देउवाको घटेको उचाइ

देउवाको घटेको उचाइ


– महेन्द्र पराजुली

००६ चैत्रत १७ गते विधिवत् रूपमा स्थापना भएको नेपाली काङ्ग्रेसले सात दशक लामो यात्रा तय गर्दै ०७४ चैत १८ गते ७५औँ वर्षमा प्रवेश गर्दै छ । इतिहासको कालखण्डमा स्थापना कालदेखि नै विभिन्न आरोह–अवरोहसँग जुझ्दै ठूला क्रान्ति, जनआन्दोलनको नेतृत्व गरेको काङ्ग्रेस वर्तमान अवस्थामा सावाँको ब्याजसमेत खान नपाउने गरी खुम्चँदै रक्षात्मक अवस्थामा उभिन बाध्य भएको छ । हिङ नभए पनि हिङ बाँधेको टालोको रूपमा मात्र काङ्ग्रेसीजनको परिचय फेरिएको छ भने आफ्नै बिनाको सुगन्ध थाहा नपाउने कस्तुरी मृगजस्तै भएको छ काङ्ग्रेस । ०७ को क्रान्ति, ०१५ को पहिलो संसदीय निर्वाचन, ०३६ को जनमतसङ्ग्रह, ०४६ को प्रजातन्त्र पुनस्र्थापना, ०६३÷०६३ को जनआन्दोलन, ०६३ को बृहत् शान्तिसम्झौता, ०७२ को संविधान घोषणा र ०७४ को तिनै तहको निर्वाचन सबैमा काङ्ग्रेसको निर्णायक भूमिका र नेतृत्व रहेको इतिहास साक्षी छ ।

। नेपालको राजनीतिमा काङ्ग्रेस सधैँ मियो बनिरह्यो । नेपाली काङ्ग्रेसको गौरवशाली इतिहासलाई बचाइराख्न जीवनको उत्तरार्ध अथवा पूर्वार्धमा महामानव बीपी कोइराला, सर्वमान्यनेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, नेता सुवर्णशमशेर, राजनेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको नेतृत्वदायी भूमिकाकै कारण हो काङ्ग्रेसको सुनौलो इतिहास ।

‘नेता आवश्यकता र आकस्मिकताको संयोगबाट जन्मिन्छ’ यो भनाइ हो कार्लमाक्र्सको । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर राणा, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला यसै सिद्धान्तबाट नेता भए भने शेरबहादुर देउवा यसको ठीक विपरीतबाट । आवश्यकता र आकस्मिकता दुवै पाटोबाट नेता नभई चिट्ठामा नेता बनेका हुन् देउवा । इतिहासमै कमजोर अवस्थामा रहेको काङ्ग्रेस ओरालो लाग्नुमा १३औँ महाधिवेशन कारक बनेको यहाँ चर्चा गर्नु आवश्यक छैन । काङ्ग्रेसको घरको जग भत्काउने कार्य भएको छ विशेष गरेर १३औँ महाधिवेशनपछि । महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पार्टीलाई पूर्णता दिन पदाधिकारी र केन्द्रीय सदस्यहरूको मनोनयन नगरी पार्टीलाई अपाङ्ग बनाएका छन् । पार्टीलाई विधानतः विधि एवम् प्रक्रियाअनुसार सञ्चालन गर्न र सङ्गठन क्रियाशील बनाउन पूरै अक्षम र असफल देउवा पार्टीको आन्तरिक राजनीतिमा भने शक्तिशाली बन्दै गएका छन् । तीनै तहको निर्वाचनमा पार्टीले व्यहोरेको लज्जाजनक हारमा देउवाको एकल कार्यशैली र भूमिका जिम्मेवार छ । पार्टीलाई बन्धक बनाएका देउवाले साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरी आफू जित्दै गए भने सिङ्गो पार्टी हार्दै गयो । देउवाका ढाल बनेकाले कहिलेसम्म देउवालाई साथ दिइरहने ? व्यक्ति ठूलो हो कि पार्टी ? देउवाको विकल्प खोज्न जरुरी छ काङ्ग्रेसले ।

