धतुरो रोपेर सुन्तला फल्दैन

धतुरो रोपेर सुन्तला फल्दैन


नायिका रेखा थापाको तिघ्राजस्तो सुकोमल प्रचण्डको गालामा चट्टानजस्तो पदम कुँवरको मुक्का बजे्रको छ । भनिन्छ जस्तो बिउ रोपियो फल पनि त्यस्तै फल्दछ । धतुरो रोपेर सुन्तला फल्दैन । आखिर प्रचण्डको हकमा पनि यही कुरा लागू भयो । उनले जहिले पनि मानिस–मानिसलाई मिल्न होइन जुध्न सिकाए, बचाउन होइन मार्न सिकाए, सुख दिन होइन दु:ख दिन सिकाए, विवेक होइन आवेग सिकाए, शान्ति होइन अशान्ति सिकाए । फलस्वरूप एक दिन यस्तो आयो– आफैंले आफ्नै चेलाबाट झापड खानुपर्‍यो । वर्तमान नेपालको राजनीतिमा प्रचण्डले झापड खानु केवल एउटा प्रचण्डमा मात्र सीमित रहेकोे शिक्षा हुन सक्दैन । यो प्रतीकात्मक झापड हो जो प्रत्येक नेताका लागि समान छ । यो झापडले नेता हुँ भन्ने जोकोहीलाई आइन्दा ढाँटछलको राजनीति नगर भन्ने सन्देश दिइराखेको छ ।
वर्तमानकै क्रियाकलाप जारी रहने हो भने नेता भनाउँदा जुनसुकै दलकाले पनि जनताको भौतिक आक्रमणको एक या अनेक प्रकारले सामना गरिरहनुपर्नेछ । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले पदम कुँवरलाई आपराधिक तत्व भनेका छन् । यस्तै हो भने भोलि तीन करोड नेपाली जनता नेतामाथि जाइलाग्ने छन् । के तीन करोड नेपाली जनता अपराधी हुन् ? दुनियाँमा सर्वाधिक बुद्धि, विवेक, चेतना र सहनशीलता भएका नेपाली जनता हुन् । नेपाली भनेका कसैले उचालेर उचालिने र कसैले थचारेर थचारिने जात होइन । दशकौँ राजनीति गरेर जुँगा र कपाल फुलाएको दाबी गर्ने नेताले यति पनि नबुझ्नु दुर्भाग्य हो । आजको परिवेशमा विविध कारणले नेपाली जनता विश्वकै सर्वाधिक संवेदनशील स्थानमा छन् र विश्वकै सर्वाधिक शक्तिशाली पनि छन् । एक्लाएक्लै पनि नेपाली जनता अत्याचारविरुद्ध विश्वसँग लड्ने क्षमता राख्छन् । हातहतियार, गोली, बम, रकेट, क्षेप्यास्त्रसँग नेपाली जनता डराउँदैनन् । साम्राज्यवादको जासुसी र विस्तारवादको हस्तक्षेपसँग पनि नेपाली जनता रत्तिभर आत्तिँदैनन् । तर, बुझ्नेले बुझ्नुपर्छ– परिवर्तन भनेर मात्र हुँदैन तर परिवर्तन हाम्रो पक्षमा छ कि छैन भन्ने सवाल महत्वपूर्ण हो ।
आजभोलि हाम्रा देशका नेताहरू चर्कोचर्को स्वरमा आर्थिक, सामाजिक, रूपान्तरण, आमूल परिवर्तन, उपलब्धिका भाषण छाँट्छन् । तर, हुनु, खानु, पाउनु केही पनि छैन । जति फाइदा भएको छ त्यो दल र तिनका नेतालाई मात्र भएको छ । नेतालाई क्षति भयो भने प्रतिगमनकारीले भन्ने गर्दछन् । प्रचण्डले बाग्लुङे झापड खाँदा गणतन्त्रविरोधीको काम भनिँदै छ । के प्रचण्डले एक झापड खाँदैमा गणतन्त्र समाप्त भयो । यदि हो भने यस्तो कमजोर गणतन्त्र हामीलाई किन चाहियो ? वास्तवमै भन्ने हो भने नेपालको गणतन्त्र, धर्मनिरपेक्ष र सङ्घीयता नेपाली जनतालाई धोका दिएर ल्याइएको हो । जनताले उग्र विरोध नगरेकाले मात्र नेताहरूले यिनलाई महान् उपलब्धि भनेर आँखामा धुलो छ्यापिरहेका छन् । किसुनजीले नेपाली जनतालाई ०४७ को संविधान ब्युँताऊ भन्ने सल्लाह–सुझाव दिएर गएका छन् । तर, आज हुल्याहा र अल्पदर्शी नेताहरूको फन्दामा नेपाली जनता परेका छन् जसले मुलुकलाई भीरको चिचिन्डो बनाएको छ ।
नेपालको सङ्कट समाधान पार्ने हो र नेताहरू फेरि एकपटक जनताको हृदयमा अटाउन चाहने हो भने अब ०४७ को संविधान जस्ताको तस्तै ब्युँताउनुपर्छ । सहमति वीरबलको खिचडी भएकोले अब राजतन्त्र पुनस्र्थापना गर्नुपर्छ । अहिले नेपाली जनता रानो हटाएको मौरीको हुलजस्तै भएका छन् । राजा राम्रो या नराम्रो भन्ने हुँदैन त्यो मुलुकको अस्तित्वसँग जोडिएको विषय हो । हो, हामीलाई निरङ्कुश राजतन्त्र कहिल्यै पनि चाहिँदैन तर प्रजातान्त्रिक राजसंस्था रहेमा नेपाल फेरि अग्रगमनतिर जान सक्नेछ । अहिले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता सबै नेताहरूको मागीखाने भाँडोजस्तै भएको छ । चेतनशील नेपाली जनतालाई थाहा छ कि यी हाम्रा उपलब्धि होइनन् । यिनले मुलुकलाई समाप्त पार्नेछन् । त्यसैले जनताको सुझाव र सल्लाहमा नेता र दलहरू हिँडून् । नयाँ नेपालको नाम अफगानिस्तान र इराक वा सिरिया हामीले चाहेका होइनौँ । एक–एक गरी जनताको थप्पड खाँदै गरेका हाम्रा नेताले बुझून् अब आइन्दा कपट र अहङ्कारको राजनीतिक अङ्गीकार नगर । मङ्सिर ७ मा बाबुरामले पद छोडिदेऊ र जनतामा जाऊ । त्यसपछि के गर्ने जनताले निर्देशन अवश्य दिनेछन् ।