पूर्वयुवराज पारसलाई थाइल्याण्डमा ड्रग्सको मामलामा कारबाही गरिएको समाचारले भन्दा पनि पूर्वराजा ज्ञानेन्द्रका परिवारले यस्तो अवस्थामा पनि पारसलाई कुनै सहयोग र साथ नदिएको भन्ने खबरले मलाई बढी पीडा पुर्यायो । ड्रग्सको व्यवस्थापनमा लामो समय काम गरेको कारण मलाई यो कुरा राम्ररी थाहा छ कि कुनै पनि युवायुवती ड्रग्समा पर्नुमा केवल ती व्यक्तिको मात्र दोष हुँदैन वल्की मातापिता र परिवारको पनि ठूलै दोष हुने गर्छ । ड्रग्सको समस्यामा परेका अन्य परिवारका अभिभावकले झैं पारसका अभिभावक पूर्वराजा ज्ञानेन्द्रका परिवारले पनि आफ्ना छोराछोरीको कारणबाट शिर निहुरिएको अनुभूति गरिरहनुभएको हुनसक्छ । तर, त्यस्ता सबै परिवारले के पनि बुझ्न जरुरी छ भने जबसम्म हामी आफ्ना छोराछोरीमा भएको ड्रग्स लिने आदतलाई सुधार्न सक्दैनौँ तबसम्म भविष्यमा पनि यस्ता अनेकौँ पीडादायी क्षणहरू अझै व्यहोर्नुपर्ने पनि हुनसक्छ । अर्को एउटा महत्र्वपूर्ण कुरा के पनि बुझ्नुपर्छ भने यदि ड्रग्समा छोराछोरी परेका छन् भने आमाबाबुहरूले तिनलाई ड्रग्सबाट बाहिर निकाल्न धम्की, डर, त्रास, माया, दया, आँसु वा ठूलो पद र सम्पत्ति दिएर सम्भव हुँदैन । यो कुरा नबुझ्नाले अभिभावकहरू ड्रग्स लिएका कुरा लुकाएर सुधार गर्ने नाममा झन् बढी ड्रग्स खाने अवसर र स्रोत जुटाइदिइरहेका हुन्छन् । उनीहरूलाई लाग्छ मैले यो छोरा वा छोरीका लागि यतिसम्म ठूलो त्याग र बलिदान दिएँ तर यसले मेरो भावना बुझी ड्रग्स छोड्न सकेन । यस्ता सोचाइ राखी त्यस्ता अभिभावकहरू आफ्ना छोरा वा छोरीसँग आक्रोशित र दु:खी भएर बोल्नसमेत छोड्न सक्छन् । उनीहरू मनमनैबाट यति धेरै चित्त दुखाउन थाल्छन् कि त्यस्ता अभिभावक ब्लडप्रेसर, मुटु रोग र मधुमेहजस्ता रोगबाट आफँै पीडित हुन पुग्छन् । तर, छोराछोरीले ड्रग्स भने छोड्न सक्दैनन् किनकि उनीहरूले गरेका प्रयासले छोराछोरीको ड्रग्स छोड्ने क्षमता बढाउन कुनै योगदान दिइरहेको हुँदैन । जब यसरी मातापिता र परिवारजनले त्यस्ता व्यक्तिसँग बोलचाल गर्न र वास्ता गर्न छोड्छन् त्यसपछि त्यो व्यक्ति झन् ठूलो ड्रग्सको दलदलमा पर्छ र नचाहँदानचाहँदै पनि त्यो परिवारमा अनेकौँ नयाँनयाँ समस्या आउन थाल्छन् । यस्तो गर्नु गम्भीर भूल सावित हुनेछ । मलाई लाग्छ– पारसको परिवारबाट पनि सायद यस्तै गल्ती भइरहेको छ ।
