जीवित–मृतक सङ्घकै आवश्यकता परेको त होइन ?

जीवित–मृतक सङ्घकै आवश्यकता परेको त होइन ?


भारतको उत्तर प्रदेशमा श्यामलाल नामक एक गरिब किसान एउटा दुर्घटनामा परेछन् । श्यामलाल त्यस दुर्घटनामा मरेका थिएनन् तर खुट्टा भाँच्चिएका कारण अपाङ्ग बनेर वैशाखीको सहारा लिएर हिँड्नुपर्ने अवस्था भने आएको रहेछ । तर, उनी दुर्घटनामा परेको मौका पारेर उनका सहोदर काकाले सो दुर्घटनामा मृत्यु भएको भन्ने व्यहोराको सरकारी कागज तयार गरी भतिजा श्यामलालको सम्पूर्ण जमिन हडपेछन् ।
चतुर काकाले गाउँका पञ्च, प्रहरी इन्चार्ज (जो उनका आफन्त थिए) र सम्बन्धित सरकारी कर्मचारी मिलाएर आफ्ना भतिजालाई कागजी रूपमा मारिदिएपछि श्यामलाल आफ्ना नाबालक बच्चा र श्रीमतीसहित बेघरबार बन्न पुगे । धेरै पछिसम्म काकाले कागजमा आफूलाई मारेको थाहा नपाई श्यामलालले उल्टै ठूलो सहरमा दु:ख गरी उनै दुष्ट काकालाई आफ्नो कमाइ पठाउँदै थिए । जब यथार्थ थाहा भयो, त्यसपछि चतुर काकाले उनलाई घरबाट निकालिदिए । श्यामलालसँग बस्ने ठाउँ पनि थिएन । उनी पाटीपौवामा श्रीमती र बच्चासँग बस्दै काकासँग आफ्नो जमिन फिर्ता माग्न थाले । काकाले परिवारसहित उनलाई खुव दु:ख दिए । त्यसपछि उनी प्रहरीमा गए । प्रहरी पनि काकासँग मिलेको हुँदा उल्टै थानामा उनले कुटाइ खाए । श्यामलालले पञ्चायतमा रिपोर्ट गरे तर त्यहाँ पनि उनी मरिसकेको भन्दै कुरा सुनिएन । किनकि, ती पञ्च पनि काकासँगै मिलेका थिए । पञ्जिका कार्यालय पुगे, तर त्यहाँ पनि काकासँगै मिलिभगत गरेर उनको कुरा सुनिएन । अनेकौँ दु:ख हन्डर खाएर पनि उनले आफू जीवित रहेको र काकाले सम्पत्ति खान आफूलाई षड्यन्त्रमूलक ढङ्गले मारेको कुरा ठाउँठाउँमा भन्न छाडेनन् । यसरी नै वर्षांै बित्यो ।
यसैबीच उनकी पत्नी टीबी भएर मरिन् । तिनलाई दुई हजारको औषधि उनले किन्न सकेनन् जसका कारणले उनको मृत्यु भयो । नाबालक छोरा पाल्दै अरूको चियापसलमा काम गर्दै श्यामलाल निरन्तर आफूलाई जिउँदो सावित गर्न वैशाखी टेकेर लागी रहे । आँसु, अनुरोध र अनुनयले काम नगरेपछि एक दिन उनले एक उच्च सरकारी अधिकृतमाथि हमला गरेझैं गर्ने र त्यसबाट उत्पन्न हुने हल्लाखल्लालाई उपयोग गर्दै आफू जीवित रहेको प्रमाण दिने विचार गरे । यसै विचारअनुसार उनले आक्रमण पनि गरे, तर काम बनेन । बरु उल्टो उनलाई प्रहरीले अधमरो हुनेगरी पिटे । श्यामलालका केही भलो चिताउनेहरूले शक्तिशाली काकाविरुद्ध अब नलाग्न अनुरोध गरे, तर उनले मानेनन् ।
त्यसपछि श्यामलालले आफूलाई काकाले जिउँदै मारी सम्पत्ति खाएकोले छानबिन गरिपाऊँ भनी हातले कागजमा लेख्दै ठाउँठाउँमा टाँस्न थाले । त्यो प्रयासले पनि खासै काम गरेन, तर त्यसले उनको जीवनमा एउटा नयाँ घटना घट्यो । त्यो के भने त्यो सूचना पढेर एकजना मानिस उनलाई खोज्दै आइपुगे । ती नयाँ व्यक्तिको पनि आफन्तले नै यसै गरी जिउँदै कागजमार्फत मारेर सम्पत्ति खाइदिएका रहेछन् । उनीहरू दुई साथी भए र आफूजस्तै अरू जिउँदै मारिएकाहरूलाई खोज्न थाले । हेर्दाहेर्दै धेरै साथी श्यामलालसँग जोडिँदै गए, उनीहरूले आफ्नो हकहितका लागि सङ्गठन निर्माण पनि गरे जसको नाम राखे– जीवित मृतक सङ्घ ।
