उनी ऐतिहासिक गद्दार हुन्—छत्रमानसिंह कार्की

उनी ऐतिहासिक गद्दार हुन्—छत्रमानसिंह कार्की


विक्रम सम्वत् २००४ सालमा जन्मिएका छत्रमानसिंह कार्की २०२४ सालमा धरान क्याम्पसमा विद्यार्थी युनियनको सभापति भएपछि राजनीतिक गतिविधिमा सक्रिय भएका थिए । तिनै कार्की ०२९/३० सालमा महेन्द्र मोरङ क्याम्पसमा पनि सभापति बनेका थिए र उनी झापा विद्रोहका अगुवाहरूको सम्पर्कमा पुगेका थिए । युवा उमेर भएको हुँदा क्रान्तिकारी रोमाञ्चकताले कार्कीलाई रामै्रसँग छोएको थियो । भरतमोहन अधिकारी, मनमोहन अधिकारी, कमल कोइराला, जनार्दन आचार्यलगायतका नेताहरूको सम्पर्क र प्रेरणाबाट राजनीतिमा सक्रिय भएका कार्कीले झापा काण्डका नेताहरूलाई आफ्नै घरमा आश्रम दिएर पालनपोषण गर्ने काम पनि गरेका थिए । तर, पछि कार्कीले राजनीतिक सक्रियता कायम राखेनन् । २०४७ यता त उनले निर्वाचनमा मतदानसमेत गरेका छैनन् । उनी अहिले आफूलाई एक चेतनशील तर साधारण नागरिकका रूपमा चिनाउने गर्छन् । जनदृष्टिमा देश र राजनीति कस्तो छ भन्ने विषयमा जानकारी पाउन कार्कीसँग भएका कुराकानी यहाँ सङ्क्षिप्तमा प्रस्तुत गरिएको छ ।
० हामी तपाईंको अन्तर्वार्ता लिँदै छौँ, तपाईं आफ्नो विचार दिँदै हुनुहुन्छ, हामीले तपाईंसँग किन कुरा गर्नुपरेको र तपार्इंले किन आफ्नो विचार दिइरहेको होला ? कुरा यहाँबाट सुरु गरौँ न !
– यो सवालमा झ्वाट्ट जवाफ दिनुपर्दा मलाई के लाग्छ भने जति पनि म पेपरहरू हेर्छु जनताको भावनालाई कभरेज दिएको अखबार खासै देखिनँ । तर, तपार्इंहरूको यो पेपरमा मजस्ता जनताको झल्याकझुलुक प्रतिबिम्ब देख्छु । यसर्थ म तपाईंकहाँ आएको हुँ र विचार लिने–दिने काम भएको हो ।
० तपाईं आफूलाई चेतनशील तर साधारण नागरिक ठान्नुहुन्छ, हो ?
– हो, म एउटा साधारण नागरिक मात्र हुँ र साधारण नेपाली नागरिकका रूपमा बाँच्न पाइयोस् भन्ने मेरो इच्छा हो ।
० तपाईं एक नागरिक भएर हेर्दा देशलाई कस्तो पाउनुभएको छ त ?
– कुनैबेला राजा महेन्द्रले ‘अराष्ट्रिय तत्व’ भन्ने शब्द प्रयोग गर्दथे– त्यो सम्झँदै म भन्न चाहन्छु कि सबै दलका सबै कार्यकर्ता त ‘अराष्ट्रिय’ होइनन्, तर शीर्षस्थ नेताहरूमा राष्ट्रियता भनेको छँदैछैन र यिनीहरू विदेशीका गुलाम हुन् । यसैका आधारमा बुझ्नुस् मैले मेरो देश र हाम्रा नेताहरूलाई कस्तो पाइरहेको छु, के भोगिरहेको छु र अनुभूति के गरिरहेको छु ।
० लोकतन्त्र आएपछि त देश र जनतालाई राम्रो हुन्छ भनेका थिए, तपाईंले चाहिँ ‘राम्रो’ अनुभूति गर्नुभएको छैन ?
