पाल्पाका पत्रकार न्यौपानेको निधन

पाल्पाका पत्रकार न्यौपानेको निधन


नेपाल पत्रकार महासंघ, पाल्पाका कार्यसमिति सदस्य तथा रेडियो मुक्तिनाथमा कार्यरत पत्रकार चूरामणि न्यौपानेको निधन भएको छ ।

मुटुको बिरामी भएर काठमाडौँमा उपचारका क्रममा मंगलवार साँझ ३९ वर्षको उमेरमा उनको निधन भएको हो । न्यौपानेको पार्थिव शरीरलाई बुधबार राम्दीमा दाहसंस्कार गरियो ।

न्यौपानेको दुःखद् निधनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार शोकसभा गर्नुका साथै दिनभर कार्यालय बन्द गरी कामकाज स्थगित गरेको थियो ।

रेडियो मुक्तिनाथमा स्थापनाकालदेखि काम गर्दै आएका न्यौपाने प्रेस चौतारी नेपाल, पाल्पा शाखाका सहसचिव, प्रधानमन्त्री कृषि परियोजना जोन प्राविधिकसमेत रहेका थिए ।

सोमबार बिहान एक्कासि छाती तथा पेट दुखेर आत्तिएपछि बिहान १० बजे लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि उनलाई मनमोहन कार्डियोलोजी अस्पताल, काठमाडौँ लगिएको थियो । छ घण्टा लामो समय लगाएर शल्यक्रिया गरिएपनि मुटुभित्र फुटेका कारण न्यौपानेको मुत्यु भएको हो ।

तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही, प्रेस सेनानी मेघराज शर्मा, नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, नेकपा (एमाले)का पूर्व केन्द्रीय लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरेलगायतले अल्पायुमै एउटा कुशल पत्रकारको निधनले मर्माहत बनाएको बताए ।