फूल र मान्छे– मोतीराज बम

फूल र मान्छे– मोतीराज बम


मेरो बैंस फक्रनुअघि
मेरा रहर पलाउनुअघि
मलाई चुँड, मलाई भाँच, लछार
र थुँगा बनाएर शिरमा लगाऊ
माला उनेर गलामा लगाऊ
मेरो धर्म
सौन्दर्य दिनु हो दिन्छु
सुवास छर्नु हो छर्छु
मलाई थाहा छ
मान्छेहरू
थुतेर मेरो सौन्दर्य
खोसेर मेरो सुवास
चुँडालेर पत्रपत्र
कामना गर्छन् चिरायुको
प्रार्थना गर्छन् दीर्घायुको
म हाँसुन्जेलसम्म हाँस्ने मान्छेहरू
म रुँदा पनि हाँसिरहन्छन्
म ओइलाउँदा पनि हाँसिरहन्छन्
म बिलाउँदा पनि हाँसिरहन्छन्
थाहा छैन
मन्दिरमा, मलाई चढाउँछन् कि
मेरो लासलाई
पूजामा, मलाई पुज्छन् कि
मेरो सुवासलाई
म फूल हुँ, तिमी मान्छे
मलाई तिम्रो लासमा चढाऊ
म फूल नै हुँ
मलाई मन्दिरमा चढाऊ
म फूल नै हुँ
मसँग परिवर्तनको अर्को कुनै
रसायन छैन
यदि म मान्छे भएको भए तिमीलाई
मेरो गला तिमीलाई नै
चढाउने थिए
मेरो शिर तिमीलाई नै सुम्पने थिए
तिम्रो सुवास तिम्रो सौन्दर्य
तिम्रो अस्तित्व, तिम्रो कौमार्य
मेरो स्वाभिमान ठानेर
मेरो देश र मेरो माटो ठानेर
युगौँयुग पे्रम गर्ने थिए
जनताले
छातीमा सजाउने थिए ।
– राम्नाकोट–५, कालिकोट