म बिहान आपू बस्ने बुढानीलकण्ठबाट नार्कोनन् संस्था रहेको हात्तीगौंडातर्फ पैदल आउँदै थिएँ । हात्तीगौंडा पुग्नुनजिक त्यहाँ विष्णुुमती नदीको एक सानो धार यही बाटो हुँदै बग्ने गर्दछ । खहरेजस्तो त्यो खोलानजिक पहिला बस्ती थिएन तर आजभोलि त्यहाँ केही गरिब व्यक्तिहरूले गाई पाल्ने, माछा पाल्ने गर्न थालेका छन् । मैले देख्दादेख्दै त्यहाँ परिवर्तन आइरहेको थियो । सिमजस्तो पानि उम्रिरहने ठाउँ भएकोले कसैले त्यहाँ तीन–चारवटा पोखरी खने र माछा पनि पाल्न थाले । हामीले सिङ्गे माछा भन्ने गरेको माछा त्यहाँ पालिएका रहेछन् र ती माछा करिब तीन महिनामै दुई किलोसम्मको भई बेच्न मिल्ने रहेछ । केटाकेटीमा खोलामा माछा मार्दा सानासाना सिङ्गे माछाले सिङजस्तो सुइरोले हान्दा मेरो औंलाबाट रगत बग्ने मात्र होइन ज्वरो नै आउलाजस्तो हुन्थ्यो । यही जातका राता चिप्ला कत्ला नहुने तर खोलाको भन्दा धेरै ठूलो हुने सिङ्गे माछा ती तीनवटा पोखरीमा हालिएका रहेछन् ।
जब म कहिलेकाहीँ त्यो बाटो हुँदै मर्निङवाक गर्थें, गोरेटो बाटोको बायाँमा करिब एक आनाजति क्षेत्रफलको एक पोखरी र दायाँमा दुईवटा पोखरी पर्दथे । पोखरीमा बढी पानी भयो भने बाँसको डुँडबाट पानी बाहिर जाने व्यवस्था मिलाइएको थियो । अरू बेलामा त्यहाँबाट माछा बाहिर नजाओस् भनेर डँुडको मुखमा फलामको जाली कोचिएको हुँदोरहेछ । सदाझैँ त्यस दिन पनि मर्निङवाकमा त्यही बाटो हुँदै हात्तीगौंडातर्फ आउँदा त्यस दिन मैले त्यहाँ एउटा फरक दृश्य देखेँ । बायाँपट्टिको पोखरीको डिलमा एक महिला डुनोट–पाउरोटी भाँच्दै आप्mनो पोखरीमा फाल्दै थिइन् र आफू पनि बर्बराउँदै खाँदै थिइन् । उनी निक्कै आवेशमा देखिन्थिन् र फतफताउँदै छिटो–छिटो सेलरोटी आकारका डुनोट भाँच्दै पोखरीमा फाल्ने र आफू पनि त्यत्तिकै मात्रामा खाँदै थिइन् । मैले बाटाको दायाँपट्टि हेरेँ जहाँ एक करिब तीस वर्षका युवक गम्भीर भएर फतफताउने महिलाको स्वर सुनेर पनि थाहा नपाएझैँ गरी अर्को पोखरीको डिलमा बसिरहेका थिए ।
मलाई बुभ्mन गाह्रो भएन कि स्थिति केही गम्भीर छ, मैले खुबै रिसाइरहेकी महिलालाई अडिकनै सोधेँ, ‘बहिनी के पर्यो यस्तो ?’ मेरो प्रश्न सुन्नेबित्तिकै उनि आँखाभरि आँसु पार्दै आक्रोशपूर्ण आवाजमा झन् जोडजोडले कराउँदै सुनाउन थालिन्, ‘हेर्नुस् न यस्तो पनि गर्न हुन्छ ? म माछालाई डुनोट किन्न गएको बेलामा पापीहरूले मेरो बाँसको डुँडको जाली हटाई धेरै माछाहरू बाहिर निकालेछन् र त्यसलाई ट्याप्पट्याप्प समात्दै उता आप्mनो पोखरीमा हालेछन् ।’ उनी चित्त दुखाउँदै कराउँदै थिइन् । उनले भनिन्, ‘बुलाकी बेचेर जमिन भाडामा लिइयो, माछा पनि किनियो, दाना खुवाइयो, तर बेच्ने बेलामा यसरी चोरिदिएपछि हाम्ले के खाने ?’ उनी नजानिँदो रूपले रोइन् पनि । पारिपट्टि त्यही दुई पोखरीमात्र थिए । त्यहाँ कट्टु लगाएर चुपचाप बसेका युवकले नै त्यसो गरेको हुनुपर्छ भनेर सहजै अनुमान पनि गर्न सकिन्थ्यो । मैले ती युवकलाई सोधेँ, ‘ए भाइ, तपाईंले त्यस्तो गर्नुभएको भए माछा फर्काइदिनुहोस् । माछा हुर्काउन उहाँलाई पनि तपाईंको जस्तै मिहिनेत गर्नुपरेको छ नि उ’ मेरो कुरामा ती युवकले खासै ध्यान दिएनन् र केवल आप्mनो पोखरीतर्फ झार उखाल्दै गरे । मैले पुनः सोधेँ, त्यसपछि उनले मलाई हेर्दै नहेरी भने, ‘त्यसको माछा मैले लिएको छैन । खोलातिर गयो होला ।’ ती युवकको जवाफले महिला झन् आक्रोसित बनिन् र झन् फतफताउन थालिन् । मैले छुट्टिने बेलामा ती महिलालाई सोधेँ, ‘उसले नै तपाँईंको माछा झिके भन्ने कुरा तपाईंले कसरी थाहा पाउनुभयो ?’ उनले त्यही पोखरीनजिक घर देखाउँदै भनिन्,’ ‘ऊ त्यहाँकी दिदीले सब देख्नुभएछ । झन्डै बीसवटा माछाहरू यसले टप्पटप्प टिप्यो रे ।’
म त्यहाँबाट छुट्टिएँ । एक मात्र सानो माछापोखरी भएकी ती गरिब महिलालाई अर्को दुई पोखरीवालाले लुटेको यथार्थ मेरा लागि पनि पीडादायी बन्यो । त्यहाँबाट मलाई पैदल केही उकालो चढी हात्तीगौंडाको डिलमा उक्लनु थियो । म उकालो उक्लँदै सोच्न थाले हामी नेपाली दिन प्रतिदिन किन यति धेरै अनैतिक हुँदै गइरहेका छौँ ? पैसा, पद, अवसर प्राप्तिका लागि किन हामी तल्लोभन्दा तल्लो स्तरसम्म आप्mना नैतिकता गिराउँदै छाँै ? किन हामी व्यक्तिगत स्वार्थ पूर्तिका लागि अरूलाई क्षति पुर्याउनेजस्तो निच काम गर्न तयार हुँदै छाँै ? ती माछा पाल्नेहरूले राम्ररी एक–अर्काका गरिबी बुझेका थिए । अझ भन्ने हो भने यो संसारमा तिनीहरू एक–अर्कालाई नजिकैबाट बुभ्mने गरिब छिमेकीहरू पनि थिए । फेरि त्यही बुभ्mने एउटा गरिबले अर्को गरिबको शोषण किन गर्यो होला ? मैले यी प्रश्नहरूको उत्तर खोज्दाखोज्दै कतिबेला उकालो चढिसकेछु र हात्तीगौंडाको डिलमा पुगिसकेछु त्यो चाल पनि पाइनँ ।
