यस्तो बन्दैछ वीर अस्पतालको सर्जिकल भवन

यस्तो बन्दैछ वीर अस्पतालको सर्जिकल भवन


वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘म भ्रष्टाचार गर्दिनँ, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु’, नेपालको जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको उल्लेख गरे ।

उनले भने, ‘मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ ।’

आफूले शिलान्यास गरेको भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुनैपर्नेमा जोड दिँदै प्रम ओलीले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने जानकारी दिए ।

सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा रहेको कुरामा नाक ठोकिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई आग्रह गरे । उनले भने– ‘देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्कोको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पु¥याउँछ ? यस प्रकारको हेलचक्रा्याईं दोहोरिन भएन, चिकित्सक र सिंगो चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो ।’

नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया (अपरेश थिएटर) रहने छन् । यसैगरी पोष्ट अपरेटिभ, ४० शैयाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहने छन् । साथै ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

यसैगरी, विसं १९४७ मा १५ शैयाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालले आफ्नो क्षमता एक हजार ५०० शैयामा विस्तार गर्न लागेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा गणेशमान गुरुङले ४५० शैयाको वीर अस्पतालको क्षमता विस्तार भई एक हजार ५०० शैया पु¥याउन लागेको जानकारी दिएका हुन् । यसका लागि न्याम्सले गुरुयोजना समेत कार्यान्वयनमा ल्याएको राससले जनाएको छ ।

योजनाका अनुसार छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य शुरु हुने तथा एक सय श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारको आर्थिक सहयोगमा शुरु भइसकेको छ । वीर अस्पतालले नेपालमै पहिलोपटक क्यान्सर रोगको उपचारका लागि टेमोथेरापी उपकरण ल्याउन लागेको सो अवसरमा जानकारी दिइयो ।

तस्बिर रासस