आफ्नी पत्नीको मृत्युपश्चात् शोकमा पर्ने पुरुषको मृत्युको सम्भावना ३० प्रतिशतले बढ्ने एक अनुसन्धानले दर्शाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार श्रीमान्को मृत्युले श्रीमतीको जीवनमा भने कुनै फरक पर्दैन । अमेरिकाको रोसेस्टर इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले थाहा पाए कि श्रीमती गुमाएपछि पुरुषको मृत्युको सम्भावना सामान्यतया ३० प्रतिशतले बढ्न पुग्छ ।
‘द टेलिग्राफ’मा प्रकाशित विवरणअनुसार महिलामा भने पतिको मृत्युपछि पनि त्यस्तो सम्भावना रहँदैन र उनीहरू ज्यादा स्वतन्त्र एवम् जीवन जिउन थप तयार बन्न पुग्छन् । अनुसन्धानमा संलग्न प्रोफेसर जेभियर एस्पिनोसा भन्छन्, ‘जब पत्नी दिवङ्गत हुन्छिन्, यस्तो अवस्थाका लागि अक्सर पुरुष तयार रहेका हुँदैनन्, जसका कारण उसले आफ्नो हेरचाह गर्ने व्यक्ति गुमाउन पुग्छ र यसको सोझो असर शारीरिक तथा मानसिक स्वास्थ्यमा पुग्छ ।’
यस्तै असर महिलामा चाहिँ आफ्नो सन्तान गुमाउँदा पर्न सक्छ । ‘इकोनोमिक्स एन्ड ह्युमन बायोलोजी’ जर्नलमा प्रकाशित विवरणअनुसार आफ्नो बच्चा गुमाएकी महिलाको मृत्युको सम्भावना १३३ प्रतिशतले बढ्ने अनुसन्धानले देखाएको उनको कथन छ ।
‘लिभिङ टुगेदर’मा मोटाउँछन् महिला
सहजीवन (लिभिङ टुगेदर)मा बस्दै आएका महिलाहरू सावधान ! किनकि, एक नयाँ अध्ययनले यस्ता महिला ज्यादा मोटाउने र उनका पुरुष मित्रचाहिँ दुब्लाउने सम्भावना देखाएको छ ।
मल्टी भिटामिन बनाउने एक कम्पनी ‘सेन्ट्रम’द्वारा बेलायतमा सहजीवनमा रहेका एक हजार तीन सय पुरुष तथा महिलामाथि गरिएको अध्ययनका क्रममा लगभग एकतिहाई महिलाले आफ्ना पुरुष साथीसँग बस्न थालेपछि आफूले ज्यादा खाना खान सुरु गरेको र त्यसबाट आफ्नो तौल बेस्सरी बढेको बताए । सोही क्रममा पाइयो कि एकतिहाई पुरुष साविकको अवस्थाभन्दा दुब्लाएका थिए । उनीहरूले आफ्नो आहारमा कमी ल्याएको पाइयो । सहजीवनमा बस्ने युगलले खाना बनाउँदा र खाँदा बराबरी खाने गरेको र शारीरिक बनावटका आधारमा त्यसले पुरुषको शरिरमा भिटामिनको कमी भएको अध्ययनले देखायो । पोषणविज्ञ फियोना हन्टरका अनुसार पुरुषका लागि महिलाको तुलनामा बढ्ता भिटामिन ‘बी’ आवश्यक पर्छ, तर धेरै पुरुषलाई यसको ज्ञान नै हुँदैन ।
भुलक्कड हुनबाट बच्न कसरत
७० वर्षको उमेर पुगेपछि डिमेन्सिया अर्थात् बिर्सने रोगले सताउने चिन्ता जो–कसैमा हुन सक्छ । तर, आत्तिनुपर्दैन, व्यायाममार्फत भुलक्कड बिमारीबाट मुक्त हुन सकिने एक अनुसन्धानले देखाएको छ ।
बुढेसकालमा दिमाग तन्दुरुस्त राख्न दिमागी कसरत नै गर्नुपर्छ भन्ने जरुरी छैन, ७० वर्षको उमेरमा पनि दिनहुँ शारीरिक व्यायाम गरेर दिमाग दुरुस्त राख्न सकिन्छ । बेलायतमा अवकाशप्राप्त ६ सय ६८ बुर्जुगहरूमाथि तीन वर्षसम्म गरिएको अध्ययनबाट पत्ता लाग्यो कि उनीहरू शारीरिक रूपबाट क्रियाशील नै छन्, उनका दिमागमा कुनै किसिमको सङ्कुचन भएको छैन र उमेरले असर देखाउन सकेको छैन । दिमागी कसरत गर्नु, चेस खेल्नु, सामाजिक गतिविधिमा संलग्न रहनु अथवा आफ्ना मित्र तथा परिजनहरूसँग समय गुजार्नुजस्ता क्रियाकलापले दिमागको स्थिति ठीक राख्ने सवालमा कुनै अर्थ नराख्ने अध्ययनले देखायो ।