त्यसै समय स्थानीय चुनाव हुने भयो । श्यामलालले जिउँदै मारिएका साथीहरू जम्मा गरी आफ्नो एक किड्नी बेचेर चुनावमा तिर्नुपर्ने दश हजारसहित प्रचारप्रसारका लागि केही खर्च जुटाए । जब उनी निर्वाचन आयोगमा पुगी विधानसभाका लागि आफू चुनावमा खडा हुन लागेको बताए, निर्वाचन अधिकारीले उनलाई तलदेखि माथिसम्म हेरे । श्यामलालले ती अधिकारीलाई भने, ‘मलाई चुनाव जित्नु छैन केवल हामी जिउँदै छौँ भनेर प्रमाणित मात्र गर्नु छ ।’ निर्वाचन आयुक्त कार्यालयका कर्मचारीले उनीलगायत दश समर्थकसँग परिचयपत्र मागे । सबै कागजमा मारिइसकेका हुँदा कसैले पनि परिचयपत्र पेस गर्न सकेनन् र यसैकारण श्यामलाल चुनावका उम्मेदवार हुन अयोग्य ठहरिए ।
चुनावमा उठ्न नपाए पनि दिन प्रतिदिन श्यामलालको समूह बलियो र चर्चित हँुदै गयो । एक दिन एक विदेशी पत्रकार महिला चियापसलमा आई श्यामलालको अन्तर्वार्ता लिइन् । त्यहाँ उनले श्यामलालजस्तै थुप्रै मानिसलाई आफन्तले नै सरकारी कर्मचारीहरूसँग मिलोमतो गरी मरेको देखाएर सम्पत्ति हडपेको र त्यसै कारणले उनीहरू फुटपाथमा बसी जिउँदो रहेको प्रमाणित गर्न नै लडिरहेको तथ्य थाहा पाइन् । जब उनको लेख विदेशी पत्रिकामा छापियो र इन्टरनेटहरूमा पनि राखियो त्यसपछि संसारभरि यस विषयमा चासो बढ्यो । उत्तरप्रदेशका एक असल उच्च सरकारी अधिकृतको पनि यस समाचारमा चासो बढेछ र उनले आफ्ना अधिकृतहरूलाई श्यामलालको केसमा छानबिन गर्न समिति बनाई निर्देशन दिए । छानबिन सुरु हुनेबित्तिकै काका, प्रहरी इन्चार्ज, पञ्जिकाका कर्मचारीहरू दोषी भेटिए र ती सबैमाथि कारबाही भयो । छानबिनपछि श्यामलाललाई आठ वर्षपश्चात् पुन: जिउँदो भएको प्रमाणपत्र दिइयो ।
यो सत्यकथा मैले बिहान ५ बजेतिर भारतीय टीभीको लाइफ ओके च्यानलमा प्रसारण हुने ‘सावधान’ नामक कार्यक्रममा हेर्ने मौका पाएको हुँ । त्यो कार्यक्रम हेरिसकेपछि म निक्कै भावुक पनि भएँ । अपाङ्ग श्यामलालले आठ वर्षसम्म कुटाइ, पिटाइ, हन्डर, ठक्कर खाँदै आफ्नी पत्नीसमेत गुमाएर पनि आखिर शक्तिशाली प्रतिद्वन्द्वीलाई परास्त गरिछाडे र आफूजस्तै अन्यायमा परेका अरूहरूको पनि उद्धार गरे । त्यस च्यानलका प्रस्तोताका अनुसार अहिले पनि भारतको उत्तर प्रदेशमा मात्र जिउँदै मारिएकाहरूको सङ्ख्या झन्डै पचास हजार छ रे ।
जब मैले त्यो कार्यक्रम हेरेर सिध्याएँ त्यतिबेला सूर्य उदाउने बेला भएको थियो । मैले झ्यालको पर्दा खोली काठमाडौं सहरलाई हेरेँ जो अझै निद्रामा नै थियो । किनकिन मलाई त्यस दिन लाग्यो यी अधिकांश घरमा बस्ने हामी नेपालीले यो मुलुकमा अहिले पनि श्यामलालकै जस्तो जीवन बिताइरहेका छौँ । हामीहरूको काका भएका छन् ठूला पार्टीका भनिने राजनीतिक नेताहरू । ती नेताहरूलाई सहयोग गरिरहेका छन् यहाँका प्रशासक, कानुनविद्, सुरक्षाकर्मीहरूले । नेपाली जनतालाई केवल आफ्नो पार्टी र आफूलाई सत्तामा पुर्‍याउने भर्‍याङ ठान्ने आजका राजनीतिक पार्टीहरूले क्रमश: न्यायालय, संवैधानिक अङ्ग, कर्मचारी तन्त्र, सुरक्षा निकाय, उद्योग–व्यवसायहरूलाई मनमोजी ढङ्गले कब्जा गरी आफ्ना स्वार्थमा प्रयोग गर्न खोजिरहेका छन् जसका कारणले आमनेपाली श्यामलालजस्तै शोषणमा परिरहेका छन् । श्यामलालकै झैं यहाँका आमजनताका कुरा सुन्ने पनि यहाँ कोही छैनन् ।