ड्रग्समा परेका परिवारले आफ्ना छोराछोरीलाई त्यस अनैतिक कामका लागि दोष लगाउने गर्छन् । तर, दोष ती केटाकेटीको मात्र हुँदैन वल्की मातापिता र समाजको पनि हुन्छ । आज राजदरबारमा जन्म पाएका पारस ड्रग्समा पर्नुमा पनि उनका मातापिता पूर्वराजा ज्ञानेन्द्रको परिवारबाट केही गम्भीर गल्ती भएकै छ । मेरो विचारमा राजा ज्ञानेन्द्रका परिवारबाट भएको पहिलो गल्ती थियो उहाँहरूले छोरा पारसलाई हिसाब, अङ्ग्रेजी, विज्ञान, अर्थशास्त्र, व्यापार–व्यवसाय, राजनीति सिकाउनुपर्छ भन्ने मान्यता राख्नुभयो । तर, ड्रग्सको खराब पक्षबारे पनि सिकाउनु–बुझाउनुपर्छ भन्नेचाहिँ हेक्का राख्नुभएन । उहाँलाई सायद लाग्यो कि यो जान्नुपर्ने कुरै होइन । यहि गल्तीका कारण पारसले अरू शास्त्र बुझे पनि ड्रग्सलाई राम्ररी बुझ्न पाएनन् र यसको धरापमा सजिलै पर्न पुगे । दोस्रो पारसको अभिभावकबाट भएको गल्ती थियो कि उहाँहरू आफैँले पनि ड्रग्सबारे राम्ररी बुझ्नुभएन । यदि बुझेको भए दरबारमा रक्सी, वाइन, बियरजस्ता संसारमा सबैभन्दा धेरै दुरुपयोग हुने ड्रग्समाथि उहाँले नियन्त्रण राख्नुहुन्थ्यो होला । दरबारमा परिवारसहित बसेर मदिरापान गर्ने प्रचलन नै आखिर दरबारकाण्डको थलो र कारण बन्न पुग्यो । उहाँले देशमा मदिराविरुद्ध अभियान कहिल्यै चलाउनुभएन । यसको दुस्प्रभाव छोरा पारसमा पनि पर्न पुग्यो । नजिकका सूत्रहरूले बताउने गर्छन् कि पूर्वयुवराज पारस मदिरा नपिउँदा ज्यादै भद्र हुन्छन् र मदिरा सेवनपश्चात् उग्र हुने गर्छन् । यो कुरा अभिभावक ज्ञानेन्द्रले महसुस गरी दरबारभित्र मदिरा र अन्य नसाजन्य पदार्थमाथि नियन्त्रण गर्न सकेका भए सायद आज पारस यो अवस्थामा पुग्ने थिएनन् होला । यो बुँदामा पनि ज्ञानेन्द्रको परिवारबाट कमजोरी भएकै हो ।
तेस्रो राजदरबारमा हुर्केका केटाकेटीहरूलाई कहिल्यै पनि नेपालको सामाजिक सेवाको क्षेत्रमा सक्रिय पारिएन जसरी थाइल्याण्डका राजपरिवारका सदस्य त्यो देशका हजाराँै समाजसेवाका क्षेत्रमा सक्रिय पारिएका छन् । एकप्रकारले भन्ने हो भने उनीहरूलाई केवल शासक हुन सिकाइयो सेवक हुन होइन । देशको गरिबी, विवशता बुझ्न लगाउनुभन्दा पनि सेनाको सलाम खानमै उनीहरूलाई व्यस्त र अभ्यस्त बनाइयो । जब उनीहरूलाई सेनाको घेराबाट बाह्य समाजमा जान बन्द गरियो त्यसपछि उनीहरू दरबारको सानो इलाकामा रहन बाध्य भए । दरबारभित्र अरू गर्ने रचनात्मक काम उनीहरूले केही देखेनन् र रमाइलो गर्ने नाममा पार्टी, क्यासिनो, डान्स, सिकारजस्ता कुरामा मात्र अधिकांश समय खर्च गर्न थाले । जब