आधादर्जन गाउँको वनमा निलगाईको हुल

आधादर्जन गाउँको वनमा निलगाईको हुल


महोत्तरीको दक्षिण पश्चिम सीमावर्ती ‘आधादर्जन’ गाउँमा एकसाथ सयभन्दा बढी निलगाई फेला परेको छ । भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँहरुमा सय भन्दा बढीको संख्यामा दुर्लभ वन्यजन्तु निलगाई देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीयले यसअघि कहिले नदेखिएको गाईजस्तो देखिने तर निलो रङको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि तिनलाई हेर्न स्थानीयवासीको ओइरो लागेको राससले जनाएको छ। यसरी देखापरेका निलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलकाहुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाने तथा नष्ट पारिदिने गरेको बताइएको छ।

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वन नजिकको सबै बालीनाली नष्ट गर्न लागिपरेको छ । करिब एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँको बालीनाली नष्ट पारिरहेका छन् । जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा पानीको स्रोतको अभाव, डढेलो र चोरी शिकारीजस्ता क्रियाकलाले तीव्रता पाएको कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीको आशंका छ ।