गाउँका आँखामा…– रामेश्वर राउत मातृदास

गाउँका आँखामा…– रामेश्वर राउत मातृदास


चुपचाप गाउँछन्
विरह रुन्छन् चराहरू
उन्मुक्त उन्मादले हाँस्ने चङ्गाहरू,
लडाइँ लटपटिएर
लाटो पछारिन्छ भुइँमा
र, सहज स्वतन्त्रता मेरो पनि यसरी नै,
बिल्लिबाठ बिलौना रुन्छन्
गाउँका आँखाहरूमा कविताहरू

चमेराहरू भरोसाहीन छन्
यी बाङ्गा खुट्टी
के चिन्लान् टेढा टाउकाहरू,
बाटाहरू चिप्लिँदा चिप्लिँदै
बल्ल यी पाइलाहरू डोबमा उभिएकाछन् !

निष्पट्ट रातलाई उप्रान्त
सलाम गर्न राजी छैनन् निधारहरू
लडाउँदै कहिले
बाटैमा चेट पारिदिने,
भैगो लडाइँका लगौंटीमा
मनका चङ्गाहरू गुजुल्टिरहन चाहँदैनन् सधैँ !

भर्भराउँदो बैंसका
जवान फिला सम्झेर
घाम घमाइलो ठाँटमा ठाँट्टिँदै
सुटुक्क वनवास जाऊँ भन्छ यो मन
र, जूनको लजालु जामा हल्लाइदिएर
आफ्नै तमासा हेरुँ भन्छ पवन !

पतझड रूखका उजाड ठुटाबाट
भर्खर चिर्बिराउँदै फक्रिन तम्सिरहेका छन् घामका झुल्काहरू
र, खोँचको बैंसमा लर्खराउँदै उक्लिरहेको जून देखेर
घामका अन्तरंग चुम्बन गर्दै
मेरो मन पुरुसुङ्गे नाचिरहेको छ ज्योतिपुञ्ज फैलिएर !
रारामा, वशिष्ठघाम, निर्झर दिलचेत, सिन्धुबस्ती