पार्टी, क्यासिनो, डान्स, सेक्सको कुरा आउँछ तब त्यहाँ नसाजन्य कुराको पनि आगमन हुन्छ । यही बाध्यता र वातावरणका कारण अधिकांश दरबारका टिनएजर सदस्य रक्सी, वाइन, गाँजा, चरेसजस्ता लागूऔषधमा फस्न पुगे । उनीहरू मात्र होइन उनीहरूसँग नजिकका सम्बन्ध भएका सर्वसाधारणका छोराछोरीहरू पनि त्यस्तो कुलतमा पर्न पुगे । राजपरिवारका गतितिधि गोप्य हुने हुँदा बाह्य समाजलाई त्यो कुरा थाहा भएन । थाहा भए पनि बोल्ने क्षमता कसैको हुन्थेन । कसैले बोलिहाले भने पनि तिनलाई दरबारले स्वाहा पारिहाल्थे । अत: जुन प्रकारले दरबारका टिनएजरहरूलाई सही दिशा देखाई देश र जनताका दु:ख बुझ्न पठाउनुपथ्र्यो त्यसरी ज्ञानेन्द्रले पनि पारसलाई पठाउन सक्नुभएन जस्का कारणले उनी पार्टी डिस्को, क्यासिनोबीच अड्किन पुग्दापुग्दै ड्रग्सको कुलतमा पर्न पुगे ।
पारस ड्रग्सको समस्यामा पर्नुको अर्को महत्र्वपूर्ण कारण थियो दाजु दीपेन्द्र तथा नीराजनको ड्रग्स लिने आदत । दीपेन्द्र बुढानीलकण्ठ स्कुल पढ्ढादेखि नै ड्रग्स लिने गर्दथे । उनका भाइ नीराजनले पनि बेलायतको इटन कलेजमा पढ्दा ड्रग्स लिएका कारण तत्कालीन मिलिटरी ऐटेची इन्द्र कार्कीको कर्णेलबाटै जागिर गएको थियो । इन्द्र कार्कीले नीराजनमाथि लगाम लगाउन खोज्दा उनी कलेजबाटै भागी आफ्ना काकाका छोरीहरूकहाँ गएर बसे । रानी ऐश्वर्यले कर्णेलको सत्प्रयासको उल्टो अर्थ लगाई ती अफिसरको जागिर नै खाइदिइन् । यदि ती कर्णेलको कुरा दरबारले त्यतिबेला राम्ररी बुझिदिएको भए सायद दरबार हत्याकाण्ड नै घट्ने थिएन होला । पारसले पनि जब नसाजन्य कुरा लिएर सवारी दुर्घटना र गोलीकाण्ड मच्चाउन थाले त्यति बेला ज्ञानेन्द्रले पनि उनको खराब आदतलाई नियन्त्रण गर्न ठोस कदम चाल्नुपथ्र्यो, तर त्यो भएन । गायक प्रवीण गुरुङको दुर्घटना काण्डमा उनलाई कुनै सजाय भएन जसले गर्दा उनको बद्मासी गर्ने मनोबल घट्नुको सट्टा झन् बढ्न पुग्यो । हुनेवाला राजा दीपेन्द्र नै ड्रग्स लिने भएपछि दाजुका भक्त पारस पनि सुरक्षित हुने नै भए । अभिभावक ज्ञानेन्द्रले पनि यो कुरा नबुझेको पक्कै थिएनन् होला ? । यदि उनले त्यो सर्कलभन्दा पनि आफ्ना छोरालाई प्रभाकरशमशेर राणाका छोरा सिद्धार्थको सङ्गत बढी गराउन सकेका भए सायद यस्तो दिन नआउन पनि सक्थ्यो होला । तर, त्यहाँ पनि ज्ञानेन्द्रबाट गल्ती भएकै छ । जब अभिभावक ज्ञानेन्द्रलाई छोरा पारसले नसाजन्य कुराहरू लिने थाहा भयो त्यसबाट बाहिर निकाल्न उहाँले यस