महिला वेश्यावृत्तिमा लाग्नुपर्ने कारणहरू

महिला वेश्यावृत्तिमा लाग्नुपर्ने कारणहरू


– शोभा गौतम

महिलाहरू अहिले पनि पुरुषहरूले विभिन्न प्रकारले दबाएकै कारण बढी उत्पीडित भइरहेका छन् । व्यक्तिका रूपमा एकजना महिलाप्रति हुने व्यवहारलाई हेर्दा उनी पुरुषको मुखापेक्षी हुन्, व्यक्तिगत स्वतन्त्रताको अभाव, सामाजिक, राजनीतिक र आर्थिक रूपमा भेदभाव गरिनुजस्ता व्यवहारले महिला सधैँ दबाइएकी हुन्छिन् । यौनिक गालीहरूले पनि महिलालाई जहिलेसुकै पनि ‘उनीहरू केवल’ यौनक्रिया गर्ने वस्तु’ मात्र भएको र पुरुषहरूलाई सन्तुष्टि दिने र खुसी पार्ने वर्ग मात्र भएको विश्वास दिलाउँछन् ।

यही सामाजिक परम्परा र व्यवहारका कारण नै महिलालाई विवाहले यौनशोषणका लागि उम्मेदवार खडा गर्छ । साथै यस परम्पराले काममा समेत शोषण गर्दै अन्त्यमा यौन व्यवसायमा समेत पुरुषलाई सन्तुष्ट दिने वर्गका रूपमा प्रस्तुत गर्छ । पत्रपत्रिकाहरूमा प्रकाशित या सबैले चिनेका कतिपय वेश्यावृत्तिमा संलग्न महिलाको जीवनलाई बुझ्ने हो भने उनीहरू बालकालदेखि नै तुच्छ गाली खपेर साथै अनेक उत्पीडन खपेर पनि भेदभारको सिकार भइरहेका हुन्छन् ।

यो वेश्यावृत्ति गरिब महिलाका लागि आयस्रोतको एउटा माध्यम भएको छ । वेश्यावृत्तिका बारेमा लेखिएका कैयौँ लेखले पनि महिला गरिबीका कारण बाध्यतावश वेश्यावृत्तिमा धकेलिएका उदाहरण प्रस्तुत गरेका छन् । यसले पनि महिला आर्थिक सुरक्षाका लागि यस पेसामा लागेको प्रमाणित गर्छ । समग्रमा आर्थिक निर्भरताका लागि आफ्नो असैह्य पीडालाई सहँदै उनीहरू यस पेसामा लाग्छन् र यसलाई नै आयस्रोतको माध्यम बनाउँछन् । त्यसपछि भने केही आम्दानीका अन्य स्रोतहरू दिएमा पनि उनीहरू घरेलु श्रम र अन्य श्रमभन्दा आय आर्जन बढी हुने र बाँच्न सजिलो हुने पेसा ठानी यसमा नै झुम्मिरहन्छन् ।

वर्तमान आर्थिक क्षेत्रमा देखिएको समस्याले र समयको गतिमा भाँच्नुपर्ने बाध्यताले अहिले अर्को समस्या खडा गरिदिएको छ । नेपालका कैयौँ बालिका र महिला भारतलगायत पश्चिमा मुलुकहरूमा समेत बेचबिखन भइरहेका छन् । यहाँबाट काम दिने र रोजगारी दिने बहानामा समुद्रपारसम्म पुयाइएका महिला तथा बालिका वैधानिक र अवैधानिक दुवै रूपमा वेश्यावृत्तिमा लागिरहेका छन् । यही अवस्थामा रोजगारी दिलाउने नाममा महिलालाई विदेश पु¥याउने धेरैजसो संस्था नाफा कमाएर बसिरहेका छन् ।

यो समस्या केवल नेपालमा मात्र देखिएको समस्या होइन, हालैको एक सर्वेक्षणले देखाएअनुसार स्वीटजरल्याण्डको एक सङ्गठनले ल्याटिन अमेरिकाबाट मात्र दश हजार महिला वेश्यावृत्तिका लागि ल्याएको उल्लेख गरेको छ । यसरी लगिएका ती महिला यौन पर्यटन र मिलटरीहरूका लागि वेश्यावृत्ति गर्न उपयोग गरिन्छन् । यो व्यवसायले एउटा राष्ट्र मात्र होइन अन्तर्राष्ट्रिय रूपमा जरा गाडेको छ र यस पेसामा बालिका, बालक र महिला आयात–निर्यात गरिन्छन् ।