शोधकर्ताहरूले जब ७० वर्षका बूढाहरूको दिमागको सेतो भाग (दिमागको त्यो हिस्सा जसले पूरै खोपडीमा कुनै सन्देश पुर्याउने काम गर्छ) को अध्ययन गर्दा के पाए भने जो व्यक्ति लगातार शारीरिक रूपले क्रियाशील थिए तिनका दिमागमा कम क्षति पुगेको थियो । विशेषज्ञहरू मान्छन् कि बढ्दो उमेरमा दिमागको स्थिति कमजोर हुँदै जान्छ र भुल्ने या सोच्ने क्षमतामा कमी आउँछ । तर, शारीरिक व्यायाम गरेर ती लक्षणलाई कम गर्न सकिन्छ । बेलायतका प्रमुख शोधकर्ता साइमन भन्छन्, ‘यदि अधबैंसे उमेरदेखि नै व्यायाम सुरु गरेमा भुल्ने बिमारीबाट सजिलै बच्न सकिन्छ ।’
मोटा किशोरमा नपुङ्सकताको सम्भावना
नपुङ्सकताको कारण के–के हुनसक्छ भन्ने प्रश्नमा वैज्ञानिकहरूले धेरै अघिदेखि शोध–अनुसन्धान गर्दै आइरहेका छन् । विभिन्न कारण पुरुष नपुङ्सकताका लागि जिम्मेवार देखिएका छन् । यसमा अब एउटा नयाँ लक्षण कारणका रूपमा जोडिन पुगेको छ– किशोरावस्थामा मोटोपनको सिकार हुनु ।
भारतीय मूलका एक शोधकर्ता डा. परेश दानदोनाको नेतृत्वमा हालै गरिएको शोधले यो देखाएको हो । मोटोपनको सिकार भएको केटामा पातलो शरीरको केटाको तुलनामा शरीरमा ५० प्रतिशत कम टेस्टोस्टेरोनको मात्रा हुन्छ, जसले गर्दा पछि गएर मोटो युवकले नपुङ्सकताको सामना गर्नुपर्ने अवस्था आइपर्न सक्छ ।
अमेरिकाको युनिभर्सिटी अफ बफेलोमा भएको उक्त शोधबारे अवगत गराउँदै डा. दानदोनाले भने, ‘हामी मोटा किशोरहरूमा टेस्टोस्टेरोन हार्मोन ५० प्रतिशतले कमी भएको देखेर हैरान भएका छौँ, यसरी युवा उमेरका मधुमेहका समस्या पनि नरहेका पुरुषमा यस्तो हुनु पुङ्सत्वको सवालमा गम्भीर कुरा हो ।’ क्लिनिकल एन्डोक्रायनोलोजी जर्नलमा प्रकाशित रिपोर्टमा मोटोपनबाट बच्न जरुरी रहेको चेतावनी पनि दिइएको छ ।
अब कार पनि रकेटको गतिमा
कार पनि रकेटको गतिमा गुड्छ भन्दा पत्यार नलाग्ला । तर, बेलायती इन्जिनियरलाई रकेटको रफ्तारमा चल्ने कार निर्माणमा सफलता मिलेको छ । बीबीसीका अनुसार बेलायतका इन्जिनियरले रकेटको वेगमा चल्ने हाइब्रिड कारको निर्माणमा सफलता पाएका छन् । रकेटको गतिमा चल्ने ब्लडहोन्ड सुपर सोनिक कारको लम्बाइ ४२ फिट लामो छ भने यसको गति प्रतिघन्टा एक हजार ६ सय १० किलोमिटर छ । यो कारमा युरो फाइटरको टाइफुन जेटको इन्जिन राखिएको छ र कारमा रकेट पनि जोडिएको छ । कारमा फर्मुला वान इन्जिन प्रयोग गरिएको हो ।
एजेन्सीहरूका अनुसार ब्लडहोन्ड सुपर सोनिक कारको परीक्षण सफल भइसकेको छ । पहिलोपटक हाइब्रिड कारको फाइरिङ टेस्ट भएको थियो । फर्मुला वानको इन्जिन तताउन कठिन काम थियो । यो कार सन् २०१४ भित्र बजारमा आउने बताइएको छ भने कार बजारमा आउनुअघि धेरै परीक्षण गर्नुपर्ने सम्बन्धित इन्जिनियरहरूको कथन छ । स्टिल र अल्मुनियमबाट बनाइने कार निर्माण गर्न पाँच कम्पनी लागिरहेका छन् । कार एक टनबराबरको हुनेछ ।
प्रतिक्रिया