पीएम ओली : अवसर धेरै, थोरै चुनौती

पीएम ओली : अवसर धेरै, थोरै चुनौती


– स्वयम्भूनाथ कार्की

यो खड्गप्रसाद अर्थात् केपी ओलीले बनाएको एक इतिहास नै हो कि संविधानसभाका सभासद्हरूले ध्वनिमतले पारित गरेर लागू गरेको वर्तमान संविधानको दुवै अवस्थामा पहिलो सरकारप्रमुख हुन पाए । यहाँ ध्वनिमतले किन भनियो भन्ने स्पष्टीकरण आवश्यक छ । अन्तमा मत विभाजन गरेर पारित गरिएको भए पनि यसका धाराहरू, धारामाथिका संशोधनहरू सबै ध्वनिमतले पारित भएका हुन् । पहिलो सरकारप्रमुुखमा आपूm र दुवै अर्थात् सङ्क्रमणकालीन र पूर्णकालीन अवस्थामा पहिलो राष्ट्रप्रमुख आफूले रुचाएको व्यक्ति । यदि प्रारब्ध वा भाग्यको कुरा भन्ने हो भने उनले आफैं बसेर आफ्नो भाग्य लेखाएर ल्याएकोभन्दा पनि फरक नपर्ने भाग्यशाली भन्न सकिन्छ ।

धेरै थोक मिसिएको वस्तु कि त अत्यन्तै राम्रो हुन्छ कि त अत्यन्तै नराम्रो । नेपालीमा ‘जोगी तरकारी’ स्वादिलो हुन्छ भन्ने मान्यता छ, त्यसै गरेर ‘चौधानी’ अन्न राम्रो मानिन्न । जोगीहरूले फेरि लगाएर उठाउने सिदामा काटिएको काँचो तरकारी पनि रहने गर्दछ । यसैलाई ‘जोगी तरकारी’ भनिने गर्दछ । त्यस्तै, धान वा अनाज खरिद केन्द्रमा प्रमुख किसिमको धानको बेग्लै थुप्रो लगाए पनि थोरैथोरै आउने धेरै किसिमका धान एकै थुप्रोमा राखिन्छ र यसको प्रकारलाई ‘चौधानी’ भन्ने गरिन्छ । संयोग नै हो यसपटक पनि उनको सरकार चौधानी नै छ । पहिलोपटकमा आवश्यकताको दुहाई दिएर बनेको सरकार ‘जोगी तरकारी’ बन्न सकेन ‘चौधानी’ नै रह्यो । यही नजिरले दोस्रोपटक पनि ‘जोगी तरकारी’ हुने कुरामा सहजै मान्न कठिन छ ।

पहिलोपल्ट केपीले कसरी र कस्तो सरकार चलाउलान् भन्ने कुतूहल पनि थियो । त्यो स्वाभाविक नै थियो किनभने केही वर्षदेखि एमालेको अध्यक्षता सम्हालेका भए पनि सबैले थाहा पाउने गरेर कुनै निर्णायक वा निर्देशक नेतृत्व उनले सम्हालेका थिएनन् । नेपालको इतिहासको कठिनतम् अवस्थामध्ये एकमा देश हाँक्ने मौका पाएका थिए । भुइँचालोलगायतका प्राकृतिक प्रकोपले थिलथिलो भएका नागरिकहरू त्यसबेलासम्म जसोतसो गरेर मन थामेर आस राखेर बसेका थिए । त्यसैबेलामा नसोचिएको अशान्ति र त्यसले पैदा गरेको आर्थिक सङ्कट विकराल भएको थियो । त्यसैले त्यसपल्ट चुनौती र अवसर बराबर थिए ।

पहिलोपल्ट जस्तो छिमेकीसँगको सम्बन्धमा कुनै अमिलोपना छैन । विधिवत् सरकारप्रमुख हुनुभन्दा पहिले नै सम्भावना मात्रमा छिमेकी भारतले आफ्नो विदेशमन्त्री नै पठायो । प्रधानमन्त्री ओलीको यो कार्यकालभर अब ‘चुच्चे रेल’को घुर्की आवश्यक पर्ने छैन, बरु ‘हुलाकी’ राजमार्ग नै पर्याप्त हुने अनुमान गर्न थालिएको छ ।

यसपटक भने पहिलेका धेरै चुनौती नरहेको अवस्था छ । पहिलोपटकमा छरेकोे ‘राष्ट्रवादी’ बाली पाकेको छ । त्यसैले एक दलको बहुमत पनि असम्भवप्रायः भएको प्रावधान भए पनि विश्वासको मत प्रचण्ड परेको छ । भन्नेहरू भन्छन् यति प्रचण्ड विश्वास त नेपालमा पहिले कसैले पाएका नै थिएनन् । यो कुरा ठीक–बेठीकभन्दा पनि मन्त्रीको सङ्ख्या सीमित राख्नुपर्ने अवस्थामा पनि तँछाडमछाड गरेर समर्थन दिन जाने दललाई लठ्याउने मोहनी भने मान्नैपर्ने हुन्छ । पहिलोपल्ट समर्थन दिन जाने गैरवामपन्थीले उपप्रधानमन्त्री मोलबापत लिएका थिए । यसपटक समर्थन दिन जाने भने कुनै मोल बिनामोहनीमा लट्ठ भएजस्तो भएर जाँदै छन् ।

पहिलोपल्ट जस्तो छिमेकीसँगको सम्बन्धमा कुनै अमिलोपना छैन । विधिवत् सरकारप्रमुख हुनुभन्दा पहिले नै सम्भावना मात्रमा छिमेकी भारतले आफ्नो विदेशमन्त्री नै पठायो । प्रधानमन्त्री ओलीको यो कार्यकालभर अब ‘चुच्चे रेल’को घुर्की आवश्यक पर्ने छैन, बरु ‘हुलाकी’ राजमार्ग नै पर्याप्त हुने अनुमान गर्न थालिएको छ ।

अर्थात्, मौसम अनुकूल रहेको छ । त्यसले कृषि उत्पादनमा भएको वृद्धिको लाभ केपी सरकारलाई प्राप्त हुनेछ । खोलानाला सुक्खा हुने सम्भावना न्यून छ, त्यसैले अप्रिय लोडसेडिङको मार पर्ने सम्भावना छैन । यत्रो वर्ष बितेपछि अब भुइँचालोपीडितहरूको आशा मरिसकेको छ । जनताको पीडा शासनले हेर्छ भन्ने कुरालाई उनीहरू रुढीबुढीको कुरा मान्न थालेका छन् । चुनावी घोषणापत्र त कसैको निमित्त पनि कार्यक्रम बनेन, केवल कल्पनालोक डुलाउने माध्यम बन्यो । त्यसैले यो सरकारले गरेको हरेक काम नै केपी ओलीको जयजयकार गराउन पर्याप्त छ । त्यसैले उनलाई चुनौती थोरै छ अवसर धेरै छ, तानाशाह बन्ने अवसरसमेत पर्याप्त छ उनलाई । किनभने यदि विश्वासको मत नै कायम रहने हो भने यो संविधानलाई आफ्नोअनुकूल संशोधन गर्न रोक्न सक्ने कुनै शक्ति छैन ।