धुलाम्य सडकले स्वास्थ्यमा प्रतिकुल असर

धुलाम्य सडकले स्वास्थ्यमा प्रतिकुल असर


अनिष शर्मा गैरे, गुल्मी

सडक निर्माणको क्रममा धुलोको मात्रा अत्याधिक हुँदा गुल्मीमा प्रदूषणको दर बढेको छ । धुलो ब्यवस्थापनको लागि चासो नदिँदा गुल्मीवासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको हो ।

हुन त हिउँद महिनामा सडक धुलाम्य हुनु अस्वाभाविक नहोला, तर जताततै डोजर चलाइएका कारण यस वर्ष सडकहरू अत्याधिक धुलाम्य बन्न पुगेका छन् । विशेषगरी रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड निर्माणको क्रममा अहिले सडक निकै धुलाम्य बनेका छन् ।

यो सडक मात्र होइन सदरमुकाम तम्घासदेखि सीमलटारीसम्मको सडक आयोजना, तम्घास–इन्द्रगौडा सडक आयोजनाको अवस्था पनि उस्तै छ ।

सडक वारपार बनाउन लागिएका नाली तथा भित्ताहरू उठाउने कार्य भइरहँदा धुलोको मात्रा बढेको छ । साथै पिच नगरिएसम्म सडक अत्यन्तै धुलो हुने देखिएको छ । जसले गर्दा यात्रुहरु तथा सडक वारीपारी बसोबास गर्ने नागरिकको जनजीवनमा नकारात्मक असर परिरहेको छ ।

‘दिनभर धूलो आएर दिक्क बनाउँछ, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर भइरहेको छ’ मुसिकोट नगरपालिका ७ वामीका सिटी एक्सप्रेस मनि ट्रान्सफरका मेनेजर विष्णु चुँदालीले भने, ‘सडक पक्की गर्न भनेर निर्माण थालिएदेखि धुलोको मात्रा ह्वात्तै बढ्यो’ ।

बिष्णुजस्तै धुलोसँग सम्बन्धित समस्या नभोग्ने मानिस सायदै भेटिएलान् । वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको नियती हो । यस क्षेत्रका वासिन्दाले हिलो र धुलोबाट मुक्ति अझै सकेका छैनन् ।

धुलोकै कारण विभिन्न रोगहरु पाल्न बाध्य छन् गुल्मीवासी । धुलो छल्न मास्क, मफलर प्रयोग गरे पनि धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरू बताउँछन् । साथै धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेका छन् । ‘सवारी हाँक्दा चस्मा नलगाएसम्म हिँड्न सकिँदैन, आँखाभरी धुलोका कण गएर समस्या हुन्छ’– धेरै मोटरसाइकल चालकहरुको गुनासो यस्तै हुने गर्छ ।

स्वास्थ्यमा गम्भीर असर
वातावरण मन्त्रालयको तथ्यांक अनुसार धुवाँ र धूलोमा २.५ पीएमभन्दा साना कणहरु प्रत्यक्ष मानिसको फोक्सोमा पुग्ने गर्छ ।

विभिन्न अनुसन्धान अनुसार खाना नखाई मानिस तीन हप्तासम्म र पानी नपिई २–३ दिनसम्म बाँच्न सक्छ । तर, हावाबिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ ।

एउटा स्वस्थ मानिसले औसत प्रतिमिनेट ९२ पटकसम्म सास फेर्छ । त्यस क्रममा लगभग ६ लिटर अक्सिजन शरीरले ग्रहण गर्छ । हावा प्रदुषित बनेपछि मानिसले लिने अक्सिजनमा पनि प्रदुषण मिसिएको हुन्छ ।

प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको क्यान्सर चिकित्सकहरुले बताउँछन् ।

अक्सिजन नै प्रदुषित लिएपछि मानिसलाई हरेक प्रकारका रोग लाग्ने वामीमा मेडिकल ब्यवसाय गरीरहेका निरज भण्डारीले बताए । मासिनलाई सबैभन्दा बढी हावा, पानी र खाद्यान्नले रोग सिर्जना गर्ने उनले बताए ।

हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेक कण हुन्छन् । तीमध्ये केही धेरै हानिकारक हुन्छन् त केही सामान्य हानी गर्ने हुन्छन् ।

सडक निर्माणमा वातावरणीय असर नपुग्ने गरी काम गर्दा धुलो कम हुने बताइन्छ । सडकमा जथाभावी फोहोर नफाल्ने र नजलाउने हो भने पनि प्रदूषण कम हुने विश्वास गर्न सकिन्छ ।