एकता केन्द्रको नामबाट ०५२ माघमा ४० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको एकता केन्द्रको माग सम्बोधन नगरी परिवर्तनको भाषा देउवाले नबुझ्दा देश गृहयुद्धमा धकेलियो । देउवाकै अदूरदर्शिताको कारण १० वर्षे जनयुद्धलाई बल पुग्यो । देउवाको प्रधानमन्त्रित्वकाल सधैँ विवादित बन्दै आएका छन् । चौथो प्रधानमन्त्रित्वकाल झनै विवादित बन्न पुग्यो । सरकार कामचलाउ भएपछि देउवा नेतृत्वको सरकारले गरेका निर्णय विवादमुक्त भएनन् । कतिपय निर्णय कार्यान्वयन नहुने र बेवारिसे हुने निश्चित छ । सत्ता सधैँ आफ्नैवरिपरि मात्र घुमोस् भन्ने तीव्र इच्छा र महत्वाकाङ्क्षा राख्ने राजनीतिका बेइमान खेलाडी शेरबहादुर देउवाले केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई मधुमासको समय नदिने ऐलान गर्नु भनेको नाङ्लो ठटाएर हात्ती तर्साउनुजस्तै हो । यो संसदीय मूल्य, मान्यता र परम्पराविपरीत हो । विद्यादेवी भण्डारीसँग काङ्ग्रेस रुष्ट भएकै कारण विद्यालाई निर्विरोध हुनबाट रोक्न काङ्ग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार चयन ग¥यो । विद्यादेवी भण्डारी एमालेको उम्मेदवार बन्दै साझा उम्मेदवार बन्न सकिनन् । राईको उम्मेदवारी विद्याप्रतिको काङ्ग्रेसको साङ्केतिक विरोध मात्र हो । यसले राष्ट्रपतिमा राईको उमेदवारीको पुस्ट्याइँ हुँदैन । सभामुख सिङ्गो सदनको नेता हुने हुँदा सभामुखमा उम्मेदवारी नदिने काङ्ग्रेसको निर्णय उचित निर्णय हो । माओवादी केन्द्रसँग सम्बन्ध सुधारको प्रयास हो ।

पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै नेतृत्व छाड्न देउवामाथि तीव्र दबाब परे तापनि देशभरिका कार्यकर्ताको भावनामाथि खेलवाड गर्दै संसदीय दलको नेता बन्न देउवाले जुन घृष्टता गरे त्यसले काङ्ग्रेसप्रतिको मतदाताको आशा र भरोसा घटेको छ भने कार्यकर्ताको भावनामाथि गहिरो चोट लागेको छ । पार्टीभित्रको चर्को विवाद र दबाबबीच पनि सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्नु भनेको पार्टीले अरू क्षति व्यहोर्नु हो ।

प्रजातन्त्रको लडाइँमा कहीँ कतै न कतै शेरबहादुर देउवा जोडिएका छन् । नेपाली काङ्ग्रेसको इतिहासमा देउवालाई अवमूल्यन गरियो भने त्यो न्यायोचित हुँदैन । देउवाले गरेका उचित–अनुचित, राम्रा–नराम्रा कामको मूल्याङ्कन भएकै छ र हुँदै जाला । देउवाले गरेको त्याग र योगदानको क्षतिपूर्ति पाइसकेका छन् । ‘आइरन चक्की’ दिनुपर्ने गर्भवती महिलालाई म्याग्दीको बेनी अस्पतालले जुकाको औषधि ‘अल्वेन्डाजोल’ र काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि भर्ना भएकी चितवनकी बिनु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरेजस्तै हो नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसलाई सुधार गर्दै गतिशील बनाउँछु भन्नु । पहिला लागेको कालो दाग मेटाउन धोइपखाली गर्ने अवसर त देउवाले गुमाए नै, भविष्यमा पश्चात्तापमा छटपटाउनुबाहेक उनीसँग बाँकी विकल्प केही हुनेछैन । देउवाका अबका दिन सहज र सरल पक्कै हुने छैनन् । राजनीतिमा पदले कद केही त बढ्ला जो क्षणिक हुन्छ तर त्यागले प्रतिष्ठा जोगाउन सकिन्छ जो पछिसम्म रहन्छ । झट्ट हेर्दा संसदीय दलको नेता चुनिनुलाई देउवाले आफ्नो ठूलै उपलब्धि र जित ठाने पनि यसले देउवाको उचाइ झनै घटेको भनाइ छ राजनीतिक विश्लेषकहरूको ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिने बहानामा २०७४ फागुन २१ गते दुईदिने भ्रमणका लागि नेपाल आएका पाकिस्तानका प्रधानमन्त्री सहिदखान अब्बासीले चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ (बीआरआई) बारे नेपालका प्रधानमन्त्रीसँग चासो राख्नु स्वाभाविक मानिँदैन । चीनको सन्देशसमेत बोकेर आएका अब्बासीको भ्रमणलाई अहिलेको भूराजनीतिक पृष्ठभूमिमा अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमण तालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गर्ने कार्यक्रम नभए तापनि अब्बासीले प्रचण्डलाई भेट्नु र नेपाली काङ्ग्रेसका सभापति तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई नभेट्नुले अब्बासीको भ्रमणलाई शङ्काको दृष्टिले हेरेका छन् राजनीतिक विश्लेषकले । अब्बासीले कम्युनिस्ट नेतालाई मात्र भेटे भने डेमोक्रेट्सलाई भेटेनन् । पाकिस्तानकै पूर्वराष्ट्रपति ज्याउलहकको नेपाल भ्रमणको झल्को दियो अब्बासीको भ्रमणले । ज्याउल हक र अब्बासीको भ्रमणलाई एकै प्रकारको भ्रमणको रूपमा विश्लेषण गर्न सकिन्छ । पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई महत्व नदिनु काङ्ग्रेस पार्टीकै उपहास र उपेक्षा होइन र ? यसले देउवालाई लज्जा तथा हीनताबोध भएको छ कि छैन ?

