भारतको त्यस्तो सोच छैन : करण सिंह

भारतको त्यस्तो सोच छैन : करण सिंह


भारतीय कङ्ग्रेस आईका वरिष्ठ नेता एवम् विद्वान् व्यक्तित्व करण सिंह नेपालविज्ञको रूपमा पनि परिचित हुनुहुन्छ । बारम्बार नेपाल आइरहने सिंहको यसपटकको नेपाल भ्रमण निकै चर्चामा रह्यो । नेपालीसँग पारिवारिक सम्बन्धसमेत रहेका सिंहसँग घटना र विचारका लागि ऋषि धमलाले गरेको कुराकानीको मुख्य अंशहरू
यसपालि तपाईं नेपाल किन आउनुभएको ?
यसपटक म नेपालसँगको सांस्कृतिक सम्बन्धलाई अझै विस्तार र विकसित गर्नका आएको हुँ । आएकै दिन मैले आर्मी अफिसर क्लबमा राष्ट्रपति महोदयको उपस्थितिमा भएको मदनमोहन मालवीयको १५०औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर सम्बोधन पनि गरेँ । बनारस हिन्दू विश्वविद्यालयको कुलपतिको नाताले नेपाल भ्रमणमा आएको हुँ । नेपालका लागि महामहिम भारतीय राजदूत जयन्त प्रसाद र भारत सरकारको सहयोगमा पुनर्निर्माण भएको पाटनको कीर्तिविहार उद्घाटन समारोहमा सहभागी हुन पनि नेपाल आएको हुँ । त्यस्तै, भारत सांस्कृतिक सङ्घको कार्यक्रममा पनि सहभागी भएँ । भारत–नेपाल मैत्री सङ्घको वेबसाइट उद्घाटन गरँे । यस्ता यस्तै कार्यक्रममा सहभागी हुन म नेपाल आएको हुँ ।
तपार्इंको राजनीतिक मिसन पनि थियो भनेर भन्ने गरिन्छ नि ?
यो गलत प्रचार हो । मेरो नेपालसँग पारिवारिक सम्बन्ध छ । यहाँ आउँदा विभिन्न व्यक्तिसँग भेटघाट हुन्छ । राजनीतिक नेताहरूसँग पनि भेटघाट हुने कुरा स्वाभाविक नै हो । त्यसलाई राजनीतिक गन्ध दिएर हेर्नुहुँदैन । भारत नेपालमा जहिले पनि राजनीतिक स्थायित्व चाहन्छ, आर्थिक सम्पन्नता चाहन्छ । हामी सबैको चाहना नेपालमा विकास हुनुपर्छ, त्यसका लागि भारत जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।
तपाईं सहभागी भएको रात्रिभोजमा शीर्ष नेताहरू सहभागी थिए, त्यहाँ त राजनीतिक कुराकानी भयो होला नि ?
नेपालका शीर्ष नेताहरूसँग भेट्दा राजनीतिक कुरा नहुने त कुरै भएन । तर पनि त्यहाँ कसको नेतृत्वमा सरकार बनाउने, कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे कुराकानी भएन । नेपालको विषयमा राजनीतिक निर्णय लिने काम नेपालकै राजनीतिक दलका नेताहरूले गर्ने हो । मलाई विश्वास छ– यहाँ यस्ता अनुभवी र क्षमतावान नेताहरू हुनुहुन्छ । उहाँहरूले आफैँ नेपालको समस्या समाधान गर्न सक्नुहुन्छ । नेपालको राजनीतिबारे भारतको केवल चासो र जिज्ञासा मात्रै छ । निर्णय गर्ने काम नेपाली जनता र यहाँका राजनीतिक नेताकै हो । त्यसमा भारतको सहयोग चाहिँदैन ।
रात्रिभोजमा सहमति भयो भनेर भनिन्छ नि ?
खोइ, त्यस्तो मलाई केही थाहा छैन । त्यहाँ राजनीतिक कुरा धेरै भएन । केवल हालखबर सोधियो, परिस्थिति बुझियो । कुनै विषयमा सहमति भयो भनेर भनिनु त्यो गलत कुरा हो ।
बाबुराम भट्टराई नेतृत्वको सरकारको आयु लम्ब्याउन तपाईं आउनुभएको भनेर भन्ने गरिन्छ नि ?
ऋषिजी, तपार्इं मलाई फसाउन नखोज्नुस् । यस्तो कुरा त्यहाँ केही भएकै छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मैले भेट्नै पाइनँ । उहाँँसँग कुरै भएको छैन । यस्तो गलत अफवाह फैलाउन हुँदैन । भारतले नेपालमा अहिले कसलाई प्रधानमन्त्री बनाउने वा राख्ने भन्ने विषयमा कुनै चासो राखेकै छैन । कसलाई प्रधानमन्त्री र कस्तो सरकार बनाउने भन्ने कुरा यहीँका नेताले गर्ने कुरा हो ।
भट्टराई सरकारलाई तपार्इंहरूको समर्थन त छ नि ?
नेपालप्रति भारतको सद्भाव छ । यहाँको उन्नति, प्रगति र विकास चाहन्छ । खालि हामी यहाँका सबै दल मिलेर राष्ट्रिय सहमति कायम गरेर नेपालमा राजनीतिक स्थायित्व होस् र निर्वाचन सम्पन्न गरेर नेपालको लोकतन्त्र संस्थागत होस् भन्ने चाहन्छौँ । संविधानसभाबाट नयाँ संविधान बनेर नेपालको सङ्क्रमणकाल छिटोभन्दा छिटो अन्त्य होस् । यसबाहेक हाम्रो कुनै पनि विषयमा चासो छैन । कसलाई प्रधानमन्त्रीमा टिकाइरहने भन्ने विषयमा कुनै चासो राख्दैनाँै ।
त्यसो भए काङ्ग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन चाहेको हो त भारतले ?
यस्तो कुरै नगर्नुस् तपाईं, राजनीतिक कुरा यसपटक म गर्न आएको पनि होइन र गर्न पनि चाहन्नँ । कसैलाई प्रधानमन्त्री बनाउन म यहाँ आएको होइन । त्यस्तो सोच भारतको छँदा पनि छैन । नेपालको राजनीतिक मुद्दामा भारतको केवल छिमेकीको नाताले चासो हुन सक्छ तर कहिल्यै पनि हस्तक्षेप हुँदैन । अहिलेसम्म त्यस्तो भएको पनि छैन । नेपालमा प्रधानमन्त्री बनाउने काम यहीँका राजनीतिक शक्ति र जनताको हो । भारतको त केवल सद्भाव हो । हाम्रो अत्यन्त नजिकको छिमेकी हो नेपाल । नेपालीको सम्पन्नता नै छिमेकीको नाताले भारतको चाहना हो ।
नेपालमा राष्ट्रिय सहमति कायम होला ?
मलाई विश्वास छ, नेपालका दलहरू राष्ट्रिय सहमति कायम गरेर मुलुकलाई निकास दिन सक्षम छन् । मेरो शुभकामना यति मात्रै छ कि नेपालमा सहमति होस् र मुलुकले निकास पाओस् । यसबाहेक भारतले अहिले कुनै पनि विषयमा चासो राखेको छैन ।
वैशाखमा चुनाव होला त ?
चुनाव हुनुपर्छ, यसको विकल्प छैन । लोकतन्त्रलाई बलियो बनाउन चुनावबाहेक अर्को कुनै विकल्प मैले देखेको छैन । त्यसैले मलाई विश्वास छ, नेपालमा राष्ट्रिय सहमतिका साथ चुनाव हुन्छ ।