वास्तवमा वेश्यावृत्तिमा लाग्ने महिलामध्ये ज्यादै थोरै महिला मात्र स्वतन्त्रतापूर्वक यो पेसा रोज्नेमा पर्दछन् । तर धेरै महिला यो पेसामा आउँदा अन्तिम रूपमा बाँच्ने आधार कतै नपाएपछि, छलकपटद्वारा ल्याइने, सामाजिक उत्पीडनबाट र आर्थिक रूपमा असहाय भएपछि मात्र आइपुगेका देखिन्छन् ।

लैङ्गिक अवधारणाका आधारमा वेश्यावृत्ति

वास्तवमा हाम्रो समाजको संरचना हेर्ने हो भने ज्यादै अमिल्दो किसिमबाट लैङ्गिक रूपमा समाजले पुरुष र महिलाका बीच सम्बन्ध स्थापित गर्ने र कानुन बनाउने गरेको छ । यही परिधिभित्र हेर्दा यौनिक क्रिया पुरुष वर्गका लागि प्राथमिक रूपमा रहेको तथा उनीहरूद्वारा नै दबाइएको छ । सामान्य रूपमा पुरुष वर्गको आफ्नो परिचयमा अधिकार जमाउने व्यक्ति सधै जित्न खोज्ने र सधैँ अरूलाई कज्याउने व्यक्ति नै पूरा वर्गको सारतत्व ठानिन्छ । त्यसै महिलाको परिचयमा पनि सामान्य अर्थमा भन्नु पर्दा विनयी, आज्ञाकारी, सुधो र निष्क्रिय वर्गका रूपमा चिनिन्छन् ।

यसमा महिलालाई यौनिक रूपमा हेर्दा अहिले पनि प्रजनन र मातृत्वसित गाँसिनुका साथै केवल पुरुषका लागि सन्तुष्टि दिलाउने वर्गमा नै चिनिन्छ । अर्थात् किटेर नै भन्ने हो भने पनि महिला भनेको पुरुषका लागि अहिले पनि यौनिक रूपमा आकर्षक र उत्तेजक रूपमा हेर्नुपर्ने हुन्छ ।

वेश्यावृत्ति आफँैमा शोषण भने होइन, तर यसमा आउने अधिकांश महिला महिलामाथि हुने अनेक उत्पीडन खपेर बाध्य भएपछि, बलात्कृत भएपछि या समाजले हेला गरेपछि मात्र यहाँ आइपुग्छन् । त्यसैले यो वेश्यावृत्ति शक्तिको सम्बन्धमा आधारित छ भन्नुमा अत्युक्ति नहोला । यसमा जब पुरुष वेश्यालयमा आफ्नो आत्मसन्तुष्टिका लागि पुग्छ, त्यसबेला उसले महिलालाई आवश्यक रकम तिर्छ । त्यसपछि त्यो महिला त्यही गर्छिन्, जो एउटा लोग्ने मानिस चाहन्छ ।

त्यसैले वेश्यावृत्तिबारे यो कुनै यौनकर्मी महिलाका बारेमा समाचार बनाउँदा या छपाउँदा सामाजिक रूपमा देखिएका समस्यासहित समाचारहरू बनाउन सकेमा वेश्यावृत्तिमा संलग्न महिलाका समाचारभन्दा पुरुषका समाचारले बढी प्रधानता पाउँछ ।

एउटा उदाहरण यो पनि दिन सकिन्छ कि जस्तो हिजोआज धेरैजना महिलासित शारीरिक सम्बन्ध कायम राखी कतिपय पुरुष पुरुषपनको घमण्ड गर्दै भन्ने गर्छन्, ‘मैले त अहिलेसम्म … महिलालाई बिगारिसकेको छु’ तर त्यहाँ यदि वेश्यावृत्ति या यौनमा महिलाको खराबी हुन्थ्यो भने त्यही पुरुष भन्ने थियो होला कि मलाई…. जना महिलाले बिगारिसकेका छन् त्यसैले समाजमा म मुख देखाउन लायक नै छैन र मेरी पत्नीका सामु पर्न पनि लायक छैन ।

त्यो त्यही पुरुष हो, जो सयौँ या दशौँ महिलालाई बिगारेकोमा पुरुषपनको घमण्ड गर्दै पतिलाई परमेश्वर ठानेर बसेकी पत्नीलाई बिगार्न घर पुग्छ । के पत्रकारहरूका लागि यस्ता समाचार समाचार हुँदैनन् ।

(घटना र विचार, २०५४ भदौ १८ गते बुधबार)