिष्ठ गायक, सङ्गीतकार एवम् रचनाकार किरण प्रधान पहिलोपटक एकल साँझ लिएर आउने भएका छन् ।
उहाँका कालजायी सुमधुर आवाज सुन्ने हो भने आज बुधबार साँझ पाँच बजेट राष्ट्रिय नाचघर जमल जानैपर्छ । भूल हो तेरो… भञ्ज्याङको चौतारीमालगायत सयौँ गीतमा गायक, रचनाकार तथा सङ्गीत तीनै विधाका हस्ती किरण प्रधानको यो एकल साँझ लायन्स डिष्ट्रिक्ट ३२५ ए र भवन निर्माण कोष तथा हेल्पलेस चिल्डे«न होम कीर्तिपुरको सहयोगार्थ आयोजना गर्न लागिएको हो ।
पहिलोपटक एकल साँझमार्फत श्रोताहरू माझ आउन लागेका किरण प्रधान भन्छन्, ‘त्यो साँझ श्रोताहरूले मेरा लागि छुट्याउनुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।’

विद्यार्थीलाई छात्रवृत्ति प्रदान
समाजसेवी तथा उद्यमी प्रकाशचन्द्र दवाडीले स्वर्गीय काका कुलप्रसाद दवाडीको नाममा गोरखा जिल्लाका १६ वटा स्कुलका ८० जना विद्यार्थीलाई छात्रवृत्तिको घोषणा गरेका छन् । सो घोषणालाई कार्यान्वयनका लागि गत साता गोरखाको श्री संसारी महेन्द्र उमावि नयाँ साँघुमा प्रकाशचन्द्र दवाडीको प्रमुख आतिथ्यमा पाँचजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शिक्षा क्षेत्रको विकासका लागि प्रसंशनीय कदमको थालनी
गर्नुभएको छ ।
आफ्नो कमाइको केही अंश उहाँले गोरखा जिल्लामा स्वास्थ्य चौकी, बाटोघाटो, स्कुल आदिमा लगानी गर्दै आउनुभएको छ । प्रकाशचन्द दवाडीका काका स्व. कुलप्रसाद दवाडी शिक्षक हुनुहुन्थ्यो । काकाले शिक्षा क्षेत्रमा गरेको योगदानलाई स्मरण गरी छात्रवृत्तिको घोषणा गर्नुभएको हो ।