अर्थमन्त्रीको श्वेतपत्रले दर्शायो भयावह वित्तीय अवस्था !

अर्थमन्त्रीको श्वेतपत्रले दर्शायो भयावह वित्तीय अवस्था !


सरकारले प्रतिवर्ष आमनागरिकको प्रतिव्यक्ति आय उकास्दै लगिने, पाँच वर्षमा देशको कायापलट नै भएको अनुभूति गराउने जस्ता प्रतिबद्धता लिएको छ, तर अर्थमन्त्री डा. युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै आज संसदमा प्रतुत गर्नुभएको मुलुकको अर्थ-चित्रले भने सरकारको प्रतिबद्धतामाथि नै चुनौती खडा गर्ने देखिएको छ ।

अर्थमन्त्री डा. खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइपूर्ण र अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताउनुभएको छ । पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उहाँले ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन नसकेको र उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम बढी देखिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले श्वेतपत्र जारी गर्ने क्रममा मुलुकको आर्थिक क्रियाकलाप एवम् पूँजीमा जनताको पहुँचको सवालमा बाणिज्य बैंकहरुभन्दा सहकारी संस्थाहरुको योगदान ज्यादा रहेको अभिव्यक्ति दिनुभयो । उहाँको यस अभिव्यक्तिले बाणिज्य बैंकहरुलाई जनताबीच सहज ढंगले पुग्न र आमतहको पहुँच बढाउन चुनौती दिएको ठानिएको छ ।

सरकारले सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रमा पुऱ्याउने लक्ष्य राखेको उल्लेख गर्दै उहाँले उक्त लक्ष्य हासिल गर्न सबै पक्ष लाग्नुपर्ने देखिने बताउनुभयो । रोजगारीमूलक र उत्पादनमूलक क्षेत्रको लगानी संकुचनसँगै थप चुनौती थपिएको बताउँदै अर्थमन्त्री डा. खतिवडाले उद्योग क्षेत्र प्रतिस्पर्धी हुन नसकेको बताउनुभयो । ‘सरकारी लगानीका उद्योग घाटामा छन्, नेपालको श्रम बजारमा बेरोजगार बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा वित्तीय परिचालन आवश्यक रूपमा पुग्नसकेका छैनन् । तरलतामा चाप बढदै गएको छ’, उहाँको कथन छ ।

पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उहाँले बैठकमा शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताउनुभयो । तयारी बिना बजेट विनियोजन गर्ने, आर्थिक वर्षको अन्तिम महिनामा विकासका काम गरेर खर्च गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले राष्ट्रसेवक कर्मचारीको निवृत्तीभरणमा धेरै लगानी भएको बताउनुभयो ।

तस्बिर रासस