– अङ्गे्रजीमा ‘डेमेक्र्यासी’ भनिने लोकतन्त्र र प्रजातन्त्र भनेको एउटै कुरा हो । ०४६ पछि प्रजातन्त्र आएको भनिन्थ्यो क्यारे, ०६३ पछि त्यो फेरि ‘लोकतन्त्र’ बनेर आएछ । मेरो बुझाइमा हाम्रा नेता भनाउँदाहरूले ‘प्रजातन्त्र’मा ढाँटेर खाँदा–खाँदा वाकविधि भएर थप ढाँट–छल गरी खानका लागि प्रजातन्त्रलाई ‘लोकतन्त्र’मा रूपान्तरण गरेका मात्र हुन् । लोकतन्त्र भनेको ‘जनताको शासन, जनताद्वारा, देश र जनताकै लागि’ भन्ने हो । तर, यहाँ यो लोकतन्त्र पार्टी, परिवार या पार्टी चलाउनेहरूको मतियारका लागि मात्र भयो । यो देश स्पष्टतः डाँका, तस्कर, कालोबजारिया, ज्यानमाराहरूको हातमा रहेको छ । लोकतन्त्रका नाममा जो सरकार छ यो वास्तविक पीडित नेपाली नागरिकको सरकार नै होइन । यस्तो अवस्थामा देश र जनताको भलो भयो कि के भयो तपार्इंले पनि त भोगिरहनुभएकै होला ।
० तपाईं–हाम्रा नेता विदेशीका गुलाम हुन्, यी नेपाली होइनन् भन्नुहुन्छ, तर सबै नेताका नागरिकताको प्रमाणपत्र त ‘नेपाली’ नै छ नि ?
– एक हजारका दलले ४२ हजार परायालाई ‘नेपाली नागरिकता’ बाँड्नेहरू नागरिकतामा नेपाली भए पनि वास्तविक नेपाली कसरी हुन सक्छन् ? नेपालआमाको माया नगर्ने कसरी नेपाली ठहरिन सक्छ ?
० यो ८–१० वर्षको बीचमा केही त राम्रो गरेका होलान् नि, नराम्रै मात्रै गरे होलान् त ?
– केही पनि राम्रो गरेका छैनन्, बडो दुःखद् र आश्चर्यको कुरा हो यो । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेर पढिएको थियो तर यी नेतारूपी बादलमा त त्यस्तो केही उज्यालोको लेस पनि भेटिएन ।
० यसरी केही पनि राम्रो गर्न नक्नुको कारण के होला त ?
– प्रमुख रूपमा भन्नुपर्दा आफ्नो स्वार्थबाट माथि उठ्न नसक्ने व्यक्तिहरू ‘नेता’को स्थानमा भइदिए । अर्को कुरा नेपाली जनतालाई एक नागरिकका रूपमा नहेरी यिनले ‘भेडा’को रूपमा हेर्ने र व्यवहार गर्ने गरे । यस्तो निकृष्ट र स्वार्थी सोच बोक्नेहरूलाई ‘राम्रो काम गर्ने’ जिम्मा दिएपछि कसरी हुन सकोस् त राम्रो ?
० त्यत्रो जङ्गलमा बसेर आतङ्क मच्चाइरहेका हुललाई गिरिजाप्रसादले शान्तिप्रक्रियामा ल्याउनुभयो, मानिस मर्न छोडे, अब त शान्ति छाउँछ, राम्रो नै राम्रो हुन्छ भनेका छन् नि त ?
