नेपालको राज्य संयन्त्रअन्तर्गतका कुनै पनि निकायहरू विपत्ति आइपर्दा काम लाग्दैनन् भन्ने कुराको पुनः एकपटक पुष्टि भएको छ । गत सोमबार (फागुन २८ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्लादेशको विमान दुर्घटनाका क्रममा विमानस्थल व्यवस्थापनको ‘काम’जस्तो देखियो, त्यसलाई निकम्मापन र गैरजिम्मेवारीको ‘नमुना घटना’ मानिएको छ । अवतरणका क्रममा रन वेबाट चिप्लिएर बाहिर पुगेको विमानमा आगलागी शुरु भएको केहीबेरमा वरिपरिका बासिन्दा पुगेका थिए । उनीहरूबाट आगो लाग्दै गरेको विमानलाई हेर्नेबाहेक उद्धारको कुनै पहल भएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै छेउमा विमान दुर्घटना भएर आगलागी भइरहँदा त्यहाँ रमितेहरू पुगे पनि धेरै बेरसम्म सरकारी उपस्थिति भएन । विमानको आधा भाग जलिसकेपछि नेपाली सेनाको टोली त्यहाँ पुगेको र विमानस्थल परिसरमै ‘सजाएर’ राखिएको बारुणयन्त्र (दमकल) सेना पुगेको दश मिनेटभन्दा लामो समयपछि मात्र घटनास्थलमा पुगेको थियो । यदि समयमै बारुणयन्त्र पुगेको भए अग्नि नियन्त्रणमा आउन सक्ने र मानवीय क्षति कम हुन सक्ने अवस्था रहेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।
सोमबार विमानस्थलमा भएको दुर्घटनामा परेका चालक दलका चार सदस्यसहित एकहत्तरजनामध्ये ४९ जनाको मंगलबारसम्ममा निधन भइसकेको छ ।
विमानमा वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापालगायत बंगलादेशमा चिकित्सा विषय अध्ययन गरेर फर्किएका विद्यार्थीसमेत थिए । बंगलादेशका एक पत्रकार र हनिमुन मनाउन आएको जोडीसमेत दुर्घटनामा परेको छ ।
चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत डा. बालकृष्ण थापा बंगलादेशबाट एमडी गरेर फर्किएपछि राजधानीबाहिरलाई आफ्नो कार्यस्थल बनाउने प्रतिबद्धताअनुरूप चितवनमा कार्यरत हुनुहुन्थ्यो । उहाँ बंगलादेशका केही अस्पतालमा विशेषज्ञका रूपमा बिरामीको उपचार गर्न जाने गर्नुहुन्थ्यो । नेपालमा मात्र नभएर डा. थापालाई देखाइरहेका बिरामीहरूको सङ्ख्या बंगलादेशलगायतका केही अन्य मुलुकमा पनि छन् । नशाका रोगीहरूबीच डा. थापा पहिलो रोजाइमा पर्नुहुन्थ्यो । ब्रेन ट्युमर अप्रेसनमा विशेष दखल भएका डाक्टरका रूपमा परिचित उहाँले विश्वभरिका ब्रेन ट्युमरका बिरामीलाई नेपालमा उपचार गराउने सपना देख्नुभएको थियो । जसको तयारी शुरु पनि भएको थियो ।
उहाँको भनाइ थियो, अहिले आँखाको उपचारका लागि जसरी नेपाल प्रसिद्ध छ, त्यसैगरी ब्रेन ट्युमरको अप्रेसनका लागि पनि प्रसिद्ध हुनेछ । तर, डा. थापाको यो सपनाले साकार रूप लिन नपाउँदै जहाज दुर्घटनामा परी उहाँ संसार छोडेर जानुभयो । डा. थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । दुवै सन्तान अस्ट्रेलियामा बस्ने हुँदा उनीहरू आएपछि मात्रै दाहसंस्कारको प्रक्रिया सुरु गरिने पारिवारिक स्रोतले जनाएको छ ।
हामी सधैँ सम्झिरहनेछौँ
तिमी यस घटना र विचार परिवारको शुभचिन्तक मात्र थिएनौ, परिवारकै एक महत्वपूर्ण सदस्यका रूपमा हामीले मानेको र तिमीले स्वीकारेका थियौ । हालै घटना र विचारको कार्यालय सर्ने क्रममा तिमीले वास्तुसमेत हेरेर सुझाउन भ्याएका थियौँ । बंगलादेशबाट फर्किएपछि घटना र विचारको नयाँ कार्यालयमा लामो समय बसेर देश चिन्तन गर्ने वाचा गरेर गएका हौ । तर, अब तिमी कहिल्यै नफर्किने गरी बिदा भएका छौ । तथापि हामीले बिदाइ स्वीकार गर्न सकिरहेका छैनौँ । हामी सधैँ सम्झिरहनेछौँ । सधैँ–सधैँ सम्झिरहनेछौँ ।
घटना र विचार परिवार
प्रतिक्रिया