कुनै पनि घरपरिवार, समाज, उद्योग, व्यवसाय, कृषि राजनीति वा अरू कुनै क्षेत्रको सफलताको आधार नैतिकतामा आधारित हुन्छ । नैतिकताका सीमा उल्लङ्घन गर्नेबित्तिकै झैझगडा, युद्ध, अशान्ति, अपराध जन्मन्छ । यही नैतिकताका सीमाभित्र मानिसलाई बाँध्नकै लागि धार्मिक ग्रन्थ, परम्परा, संस्कृति, नियम, कानुन, दिग्दर्शनहरू मानिसद्वारा नै बनाइएका छन् । नैतिकताका सीमा उल्लङ्घन गर्दा अरूको जिउ, धन र स्वतन्त्रतामा असर पर्छ भनेर नै प्रहरी, अदालत, जेल राखी दण्डसजायको व्यवस्थासमेत मिलाइएको छ । तर, मानिसहरूलाई सभ्य समाजमा बस्न सक्ने बनाउन जुन स्तरको नैतिकताको आवश्यकता पर्दछ त्यो आजका दिनमा कसले सिकाउँछ ? कहाँ सिक्न पाइन्छ ? वा यो सिकाउने निकाय मन्त्रालय कुन हो ? म त्यो व्यक्ति संस्था, इकाइ वा मन्त्रालयको खोजी रहेको छु । त्यो माछा चोर्ने युवकलाई आफूले गरेको काममा पश्चात्ताप छैन । डन वा गुण्डाहरूलाई अरूलाई तर्साई मानसिक यातना दिई पैसा असुलेकोमा पनि कुनै पश्चात्ताप छैन । आप्mनै लागि ज्यानको बलि दिई लड्ने लडाकुहरू बढी सङ्ख्यामा देखाई यस देशका दुई छाक खान नपाउने गरिब नेपालीले तिरेका करबाट जम्मा भएका विकास निर्माणमा खर्च हुनुपर्ने राष्ट्रिय कोष हिनामिना गर्दा पनि राजनीतिक प्राणीहरूलाई कुनै पछुतो छैन । फाइल अड्काएर पैसा पाएपछि मात्र काम गरिदिने कर्मचारीलाई सेवाग्राहीले पाएको पीडाप्रति कुनै पछुतो छैन । नियमित पैसा बुझाइरहेको छ भने, रण्डीबाजी गराइरहेको वा जुवा खेलाइरहेको व्यक्तिले समाजलाई दिएको पीडामाथि कानुन कार्यान्वयन इकाईलाई कुनै चासो छैन । पैसा जसले दिन्छ त्यसैलाई नियमै मिची पदोन्नति दिने मन्त्रीलाई त्यहाँबाट कर्मचारीतन्त्रमा पर्ने असरको कुनै पर्वाह छैन । व्यापारी मिसावट गर्न सक्दछन् । सूर्यनाथजस्ता पापिष्ट अख्तियार प्रमुखहरू निर्दोषहरूलाई झुट्टा मुद्दा दर्ता गरी तिनका जागिर अनाहकमा खाएर चर्चित हुन पत्रपत्रिकामा आप्mना गुणगान गाउन लगाउन सक्दछन् । प्रजातन्त्र एकैदिनमा खत्तम गर्ने राजा र संसद् एकै भाषणमा खत्तम गर्ने प्रधानमन्त्रीहरूलाई पनि यसबाट देशको अर्थतन्त्र र शान्ति सुरक्षामा कति ठूलो नकारात्मक असर पर्दछ भन्ने कुनै जिम्मेवारीबोध छैन । चोरलाई अरूको धेरै सम्पत्ति चोर्न पाएकोमा गौरव छ अपहरणकारीले आफूलाई नायक सम्झँदै छन् । यी सबै नैतिकताका उल्लङ्घन त हुन् नि । एउटाले अर्काको जग्गाको माछा कुनियतवश खाइदियो भन्नु र माओवादी उच्च नेताहरूले आप्mनै पार्टीका गरिब लडाकुहरूको रकम हिनामिना गरेछन् भन्नुमा के नै फरक छ र ? आखिर दुवैको उद्देश्य एउटै त देखिन्छ नि नसोधी सहमति नलिई अरूको सम्पत्ति हडपिदिने । फरक यति न हो जसले जे पाए तिनले त्यही हडपे । एउटाले माछा पाए त्यही हडपे अर्कोले राज्यकोष पाए त्यही हडपे ।