विषयका ज्ञाताहरूसँग परामर्श आदि लिएको कहिल्यै देखिएन–सुनिएन । यो समस्याको समाधान के हुनसक्छ ? भनेर गभ्भीरताका साथ खोजिएको पनि देखिएन । ड्रग्सकै कारणले वीरेन्द्रको वंशमा आएको समस्या देखिसकेपछि पनि पारसलाई ड्रग्सबाट बाहिर निकाल्न पिताबाट ठोस पहल भएको–गरिएको देखिएन । ड्रग्समा परेको परिवारमा जतिजति बाबुछोरामा मतभेद बढ्दै जान्छ त्यतित्यति संवाद कम हुँदै जान्छ र जतिजति संवाद कम हुँदै जान्छ एक–अर्काप्रतिको सरोकार पनि घट्दै जान्छ जसले गर्दा छोराछोरीले झन् बढी ड्रग्स लिने स्वतन्त्रता र वातावरण पाउने गर्छन् । ज्ञानेन्द्रका परिवारबाट पनि यस्तो गल्तीहरू भएको हुन सक्छ जसले पारसलाई झन् बढी स्वतन्त्रता दिएको होस् ।
जब ज्ञानेन्द्र राजा भए, त्यो परिवारमाथि नै दाजुको वंश नाश गरेको आरोप पनि थियो । आरोप लगाउन त्यतिबेला विदेशी शक्तिहरू पनि सक्रिय थिए । राजाको शासन नचाहने विदेशी शक्तिहरूका लागि जनताबाट त्यो शासन कमजोर बनाउनभन्दा पनि परिवारबाटै कमजोर बनाउन सजिलो हुन्थ्यो । एक छोरा ड्रग्समा पर्दा सद्दाम हुसेनले त्यो छोरालाई थुनेरै राखेका थिए । त्यही छोराका कारणले उनको शासन निकै अलोकप्रिय बन्न पुग्यो किनकि ती छोराले हारेर आएका खेलाडीहरूलाई गोली नै हानिदिएका थिए । साउदी अरबमा त ड्रग्स लिने राजकुमारलाई बाबुले नै गोली ठोकेको घटना पनि छन् । राजा ज्ञानेन्द्रले पनि राजा भएपश्चात् छोरालाई जबर्जस्ती युवराज घोषणा गर्नतिर लाग्नुभन्दा पनि नैतिक रूपले माथिल्लो स्तरमा राख्न प्रयास गनुपथ्र्याे, तर त्यो भएन । युवराज घोषणा नै समस्याको हल भएको ठानियो तर आज त्यतिबेला त्यत्रो रिस्क उठाई युवराज घोषणा गरे पनि छोरा पारसले ज्ञानेन्द्रलाई धन्यवाद दिएको सुनिएको छैन, बरु बाबुबाटै टाढाटाढा बसेको अवस्था छ ।
अत: पारस आज जुन अवस्थामा पुगेका छन् यस्तो अवस्थामा परिवारले तिरस्कार गरे पारस झन् नयाँ–नयाँ समस्यामा पर्नेछन् । उनलाई अहिले तिरस्कार र गालीको होइन उपचार र पुनस्र्थापनाको जरुरत छ । पद, धन, शक्ति, वैवाहिक सम्बन्ध वा विदेशको बासले ड्रग्स छोड्न सकिँदैन । ड्रग्स छुटाउने एक सशक्त विधि हो नार्कोनन् पाठ्यक्रम । पारस वास्तविक रूपमा असल व्यक्ति भएको नजिकका मान्छेहरू बताउँछन् । यदि उनको नसाको समस्या हट्न सक्यो भने त्यो परिवारमा पुन: खुसी फर्कन सक्छ र नार्कोनन् नेपाल यस कुरामा ज्ञानेन्द्रको परिवारलाई पूर्ण सहयोग गर्न तयार छ ।
प्रतिक्रिया