अस्पतालमा दलालको बिगबिगी

अस्पतालमा दलालको बिगबिगी


विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका(७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्। शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई(तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे।

सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका श्रेष्ठ ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर क्लिनिक पुगेका हुन्। ‘१५ हजार रुपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा २५ हजार सकियो’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्‍यो।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रदेश १ को राजधानी विराटनगरमा सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसरी नै प्रतिदिन दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन थालेका छन्। बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले दलाल नै परिचालन गरेको रहस्य खुलेको छ।

गत बुधबार शनिमन्दिर नजिकै बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाँदै गर्दा प्रहरीले दुई युवालाई पक्राउ गर्‍यो। बिरामीलाई झुक्याएर नेसनल क्लिनिक लैजाँदै गर्दा सप्तरी, राजविराज(६ का ३० वर्षीय सीताराम सरदार र महोत्तरी जलेश्वर(६ का ३५ वर्षीय उमेश महतो पक्राउ परेका हुन्। विराटनगरमा डेरा गरी बस्ने सरदार र महतो निजीमा बिरामी पुर्‍याउने ‘दलाल पेसा’ मा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।