दृष्टिविहीनको अधुरो विवाह-चाहना !

दृष्टिविहीनको अधुरो विवाह-चाहना !


– अनिश शर्मा गैरे

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–३ निवासी ६९ वर्षीया च्याङ्ग्री थापा र उनका ४२ वर्षिय छोरा केशरबहादुरको अवस्था दर्दनाक बनिदिँदा वरपरका छिमेकीहरूको लागि समेत चिन्ताको विषय बनेको छ । आमा–छोरा दुवैजना दृष्टिविहीन त थिए नै, तर आमा च्याङ्ग्री यतिबेला पक्षघातका कारण आफै हलचल गर्न र बोल्न समेत सक्दिनन् । घर–परिवारमा अन्य कुनै सदस्य नभएका कारण सबै कामको जिम्मा दृष्टिविहीन केशरबहादुरले वहन गर्न विवश बनेका छन् ।

२०५९ सालदेखि यस्तो समस्या शुरु भएको र शरीर नचल्ने, आँखा नदेख्ने र बोल्न पनि नसक्ने आमाको दैनिक हेरचाह दृष्टिविहीन छोराले गरिरहँदा आमा च्याङ्ग्रीमा एउटा बुहारीको सपना पहाएको छ । आफ्नो घरमा कुनै महिलाको नौलो आवाज सन्नासाथ कसैले छोरालाई बुहारी त ल्याइदिएनन् भनी च्याङ्ग्री उत्सुक हुन्छिन् । तर, यस्तो भावमा डुब्न थालेको वर्षौं भयो, चाहना भने अहिलेसम्म मृगतृष्णा बनेर रहेको छ ।

धुवाँले भरिएको घरभित्र छामछुम गर्दै आगो फुकेर आमाको हेरचाह आफैले गर्दे आएका केशरबहादुरले प्रायः दिउँसो १ बजेसम्म पनि खाना खाएका हुँदैनन् । संक्षिप्त कुराकानीको प्रसङ्गमा ‘आमाले भात खान सक्नुहुन्न, त्यसैले आटाको रोटी बनाएर खुवाउँछु, बाबुको १५ बर्षअघि मृत्यु भएदेखि दुःख झन् थपिएको छ, गरिवीका कारण उपचार गर्न नसक्दा सानै उमेरमा आँखाको ज्योति गुमाउनुपरेको हो’ भन्छन् उनी ।

आमाको सम्पूर्ण हेरचाह गर्दै आएका दृष्टिविहीन केशरबहादुरले घरमा तीनवटा बाख्रा पाल्नुका साथै घरमुनि रहेको केही जमीनमा मकै खेती पनि गरेका छन् । आम्दानीको श्रोतको रूपमा बाबुको पेन्सन भएपनि आफु दृष्टिविहीन र आमा अशक्त भएकी कारण पेन्सन लिन कहिले कसलाई त कहिले कसलाई गुहार्नुपर्ने बाध्यतामा छन् केशरबहादुर ।

बिहे गर्न पाए बाबुको पेन्सन बुझ्न र दोकान पुगी सरसमान खरिद गर्नका लागि अरुलाई गुहार्नुपर्दैनथ्यो भन्ने केशरबहादुरलाई घरजम गर्ने रहर पछिल्लो समयमा झन् बढेको महसुस हुन थालेको छ । विवाह गराइदिन खासै कसैले सहयोग नगरिदिएको गुनासो सुनाउँछन् उनी ।

उक्त पीडित परिवारको समस्या र गुनासाहरूमा केन्द्रित भई वडाअध्यक्ष कर्णध्वज जिसीसँग जिज्ञाशा राख्दा २० वर्षसम्म मुलुक जनप्रतिनिधिविहीन बन्दा दुःखी–गरिवहरूको पुनःस्थापना र तिनलाई राहत प्रदान गर्ने कार्यमा ठोस केही हुन नसकेको स्वीकार गरे । वडा तह र आफ्नो व्यक्तिगत तर्फबाट जतिसक्दो चाँडो उनीहरूलाई उपयुक्त सहयोग प्रदान गरिने प्रतिबद्धता पनि उनले जनाए ।

यसैगरी जिल्लाको मुसिकोट नगरपालिका–६ निवासी समाजसेवी व्यक्तित्व रविलाल पौडेलको सक्रियतामा उक्त परिवारका लागि सहयोग रकम जुटाउने अभियान अगाडि बढेको छ । झण्डै ७ लाख रुपैयाँ सहयोगका लागि बचन मिलेको भएपनि हालसम्म ३ लाख ६१ हजार रकम प्राप्त भइसकेको उनले बताए । फोटो पत्रकारका रुपमा परिचित पौडेलका अनुसार मानवलाई दुःख पर्दा मानवले नै साथ दिनुपर्छ भन्ने मान्यताका साथ आफुहरू अगाडी बढेको र सबै रकम संकलन हुनासाथ स्थानीय जनप्रतिनिधिहरू सहितको रोहवरमा उनीहरूको नाममा बैंक खाता खोली उचित उपयोग गर्ने ब्यवस्था मिलाइदिएर हस्तान्तरण गरिने जानकारी उनले दिए ।