– यही त विडम्बनाको कुरा हो । हरेक नेपालीले बुझ्नुपर्ने कुरा के हो भने यो मुलुकको सबैभन्दा ठूलो गद्दार र राष्ट्रघाती नेता अथवा व्यक्ति भनेको को हो भन्दा त्यो मान्छे गिरिजा हो । माओवादीलाई पहिला आतङ्ककारी घोषणा गर्ने को हो भन्दा गिरिजा र उनका सहयात्री भनिने अन्य दलका नेताहरू नै हुन् । यतिबेला यी कुनै दलले पनि माओवादीलाई आतङ्ककारी भन्दैनन्, बरु ‘१० वर्षे जनयुद्धबाट आएका माओवादी’ भन्छन् । युद्ध र आतङ्कमा धेरै फरक छ भनेर बुझेका हौँ हामीले त । युद्ध भनेको त पवित्र कुरो हो, मर्दा स्वर्ग गइन्छ, जित्दा पृथ्वीमा सेवा गर्न पाइन्छ । तर, आतङ्क भनेको त व्यक्ति, समाज, देश, लोकतन्त्रका लागि महान् दुश्मन हो । यस्तोमा ‘आतङ्ककारी’लाई मलजल गरेर, स्थान दिएर गिरिजाले ठीक गरे कि के गरे त्यो त उनकै अनुयायीहरूले अहिले भोग्दै होलान् नि ।
० त्यसो भए गिरिजाप्रसादले राष्ट्रलाई ठूलो योगदान दिनुभएको छ भन्ने भनाइ झुटो हो त ?
– मैले भनिहालेँ गिरिजा त देशको सबभन्दा ठूलो गद्दार हुन् । गद्दारले देशलाई कसरी ठूलो योगदान दिन सक्छन् ?
० तपाईंको विचारमा यतिबेला अब नेपालमा के गर्‍यो भनेचाहिँ राम्रो होला त ?
– यतिबेला नेपालमा राजनीति नै दुई पाटोबाट गयो, एउटा पार्टीका नेता भनाउँदाहरूको राजनीति र अर्को जनताको राजनीति ! पार्टीवालाको राजनीति देश तहसनहस गर्ने, देश कसैलाई सुम्पिने अथवा यहाँ गृहयुद्ध सरुवात गर्ने प्रकृतिको भयो । जनताको राजनीति भनेकोचाहिँ नेपाल बचोस्, नेपालको भलो र उन्नति होस्, देश विखण्डन नहोस्, नेपाली भएर गर्वका साथ बाँच्न पाऔँ भन्नेका खातिर छ । तर, यस्तो चाहने जनताको सङ्गठन भने छैन । किनकि ती जालीहरूको जालमा पारेर जनता भेडाकै रूपमा परिणत भएका छन् यतिबेला । गणेशमानजीले भनेजस्तो मलाई त लाग्छ हामी जनता हिजडा नै हौँ ।
० राष्ट्र बचाउन के गर्नुपर्ला त अब ?
– जनताले आफूहरूलाई पत्याएका छैनन् भन्ने यी नेता भनाउँदाहरूले भेउ पाइसकेका छन् । यसैको प्रमाण हो प्रचण्डले ‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्छ’ भनी दिएको अभिव्यक्ति । उनले चाहेर त्यसो भने या नचाहेर तर सरकार स्वतन्त्र व्यक्तिकै नेतृत्वमा बनाइनुपर्छ, अब यी प्रदेश र पहिचान आदि कुराहरू हाम्रो हितका कुरा नभएकोले त्याग्नुपर्छ । हाम्रो देशमा १ सय ३१ जातजाति छन्, यस्तोमा कसरी तपाईं पहिचानसहितको राज्य दिन सक्नुहुन्छ ? यो कुरा त कसरी आयो भने पश्चिमा मुलुकहरूले क्रिश्चियानिटी अगाडि बढाउन, नेपाललाई फेलियर कन्ट्री बनाएर सामरिक थलो तुल्याउन मात्र जातजाति र उपजातिका कुरा ल्याइएका हुन् । हाम्रा नेताहरू विदेशी गुलामहरू हुन् । यी गुलामहरूले तिनका मालिकका देशमा जस्तो व्यवस्था छ त्यस्तै यहाँ लागू गरिदिए त हुने नि । भारत, अमेरिका र त्यस्तै अन्य विकसित देशमा हाम्रोजस्तो जातजाति छैनन् र ? हामीकहाँभन्दा धेरै जातजाति छन् अन्यत्र । पहिचान हुनुहुँदैन भनेको होइन– त्यो हुनुपर्छ, तर त्यसैका नाममा राष्ट्रिय पहिचान गुमाउनुहुँदैन । यहाँ त राष्ट्रिय पहिचान समाप्त पार्नका लागि स्वजातीय पहिचानको नारा अघि सारिँदै छ ।
० यतिबेला जनता सबै तपाईंजस्तै असन्तुष्ट छन् भन्ने भनाइ हो तपाईंको ?