आफ्नै सभापतिविरुद्ध बाहिर वक्तव्यबाजी गर्ने केन्द्रीय सदस्य तथा सांसदहरू कमजोर कडी साबित भए पार्टी तथा संसदीय दुवै मोर्चामा । पार्टीको १३औँ महाधिवेशनमा देउवाको पक्षमा लागेकासमेत देउवाको विपक्षी कित्तामा उभिँदा पनि उनीहरूको भूमिका कमजोर देखिएको छ । देउवाविरोधी धार रक्षात्मक बन्न पुगेको छ । पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै नेतृत्व छाड्न देउवामाथि तीव्र दबाब परे तापनि देशभरिका कार्यकर्ताको भावनामाथि खेलवाड गर्दै संसदीय दलको नेता बन्न देउवाले जुन घृष्टता गरे त्यसले काङ्ग्रेसप्रतिको मतदाताको आशा र भरोसा घटेको छ भने कार्यकर्ताको भावनामाथि गहिरो चोट लागेको छ । पार्टीभित्रको चर्को विवाद र दबाबबीच पनि सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्नु भनेको पार्टीले अरू क्षति व्यहोर्नु हो । कार्यकर्ताको समर्थन र विश्वास गुमाइसकेका देउवाको जितले आमकार्यकर्तामा उत्साह सञ्चार गरेन । सिङ्गो नेपाली काङ्ग्रेसको भन्दा पनि आफ्नो गुटको मात्र सभापति बने देउवा । आफ्नै नेतृत्वमा सम्पन्न निर्वाचनमा पहिलो पार्टी दोस्रोमा पुग्दासमेत हारको समीक्षा गर्न तयार नभएका देउवा संसदीय दलको नेतामा चुनिनुले काङ्ग्रेसको राजनीति तरङ्गित भएको छ । देउवाविरोधी खेमालाई झड्का लागेको छ ।

नेपाली काङ्ग्रेसलाई क्षतविक्षत पारेका देउवा पक्ष र पौडेल पक्षको सङ्घीय संसदमा प्रत्यक्षतर्फ हाराहारी सांसद सङ्ख्या भए तापनि समानुपातिकमा विभेदपूर्ण रूपले आफ्ना दासको भिड जम्मा गर्न देउवा सफल भएपछि संसदीय दलको नेतामा आफू चुनिनेमा देउवा ढुक्क थिए । संसदीय दलको नेतामा आफूले उम्मेदवारी नदिँदा पुरानो संस्थापन पक्ष हाबी भई संसदीय दल र पार्टी नेतृत्व दुवैमा पुरानो संस्थापन पक्षले कब्जा जमाउला भन्ने मनोविज्ञान तथा लघुताभासले देउवाले उम्मेदवार हुने निर्णय गरे । देउवाको उम्मेदवारी आफ्ना गुटका नेता–कार्यकर्ताको भरण–पोषण र संरक्षणका लागि पनि थियो । देउवाले पद त्याग गरे आफ्नो बिल्लीबाठ हुने र पछि परिने भयले सताएको थियो देउवामार्का काङ्ग्रेसलाई । देउवाको विकल्प नखोज्ने र नदेख्नेले पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ । नैतिक धरातल गुमाइसकेका देउवाले आफ्नै राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालाले बसालेको अभ्यास र नजिरलाई समेत निरन्तरता दिएनन् । यहाँ स्मरणीय छ २०५१ मा पार्टीको पराजयपछि आफू संसदीय दलको नेतामा अघि नबढेर कोइरालाले यिनै देउवालाई अवसर दिएका थिए । जुन अवसरकै कारण देउवाले ४९ वर्षको युवा अवस्थामै मुलुकको प्रधानमन्त्री बन्ने सौभाग्य पाएका थिए । दुईतिहाइभन्दा बढी मतसहित संसदीय दलको नेतामा निर्वाचित भएर काङ्ग्रेसको आन्तरिक राजनीतिमा देउवा थप बलियो र शक्तिशालीजस्तो देखिए तापनि काङ्ग्रेसमा सल्किएको भुसको आगो अरू बढेर गएको छ ।

(लेखक सहिदपुत्र हुन् ।)