केही दिनअघि पङ्क्तिकारकै थरका एक युवकले माओवादीका शक्तिशाली शीर्षस्थ नेता कामरेड प्रचण्डलाई थप्पड हानेपछि केही साथीहरूले फोन गरेर भने, ‘वसन्त तिम्रो कुँवरको कलमभन्दा त कुँवरको थप्पड पो चर्चित बन्यो ।’ त्यस दिनबाट मैले पनि महसुस गरँे कि वास्तवमै यतिबेला कुँवरको कलमभन्दा बढी चर्चा पाउने त कुँवरको थप्पड नै भएको रहेछ ।
हुनत म पनि विचारकै लडाइँ लड्छु, तर कलमको माध्यमबाट अर्को अपरिचित कुँवर बन्धुले पनि विचारकै लडाइँ लडेछन् थप्पडबाट । यो दुईमा कुन सशक्त हो भन्ने कुरा आउने समयले बताउला तर म व्यक्तिगत रूपमा विचारको लडाइँ हिंसाबाट लड्न आवश्यक छैन बल्की सकारात्मक नतिजा देखाएर लड्न सकिन्छ भन्ने विश्वास राख्ने व्यक्ति हुँदा त्यो कुँवरको थप्पड आफ्नो कुरा मनाउने वा आफ्नो विचारसामु ल्याउने सही उपाय थियो भनेर मान्न सक्तिनँ तर पनि त्यो थप्पडले नेताहरूलाई सतर्क बनाउन यो देशमा ऐतिहासिक महत्व राख्नेछ भन्नेचाहिँ मैले विश्वास लिएको छु ।
थप्पड खानेबित्तिकै टेलिभिजनमा देखाइएको प्रचण्डको अनुहार मलिन थियो । उनीमाथिको थप्पडको प्रत्येकले आ–आफ्ना स्वार्थअनुरूप स्वागत र विरोध गरेको देखियो । यस्तो कामको स्वागत गर्दा प्रचण्डले आफ्नो मानिस लगाई ज्यानै लिइहाल्लान् कि भन्ने भयले वा उनको विरोध गर्दा नराम्रो ठाउँमा सरुवा वा खोसुवा हुनुपर्ला कि भन्ने त्रासले वा पद नै खोसिन्छ कि भन्ने पिरले नेपाली जनताले स्वार्थअनुरूप फरकफरक मत राखे पनि एउटा कुरा म किटानीसाथ के लेख्न सक्छु भने पश्चिम पहाडका गरिब शिक्षक जसको हात पछाडि रूखको हाँगामा बाँधेर हत्या गरिएको थियो तिनका परिवारले प्रचण्डको गालामा परेको थप्पडलाई दीपावलीको पटकाकै रूपमा लिएको हुनुपर्छ । ज–जसले निर्दोष हुँदाहुँदै पनि चितवनमा बसभित्रै ज्यान गुमाए तिनका परिवारले त्यो थप्पडको स्वागत नै गरेको हुनुपर्छ । ज–जसले माओवादी युद्धमा आफ्ना भूमि, घर गुमाउनुपर्यो तिनले त्यो थप्पडको स्वागत नै गरेको हुनुपर्छ । ज–जसलाई लाग्छ प्रचण्ड यो देशको शक्तिमा आएपछि मुलुकको विकासको गति खत्तम भयो, उद्योग–धन्धा, व्यवसाय बन्दुकको नाल र चन्दाको आतङ्कको बीच हरायो, तिनले पनि त्यो थप्पडको स्वागत नै गरेका हुन सक्छन् । त्यसैले मलाई लाग्छ यो मुलुकमा लाखौँ करोडौँ यस्ता मानिस पनि छन् जसले प्रचण्डमाथिको थप्पडलाई जायज मानि थप्पडका स्रोत कुँवरलाई हिरोको रूपमा हेर्न थालेका पनि छन् । प्रचण्ड स्वयम्लाई पनि पक्कै थाहा हुनुपर्छ कि यदि उनी पुष्पकमल दाहाल मात्र भएका भए उनीमाथि