– जनता मात्र होइन, यी नेता भन्नेहरू पनि व्यक्तिगत रूपमा असन्तुष्टि नै व्यक्त गर्छन् । यिनीहरू आफूले चाहेर केही गर्न सक्दैनन्, यिनका आफ्ना भिजन या त छँदै छैन र भए पनि त्यो व्यवहार लागू गर्न सक्ने हुति यिनको छैन भन्ने पुष्टि भइसकेको छ । एउटा सानो उदाहरण लिऊँ । सुशील कोइराला एउटा त्यागी, कसैको दबाब– प्रलोभनमा नपर्ने निष्ठाको राजनीति गर्ने व्यक्तिका रूपमा चिन्छौँ । यस्ता व्यक्तिबाट स्वाभाविक रूपमा हामीले अपेक्षा गर्छौं कि कसैको दबाबमा नपरी यिनले आफ्ना कुरा सत्य कुरा गर्न सक्छन् र त्यसैलाई राजनीतिको माध्यमबाट समाजमा लागू गराउन खोज्छन् । तर, सुशीलजीमा पनि यो कुरा लागू भएको रहेनछ । किनकि मैले एकपटक उनलाई सोधेँ– ‘सुशीलज्यू, यहाँ मधेसवादको नारा निकै चर्काइएको छ, तपाईंहरू यो नारा अघिल्तिर लाचार देखिनुभएको छ । रुकुम, रोल्पा, कालिकोट, हुम्ला, जुम्ला र त्यस्तै थुपै्र पहाडी जिल्लाका जनतासँग शरीरमा तागत भए पनि काम गरी कमाएर आफू र आफ्नो परिवार पाल्ने अवसर तिनलाई उपलब्ध छैन । धानको भात खान दशैँ–तिहार, श्राद्ध कुर्नुपर्छ त्यो पनि बडो यत्नका साथ जोगाएर राखे मात्र एक–दुई छाक धानको भात खान पाउँछन् ती पहाडे जनताले । तर, यहाँ ‘पहाडवाद’को कुरा छैन । उता मधेसमा एउटा फरुवा काँधमा बोकेर बिहान घरबाट निस्कनेले बेलुका ४/५ सय रुपैयाँ कमाएर घर छिर्ने अवसर आजका दिनसम्म पर्याप्त छ । तर, यहाँ ‘मधेसवाद’ उरालिएको छ । यस्तो किन ?’ यसको जवाफमा सुशीलले मसँग भन्नुभयो, ‘यो विडम्बना हो !’ अनि फेरि अर्को प्रश्न सोधेँ, ‘सुशीलजी, भारतमा स्वतन्त्रताका क्रममा सुभाषचन्द्र बोसले ठूलो फौज गठन गरेका थिए, तर नेहरूले त्यो फौजलाई भारत स्वतन्त्र भएपछि राष्ट्रिय सेनामा समाहित गरेनन् । यहाँ तपाईंहरूले नै आतङ्ककारी घोषणा गरेका जत्थाका लडाकुहरूलाई राष्ट्रिय सेनामा तपार्इंहरूले समावेश गर्नुभयो । यहाँ यस्ता आतङ्ककारी, सम्प्रदायवादी, विखण्डनकारी त थुपै्र देखिएका छन् अनेक नाममा, अब के माओवादी लडाकुलाई सेनामा समावेश गरेको नजिरका आधारमा सबै आतङ्ककारी, विखण्डनकारीहरूका लडाकुलाई राष्ट्रिय सेनामा समावेश गर्नुहुन्छ ? यो प्रश्नको जवाफमा पनि सुशीलले यति मात्र भने, ‘यो पनि विडम्बना हो !’ ल हेर्नुस् ! देश र जनतालाई नेतृत्व दिन्छौँ भन्ने हाम्रो नेताहरू कति लाचार रहेछन् । कुन मानसिकताबाट गुज्रिरहेका रहेछन् ? यस्तो देशमा के जनता, के नेता सबै असन्तुष्ट, सबै लाचार नै त रहेछन् ।