(कविता) छालका पानाहरुमा –दाजु गुरुङ

(कविता) छालका पानाहरुमा –दाजु गुरुङ


सधैं—सधैं मैले हिँड्ने बाटाहरु
लमतन्न तन्किरहेको नीलो समुन्द्रसँग जम्का भेट हुनेगर्छ
अटेरी समुन्द्र निर्धक्क छ
र त निर्धक्क लम्पसार परेर सागर हेरिरहेछ ।

समुन्द्र, तिम्रो र मेरो सामिप्यता
र यो निरन्तर सहवासको प्रेम–कथा धेरै लामो छैन,
न त तिम्रो र मेरो आसक्त्तिताको कुनै इतिहास बनेकोछ
र पनि तिमीलाई आफूमा समाहित गरेको छु ।
अनि तिम्रो छालका पानाहरुमा
हाम्रो मिलनका यादगार रंगीन चित्रहरु छाँयाङ्कन गरेकोछु
र त हरेक दिन
हामीबीच एउटा सुखद संसर्ग अनिवार्य बनेकोछ,
सधैं—सधैं म छालका पानाहरुमा यो सुखद संर्सगको बिम्वहरु खोजिरहेछु ।
खोजिरहेछु, आफनै जिन्दगीका उकालीओरालीहरुका कथाहरु
रोजिरहेछु, छालका पानाहरुमा आफ्नै जिन्दगीका सुसेलीहरु ।

तिमीलार्इृ थाहा छ समुन्द्र–
हरेक दिनका मेरा यात्राहरुका शुभारम्भ
तिम्रै चीसा वालुवाहरुमा
पाइलाहरुका अक्षत नक्साहरुबाट हुन्छ
र त तिमीसँगको सामिप्यताको उष्णता
असिम सहवासको स्वर्णिम रसानुभूति वर्षौजस्तो लाग्छ ।
किनकि समुन्द्र
तिम्रो फैलावटमा,
तिम्रो उचाइमा
अनि तिम्रो गहिराइमा
मेरो हिमाल सधंैको सांक्षी छ
कोशी, गण्डकी कर्णाली पनि सांक्षी छ
सांक्षी छन् मेरा काली –गङ्गाहरु
र त तिमीभित्र मेरो गङ्गाहरु खोजिरहेछु ।
मैले तिमीमा मेरा गङ्गाहरु भेटिरहेछु
किनकि मभित्र पनि आशाहरु जिवित छन्
तृष्णाहरु जिवित छन्
र त तिमी भए पनि म मेरो सगरमाथा खोजिरेछु,
किनकि मेरो हिमालले तृष्णा मेट्छ
तिम्रो सागरले गला बिझ्छ
र त तिम्रो किनारमा उभिएर म
छालका पानाहरुमा हिमाल खोजिरहेछु ।

थाहा छ मलाई समुन्द्र,
सदियौ देखिको इतिहास तिमीले देखेकिछ्यौ
सबै—सबै इतिहासहरु छालका पानाहरुमा लपेटेकिछ्यौ
छालको एउटा खुल्ला दस्तावेज वनाएकिछ्यौ
र त हरेक क्षणका हावाको झाेंकाहरुसँग
छालका पानाहरु परिवर्तित भइरहेछ
समयका कथाहरुलाई समाहित गर्दै—गर्दै ।
यो पनि सबैलाई थाहा छ समुन्द्र
छालका पानाहरुमा इतिहास लेखिएका हुन्छन्
छालका पानाहरु इतिहासको भूतै—भूतैले भरिएका हुन्छन्,
र कहाली—लाग्दो मसानहरुले गाँजिएका हुन्छन् ।
तर म तिम्रो छालका पानाहरुमा
तिमी सँगको अतृप्त सहवासमा
दैनिकीको उष्ण–सामिप्यतामा
इतिहासको सौदाबाजी गरिरहेको छैन
बरु नयाँ इतिहासको शुरुवात गरिरहेछु
म त तिमीमा वर्तमान मागिरहेछु,
भविष्य खोजिरहेछु ।
किनकि तिम्रो फैलावटमा
उचाइमा
अनि गहिराइमा
मेरो हिमालको सांक्षी खोजिरहेछु,
मेरो वुद्धको वुद्धत्वको महाज्योति तिमीमा खोजिरहेछु
अनि सिङ्गो म हुनुको अर्थ खोजिरहेछु ।