थप्पड पर्थेन प्रचण्ड हुन खोज्दा नै थप्पड आएको हो र दाहालले यही बँुदामा खुब अध्ययन, अनुसन्धान गरी यो कुरा पत्ता लगाउन जरुरी छ कि मलाई पुष्पकण्मल दाहाल हुँदा किन थप्पड हानिएन र प्रचण्ड हुँदा के त्यस्तो गल्ती भयो जसका कारणले थप्पड खानुपर्यो ? यो यथार्थ प्रचण्डले बुझ्न सकेमा थप्पडकर्ता कुँवर प्रचण्डको सबैभन्दा ठूलो गुरु हुन सक्छन् ।
मैले केही वर्षअगाडि यही पत्रिकाको आफ्नो स्तम्भमा प्रचण्डको बारेमा एक लेख लेखेको थिएँ र उहाँलाई इजरायलको पहिलो प्रधानमन्त्री विन लगुनजस्तो ऐतिहासिक काम गर्न सल्लाह दिएको थिएँ । इजरायल स्वतन्त्र हुनका लागि विभिन्न शक्तिकेन्द्र र देशहरूसँग त्यहाँको जनताले भूमिगत लडाइँ पनि लड्नुपर्यो र अन्तमा विन लगुनले चलाएका भूमिगत लडाइँले त्यो देशलाई स्वतन्त्र बनायो । इजरायल स्वतन्त्र मात्र भएन बल्की त्यो देशको पहिलो प्रधानमन्त्री पनि विन लगुन नै भए र उनको नेतृत्वमा त्यस देशले यस्तो ऐतिहासिक आर्थिक, सामरिक प्रगति गर्यो कि गण्डकी र लुम्बिनी अञ्चलको जति मात्र क्षेत्रफल भएको मरुभूमिको त्यो देश आर्थिक रूपले विश्वकै धनी तीस देशभित्र पर्न सफल भयो । आज नेपालका मानिस त्यहाँका घरमा नोकर भएर जान पाएकोलाई नै ठूलो गर्वका साथ लिने गर्छन् । कुनै स्रोतसाधन नभएका बालुवैबालुवा भएको मरुभूमिको त्यो देशले पूरै संसारमा आफ्नो वर्चश्व कायम राख्न सक्नुमा भूमिगत लडाइँबाट आएका पहिलो प्रधानमन्त्री विन लगुनको कुशल नेतृत्वको ज्यादै ठूलो योगदान थियो । उनले सही ढङ्गले देशलाई ड्राइभ गर्न नसकेका भए वरिपरिका विशाल अरब देशहरूले त्यो मुलुकलाई टुक्रा–टुक्रा पार्ने थिए । त्यस देशको अस्तित्वसमेत रहने थिएन । वरिपरिका ६÷६ वटा देशले मिलेर एकैपल्ट आक्रमण गर्दासमेत उल्टो हराइदिन सफल इजरायल आखिर विन लगुनजस्ता नेताहरूकै कारण त आर्थिक–सामाजिक रूपले त्यति मजबुत हुन सफल भएको थियो ।
म इजरायल जाँदा सौभाग्यबस विन लगुनको जन्मदिन परेछ र एक स्कुलको कार्यक्रममा भाग लिँदा त्यहाँका छात्रछात्राले स्वर्गीय प्रधानमन्त्री विन लगुनका महान् वाणीहरू एक–अर्कालाई सुनाउँदै थिए । उनको बारेमा कविता पनि भन्दैै थिए । ती प्रधानमन्त्रीकै नाममा अन्तर्राष्ट्रिय विमानस्थलको नामाकरण पनि गरिएको रहेछ । मैले त्यस लेखमार्फत नेपालमा पनि आर्थिक–सामाजिक रूपले कायापलट गरी आमनेपाली जनताको जीवनस्तर अकल्पनीय रूपमा माथि उठाउन तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको थिए किनकि नेपालमा उनको आगमन पनि विन लगुनकै