नेपाली काङ्ग्रेसका वरिष्ट नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नबन्ने मनस्थितिमा पुग्नुभएको छ । यसपटक उहाँले राष्ट्रिय सहमतिको सरकारको लागि पार्टी सभापति सुशील कोइरालालाई समर्थन गर्ने सङ्केत गर्नुभएको छ । तर, त्यसको लागि पार्टीमा उहाँले आफ्नो उचित स्थान खोज्नुभएको बुझिन्छ । घटना र विचारका साप्ताहिकका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंश :
० राष्ट्रपतिको मङ्सिर ८ गतेको कदमलाई कसरी लिनुभएको छ ?
– राष्ट्रपतिको कदम सकारात्मक छ । यो कदमले मुलुकमा निकासको ढोका खोलेको छ । राष्ट्रपतिले सहमति, सहकार्य र एकताको बाटोबाट मुलुकको समस्या समाधान गर्दै सहमतिको सरकार निर्माणका लागि जुन आव्हान गर्नुभएको छ, अहिलेको लागि यो उपयूक्त कदम हो । मुलुकले निकास पाउनु पर्छ । यसको विकल्प छैन । त्यसैले दलहरू अब राष्ट्रपतिको आब्हान अनुसार सहमतिको सरकार निर्माणमा लाग्नु पर्छ । छिट्टै सहमतिमा प्रधानमन्त्री चयन गरेर मुलुकलाई निकास दिनु पर्छ ।
० एकीकृत नेकपा माओवादीले त राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेको छ नि ?
– कसले के भन्यो भन्ने कुरा छाड्नुस, म त्यसको पछि लाग्न चाहन्न । अहिले राष्ट्रपतिको कदमको विरोधको औचित्य छैन । एमाओवादीभित्र पनि त अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कदमको समर्थन गरिरहनुभएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले किन विरोध गर्नुभएको हो मैले बुझ्न सकेको छैन । राष्ट्रपतिको कदम संविधानसम्मत हो, यसको विरोधको कुनै औचित्य छैन । स्वयम् सरकारका मन्त्रीहरूले समर्थन गरिसकेका छन् ।
० राष्ट्रपतिको आव्हानअनुसार सात दिनभित्र सहमति सक्ला ?
– किन नसक्नु ? अहिले हामी राष्ट्रपतिले दिएको समय–सीमाभित्रै सहमतिको सरकार दिने प्रयत्नमा छौँ । मुलुक जटिल अवस्थामा रहेकोले अहिले मिलेर अघि बढ्नुको विकल्प छैन । अहिले सहमतिको सरकार निर्माण गर्न नसके संविधानसभाको निर्वाचन, संविधान केही पनि पाउन सकिँदैन । काङ्ग्रेसले दलहरूलाई सहमतिमा लिएर आफ्नो नेतृत्वमा सरकार बनाउन अगाडि बढिरहेको छ । हामी चाहन्छौँ अब काङ्ग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्नु पर्छ ।
० सात दिनभित्र सहमति भएन भने के गर्ने ?
– यस्तो कुरा अहिले नगराँै । अकाश नै खसे के गर्ने भनेजस्तो कुरा गरेर भएन नि । सात दिनभित्र सहमति गर्ने अधिकतम प्रयत्न गर्नु पर्छ । प्रयास गर्दागर्दै केही समय नपुगे राष्ट्रपतिले नै समय बढाईदिनुहुन्छ । सहमतिको वातावरण निर्माण गर्नेतर्फ राष्ट्रपतिको कदम राम्रो छ । यसको अधिकतम उपयोग गरेर मुलुकलाई निकास दिनुको विकल्प कोहीसँग पनि छैन ।
० त्यसोभए म्याद थपिने नै भयो होइन त ?
– अहिले मुलुकलाई सहमति चाहिएको छ । जे गर्दा सहमति हुन्छ त्यो काम गर्न पछि हट्नु हुँदैन । राष्ट्रपतिको कदमपछि सहमतिको वातावरण बनेको छ । अब यसलाई अघि बढाएर मुलुकलाई निकास दिनुपर्छ, बिथोल्नु हुँदैन । वातावरणलाई सहज बनाउने काम हामी सबैले गरौँ । सहमति कायम गर्न जे गर्नुपर्छ काङ्ग्रेसले गर्छ, अरूले पनि आ–आफ्नो ठाँउमा बसेर सहमतिको लागि प्रयत्न गरौँ ।
० काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ला ?
– काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नैपर्छ । त्यसको विकल्प म देख्दिनँ । काङ्ग्रेसको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउन, निर्वाचन पनि हुन्छ र संविधान पनि आउँछ, सबै त्यतैतिर लागौँ ।
० सहमतिको सरकारको प्रधानमन्त्री को त ?
– म नेपाली काङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ भन्ने पक्षमा छु । संविधानसभाको निर्वाचनपछि एमाओवादी र नेकपा एमालेले दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । अब स्वभाविक रुपमा नेतृत्व गर्ने पालो काङ्ग्रेसको हो । काङ्ग्रेसले अब नेतृत्वको लागि पहल गर्छ र आफ्नो नेतृत्वमा सरकार बनाउँछ ।
० काङ्ग्रेसको प्रधानमन्त्रीको उमेदवारचाहिँ को नि ?
– मैले स्पष्ट पारिसकेको छु, म अहिले प्रधानमन्त्री पदको लागि लालायित छैन । काङ्ग्रेसले विगतदेखिको परम्पराअनुसार सर्वसम्मत रुपमा निर्णय गर्छ । काङ्ग्रेसबाट को प्रधानमन्त्री बन्ने भन्नेमा कुनै विवाद गर्नुहुँदैन ।
० तपाईंचाहिँ प्रधानमन्त्री किन नबन्ने ?
– अहिले मलाई प्रधानमन्त्री बन्ने चाहना र लोभ छैन । म अहिले निकासको लागि बाधक बन्दिनँ । पार्टीले जसको पक्षमा निर्णय गर्छ म उसैलाई सहयोग गर्छु ।
० तपाईं नहुने हो भने, सभापति सुशील कोइराला हो काङ्ग्रेसको उम्मेदवार ?
– म बन्दिनँ भनेर मैले स्पष्ट भनिसकेँ, अरू को बन्छ भनेर म भन्न सक्दिनँ । पार्टी सभापति प्रधानमन्त्री बन्न सक्नुहुन्न भन्ने केही छैन । अहिले म नबनेपछि सुुशील र रामचन्द्रजीमध्ये जो पनि प्रधानमन्त्रीको उम्मेदवार हुन सक्नुहुन्छ । रामचन्द्रजीसँग कुरा मिलाएर जानु पर्छ । सबै बसेर छलफल गरी टुङग्याउनु पर्छ ।
० सभापतिसँग यस विषयमा तपाईंको सहमति भइसक्यो रे नि ?
– सभापति सुशील कोइराला र मेरोबीचमा कुराकानी भएको छ । प्रधानमन्त्रीको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा हामीहरू बसेर निर्णय गर्छौं । काङ्ग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार सहमतिमै चयन गर्छौं । यसपटक हामी एक भएर सकारात्मक सन्देश दिन्छौँ । सुशीलजी बन्न चाहनुभयो भने मेरो र रामचन्द्रजीको पनि विरोध हुन्छजस्तो लाग्दैन ।
० सभापतिलाई प्रधानमन्त्री बनाउने निश्चित भएको हो त ?
– पार्टी सभापति प्रधानमन्त्री बन्दा मलाई केही आपत्ति छैन तर रामचन्द्रजीसँग पनि सहमति गर्नुपर्छ । ।
० रामचन्द्र पौडेलसँग कुरा मिलेको हो ?
– संविधानसभाको पुन:स्थापना भएको भए रामचन्द्रजीको अप्सन खुल्ला हुन्थ्यो । संविधानसभा पुन:स्थापना नहुने निश्चित भएकोले अब सबै कुरा प्रक्रियाबाटै हुन्छ । सभापतिले प्रधानमन्त्री बन्न चाहे कसैले पनि विरोध गर्दैन । तर, पार्टीमा उहाँले सबैलाई उचित स्थान दिएर समेटेर लैजानुपर्छ भन्ने साथीहरूको भनाई छ ।
० तपाईले सभापतिलाई समर्थन गर्न कार्यवाहक सभापति पदको वार्गेनिङ गर्नुभएको हो भन्छन् नि ?
– मैले कार्यवाहक सभापति खोजेको छैन । पदको लागि मरिहत्ते गर्ने र बार्गेनिङ गर्ने मान्छे पनि म होइन । तर, पार्टीमा सबैलाई समेटेर, एक भएर जानुपर्छ भन्ने सबै साथीहरूको राय छ । पार्टीमा सबैले उचित ठाँउ पाउनु पर्छ । यसका लागि सभापतिले कसरी मिलाउने हो सोच्नुपर्छ ।
प्रतिक्रिया