जब मैले नेपाली जनतालाई उत्तर प्रदेशका पीडित श्यामलालसँग दाँज्न थालेँ, यी दुईमा धेरै समानता पाएँ । यहाँ पनि नेताहरूले नेपालीको ताजा भोटबिना नै आफूलाई यो देशको सरकार र मालिक ठानिरहेका छन् । उनीहरू राष्ट्रको ढुकुटी मज्जासँग आफ्नो पार्टीका सहयोगीलाई ढुक्कसँग बाँड्न सक्तछन्, तिनले कर तिर्ने जनतालाई सोध्नसम्म पर्दैन । कतै झुलुङ्गेपुलसम्म नभई तुइन तर्दा नागरिकहरू मर्दा, त्यहाँ त्यो तुइन मर्मत गर्नेसम्म पैसा दिइँदैन, तर तिनका पार्टीका मान्छे मरे भने तिनै नेपालीले तिरेका करबाट लाखाँै अनुदान दिइन्छ । कुनै सरकारी कर्मचारीलाई मनमोजी ढङ्गले खोस्न, अवकाश दिन, पछि पार्न उनीहरू सक्रिय देखिन्छन् । तर, आफूहरू भने म्याद सकिँदा पनि आफैँ म्याद थपेर त्यो पदमा बसिरहन सक्छन् । यति मात्र होइन, अझ आफ्नो भत्ता आफँै बढाउने निर्णय पनि गर्न सक्छन् । उनीहरूलाई यो देशको सिँचाइ, कुलो, पुल, औषधि, बूढाखाडा, बिग्रेको बाटो, असुरक्षित जङ्गली जनावर, भत्काइँदै गएको देशको सीमा स्तम्भ, जर्जर हँुदै गएको उद्योग व्यवसाय, अराजक बन्दै गएको समाजको भन्दा पनि आफ्नो सत्ता कसरी टिकाउने र आफू सत्तामा कसरी पुग्ने ? भन्ने विषयमै बढी चिन्ता छ । यहँँका नेताहरूलाई पनि जनताको हकमा काम नगर्दा श्यामलालको काकालाई आफ्ना भतिजासँग डर नभएझैं पटक्कै डर छैन । उनीहरू संसद् भङ्ग भइसक्दा पनि आफ्नो हैसियत अझै ठूलो पार्टी वा सानो पार्टीकै भएको निर्धक्कसँग उद्घोष गर्दछन् जसरी श्यामलालको काकाले जिउँदै भतिजलाई मरेको उद्घोष गरेथे । यहाँका जनताले पनि श्यामलालले जस्तै केही गर्न सक्दैनन् भन्ने राजनीतिक दलहरूलाई परिसकेको छ । त्यसैले त हो नि चार वर्षसम्म अर्बौं रुपैयाँ सकेर पनि उनीहरूलाई संविधान नबनाउँदा कुनै पछुतो छैन र अझ त्यही संविधान बनाउन हामीलाई पुन: निर्वाचनमा भोट हाली जिताउन जनतालाई आदेश दिँदै छन् । जनताले के भन्लान् भन्ने तिनलाई पटक्कै चिन्ता छैन । श्यामलालका काकालाई जस्तै ।
आज के पनि देखिन थालेको छ भने नेपालीहरूलाई श्यामलालको जस्तो आफ्नो अधिकार फिर्ता माग्ने रुचि पनि छैन । कताकता लाग्छ हामी नेपाली र श्यामलालबीच यही भिन्नता छ कि ती लगङ्डा श्यामलालले आफूविरुद्ध षड्यन्त्र, धोखा र अपराध गर्ने काकाविरुद्ध जेहाद छेडे । चियापसलमा काम गरेर पनि आफ्ना हकका लागि विधानसभामा उठ्ने आँट गरे । आफूजस्तै पीडितहरूलाई सङ्गठित गरी शक्तिशाली दुष्ट काकासँग वबदला पनि लिए । तर, हामी नेपाली श्यामलालहरू भने अझै पनि यो देशमा अन्याय गर्ने त्यही काकाहरूले उनीहरूले आफ्नो सुविधाअनुसार चुनाव गर्छु, पुनस्र्थापना गर्छु, मलाई प्रधानमन्त्री दिए बजेट आउन दिन्छु भनेर दुस्साहसपूर्ण उद्घोष गरिरहेको कुरालाई नै समर्थन गर्दै हिँडिरहेका छौँ । हामीलाई प्रत्येक दिन आ–आफ्नो हक छिन्ने राजनीतिज्ञहरूले जिउँदै मारिसकेको अवस्था हँुदा पनि कुनै दु:ख छैन, कुनै आक्रोश छैन, कुनै इख छैन । त्यसैले मलाई लाग्छ– अझै हामीले अरू दु:ख पाउनुपर्ने दिन आउँदै छ । हामीले पनि कतै समयमै जीवित मृतक सङ्घ खोल्नुपर्ने त होइन ?