जस्तै सशस्त्र विद्रोहबाटै भएको थियो । तर, उहाँ आर्थिक विकासतिर लाग्नुभन्दा पनि कटुवाल नामका एक कर्मचारी खोस्नतिर लाग्नुभयो । राष्ट्रियता र राष्ट्रिय सद्भावको सुदृढीकरण, कृषि, पर्यटन, जलस्रोतजस्ता क्षेत्रको आधुनिकीकरण, प्रशासनतन्त्रको सबलीकरण, शान्तिसुरक्षाको सुदृढीकरण, उद्योगधन्दामा उदारीकरण गर्नतिर लाग्नुभन्दा पनि प्रचण्डले आफ्नो शक्ति र राज्यशक्तिलाई केवल आफ्नो पद जोगाउन र पार्टी मजबुत राख्न मात्र प्रयोग गर्नुभयो । भारतको स्वार्थबाट जन्मन, हुर्कन र सफल हुन पाएको माओवादी युद्धले प्रचण्डलाई नेपाली राजनीतिमा जति माथि पुर्याए पनि माथि पुगेपछि आर्थिक विकासमा देखाउन सक्नुपर्ने खुबी प्रचण्डले विन लगुनले जस्तो देखाउन सक्नुभएन । मानिसले आरोप लगाउने गर्छन् कि उहाँले देशको अर्बौं रुपैयाँ लगाई तयार गरिएको आर्थिक पूर्वाधारहरू ध्वस्त पार्नुभयो, लडाइँपछि पनि रुग्ण उद्योगधन्धालगायत राज्यकोषबाट समेत आफ्नै लागि धन जोड्ने अभियान सुरु गर्नुभयो, पार्टी फुटिसकेको र नेपाली जनताले भोटको माध्यमबाट दिएको पदावधि समाप्त भइसकेको अवस्था हुँदा पनि उहाँले आफू अझै ठूलो पार्टीको नेता भएको भ्रम पालेर बस्नुभयो । आज उहाँ दक्षिण एसियाकै धनी नेता हुनुहुन्छ र उहाँले आफ्नै गरिब लडाकुहरूको नाममा रहेको पैसासमेत हिनामिना गर्नुभएको छ भन्नेसमेत आरोप उहाँमाथि छ । प्रचण्डका यस्ता कामले वा गल्तीले लाखौँ–करोडौँ नेपाली झन्झन् गरिब मात्र भएका होइनन् आक्रोशित पनि भएका हुन सक्छन् । मलाई लाग्छ– यस्तै आक्रोश बोक्नेहरूमध्ये एक हुन सक्छन् ती गरिब कुँवर पनि । कुँवरको थप्पड नेता प्रचण्डले आमजनता र आफ्नै पार्टीका क्याडरहरूको अपेक्षा पूरा गर्न नसकेको एक प्रमाण पनि हुनसक्छ ।
प्रचण्डले अङ्गीकार गरेका कम्युनिस्ट विचारधाराअनुरूप उहाँको जीवन बहुतै सादा हुनुपर्ने थियो । सिँचाइ नभएका हजारौँ बिघा जमिन देख्दा उहाँको मन रुनुपर्ने थियो । दैनिक घर छोडेर विदेशमा शौचालय सोर्न जाने नेपाली दाजुभाइ देखेर उहाँ भावविह्वल हुनुपर्ने थियो । केवल चतुर कुरा गरेकै भरमा कुनै नेता लामो समय प्रतिष्ठित रहिरहन सक्दो रहेनछन् त्यसका लागि आमजनताको आर्थिक–सामाजिक विकास गरी मुलुकको राष्ट्रियता र अखण्डतालाई अझै मजबुत गराउन पनि सक्नुपर्दोरहेछ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण पनि यो कुँवरको थप्पड हुन सक्छ । अरूलाई सुकिलोमुकिलो भन्दै आफैँ सबैभन्दा नेपालको सुकिलोमुकिलो हुनुभएको प्रचण्डले गरिब कुँवरमाथि पुलिसद्वारा राज्यशक्ति देखाउनुभन्दा पनि उनको थप्पडबाट सिक्नुपर्ने सन्देश धेरै देखिन्छ ।