जापानमा एउटा कहावत छ रे सके अरूलाई भलो गर नसके उनीहरूको बिगारचाहिँ नगर । नेपालमा अहिले क्रमशः बहुसङ्ख्यक मानिसको धारणा यस्तो देखिन्छ– ‘अरूको भलो त गर्दै नगर बरु आप्mनो भलो हुन्छ भने अरूलाई बर्बाद गर ।’ यदि हाम्रो देशमा सके अरूलाई भलो गर भन्ने धारणा भएको भए त त्यो पोखरीबाट माछा निस्केको देख्नेबित्तिकै अर्को व्यक्तिले समातेर ती महिलाकै पोखरीमा हाल्नुपथ्र्यो होइन र ? वा तत्कालै बाँसको डँुडमा केही अड्काई माछा बाहिर जान दिनुहुन्थेन होइन र ? तर, यहाँ के देखियो भने त्यसो गर्नु त कहाँ हो कहाँ बरु त्यही मौका छोपेर उनले आप्mनो पोखरीमा माछा बढाए ।
आज सबैले यो मुलुकमा अरूको खराब दिनमा मेरो राम्रो दिन हुन्छ भनेर विश्वास लिन थालेको देखिन्छ । प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मले षडयन्त्र गरेर पद जोगिने भए षडयन्त्र गर्न, झुटो बोल्न, अनैतिक काम गर्न, हिच्किचाएको देखिएन । मुख्यसचिवदेखि पियनसम्मले एक तह पदोन्नति वा राम्रो सरुवाका लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि परेको देखिएन । संवैधानिक पद प्राप्तिका लागि पार्टीको काम गर्न र पैसाको थैली बुझाउन हिच्किचाएको देखिएन । अड्डा–अदालतसमेत आर्थिक प्रभावमा परी निर्णय दिने वा शक्तिकेन्द्र र बाहिरी हावा हेरेर फैसला गर्ने आरोप लाग्दा पनि नैतिकताका आधारमा आत्मालोचना गरेको देखिएन । जसले न्याय दिनुपर्ने हो, जसले जनप्रतिनिधि भएर गरिब जनताको जीवनस्तर माथि उठाउनुपर्ने हो, जसले मानवअधिकारको सुरक्षा गर्नुपर्ने हो, जसले सुशासन र सुरक्षा दिनुपर्ने हो तिनले नै नैतिकताको सीमा उल्लङ्घन गर्न थालेपछि यहाँका डन, अपराधी, गुण्डा, फटाहाहरूलाई के नै गाली गर्न मिल्ला र तिनले त बरु म यो देशको न्यायकर्ता वा संरक्षक भनेका त छैनन् ।
वास्तवमै हाम्रो समाजका हामी सदस्यहरू आज माथिबाट तलैसम्म क्रमशः अनैतिक हँुदै जाँदै छौँ । त्यसैभित्र म पनि बाँचेको छु । क्रमशः हामीहरूलाई अनैतिक काम गरेरै भए पनि व्यक्तिगत स्वार्थ पूरा गरे हुन्छ भन्ने गहिरो विश्वास बस्दै गएको छ । त्यसैले हो आज समाजमा फटाइँद्वारा फाइदा दिलाउने दलालहरू, पत्रकार, समाजसेवी वा राजनीतिक व्यक्तिकोे खोल ओढेर कर्मचारीहरूको सरुवा, बढुवा गराउन र अड्डा–अदालतबाट कसैलाई सफाइ दिलाउन सक्रिय र सफल भएका छन् । यस्ता दलालहरूको पेसा खुब फल्दोफुल्दो छ । तर, यथार्थ यही हो कि नैतिकताको जगमा नउभिएसम्म यो मुलुकको भविष्य बन्दैन र त्यो नैतिकता सिकाउने मन्त्रालय कुन हो पङ्क्तिकारलाई थाहा भएन ।
प्रतिक्रिया