प्रचण्डले पनि थुप्रै निर्दोष नेपालीको हत्या गराए, फरक यत्ति हो कि त्यसलाई उनले राजनीतिक खोल ओडाएर ओभानो हुन सफल भए । यदि उनको आन्दोलन सफल नभएको भए उनको टाउकाको मोल अपराधी र देशद्रोहीकै रूपमा बिक्ने थियो । नेपलीलाई हत्याहिंसा सिकाउन प्रचण्डको नेपालमा ऐतिहासिक योगदान रहेकै होे । तिनलाई गुरु मानेर कुँवरले उनको गालामा एक थप्पड हानी विरोध जनाएकै भए पनि त्यो महात्मा गान्धीको गालामा हानिएझंै गरी कुँवरलाई देशद्रोही ठान्न जरुरी देखिँदैन ।
अहिले कुँवरलाई ठूलो कारबाही गरी प्रचण्डबाट स्यावासी लिन हिजो प्रचण्डबाटै हजाराँै सङ्ख्यामा आफ्ना सदस्य गुमाएका प्रहरीहरू निकै सक्रिय होलान् । हिजो उनको टाउकोको मूल्य तोकिएको थियो, आज त्यो टाउकोको सुरक्षा नै त्यही प्रहरीको सबैभन्दा ठूलो कर्तव्य बनेको छ । प्रचण्डको टाउकोबीच टाँसिएको दायाँबायाँ गालामा थप्पड हानी समस्यामा पर्ने त्यो गरिब कुँवरको तर्फबाट अहिले बोल्ने, तिनलाई सहानुभूति दिन सक्ने प्रशासक प्रहरी त अहिलेको दिनमा को नै हुन सक्लान् र ? जसरी हिजो राजा ज्ञानेन्द्रको शासनमा प्रचण्डको तारिफ गर्ने कुनै प्रशासक र सुरक्षाकर्मीको हिम्मत थिएन । त्यसका लागि त ठूलै मुटु र कलेजो चाहिन्छ । प्रचण्डले निर्दोष मास्टरलाई पछाडि हात बाँधी मार्दा मार्नुपर्ने कारणको औचित्य तर्कबाट दिएझैं यदि ती गरिब कुँवरले पनि थप्पड हान्नुको कारण यदि प्रहरीलाई तर्कपूर्ण ढङ्गले दिन चाहन्छन् भने त्यो तर्कलाई प्रहरीले सुनुदिनुपर्छ । उनले थप्पड हानी ठीक गरे वा गलत गरे भविष्यले बताउला । तर, यो देशमा पदमबहादुर कुँवरले पनि जगंबहादुर, वीर बलभद्र कुँवरले झैं एउटा इतिहास त बनाएकै छन् । त्यो कदम ठीक थियो वा बेठीक नेपाली समाजले आउने दिनमा ठहर गर्नेछ । तर, प्रचण्डले पनि के कुरा बुझ्नुपर्छ भने त्यो गरिब कुँवरलाई थुनेर वा कुटेर तपाईंमाथि लगाइएको थप्पड फिर्ता हुन सक्दैन बरु तपाईंले त्यो कुँवरलाई बोलाएर यो प्रश्न सोध्न जरुरी छ कि ‘भन्नुहोस् तपाईंले मलाई किन थप्पड हान्नुभयो ?” त्यस जवाफभित्र तपाईंले फेरि भविष्यमा थप्पड खान नपर्ने उपाय मात्र होइन इजरायलको विन लगुनले झैं यो देशमा उच्च सम्मान प्राप्त गर्न सक्ने थुप्रै उपाय पनि पत्ता लगाउन सक्नुहुनेछ । अहिले म यस प्रकरणमा यति लेखेर कलम बन्द गर्दछु कि आजको दिनसम्म कुँवरको कलम भन्ने स्तम्भभन्दा कुँवरको थप्पडले नै बढी चर्चा बटुलेको छ ।
प्रतिक्रिया