असमयको आकृति– दीपेन्द्रसिंह थापा

असमयको आकृति– दीपेन्द्रसिंह थापा


जब मनका अलेखा भूगोलहरू
साँघुरिदै साँघुरिदै
अँध्यारा खोच र गल्छेडाहरूमा
सीमित बन्छन्,
जब आस्थाका पवित्र हिमनदीहरू
धमिलिँदै धमिलिँदै व्यवस्थित सहरका
नाल–ढलभन्दा दुर्गन्धित हुन्छन्,
जब स्वाभिमानका उतुङ्ग उचाइहरू
भत्किँदै भत्किँदै
अवशेषका मसिना टुक्राहरूमा
बाँकी रहन्छन्,
जब स्वतन्त्रताका असीम आकाश
धूमिल बन्दै–बन्दै
कालो रातका किल्लाभित्र
कैद पर्दछन्,
जब सबै सबै सम्भावना
एकपछि अर्को गर्दै
एकपछि अर्को भ्रम छर्दै
बादलका बुट्टाझैँ हराउँछन्,
जब दिन दिनजस्तो हुँदैन
जब रात रातजस्तो हुँदैन
जति जति नै
टाढा रहोस् भन्दाभन्दै पनि
जति जति नै
चाहना नगर्दा नगर्दै पनि
भोग्नै पर्ने रहेछ
अपशकुनको याम
दैख्नै पर्ने रहेछ
असमयको आकृति ।

अलिकति माया, अलिकति दया– तारा दाहाल
अलिकति माया, अलिकति दया
रहोस् सबका लागि मेरो मनमा
केही नभएकालाई
वृक्षले झैं दिन सकुँ छाया

खुसी त्यही शान्ति त्यही
निखार्छ मान्छेभित्रको मान्छे त्यसले
आफ्ना नछुटुन् अटुट मनमा
सारा दुनियाँ

घाम अलिकति, पानी अलिकति
दिन सकुँ सबलाई समान
मनभित्र नलागोस् पर्खाल
मस्तिष्कमा नहोस् सिमाना

अलिकति आड, अलिकति साहस
रहोस् सबका लागि दिन सामथ्र्य
आफूभन्दा उठ्न सकुँ माथि
सबैलाई उठाउँदै साथै

दिनसकुँ अलिकति मान, अलिकति सम्मान
उद्दार होस् ठूलो कर्मको
मनको घर बनाउँ फराकिलो
छाना तल अटोस् दुनियाँ यो

लक्ष्य यही, गन्तव्य यही
बन्न सकुँ केही
आपूm बनुँ, दुनियाँ बनाउँ
उत्साह मेरो यही ।
– एरफोर्ट जर्मनी

कहिल्यै नसकिने सङ्क्रमणकाल नेपाल– गोविन्द थापा
संक्रमणकालको प्रश्रव पिडाले छोपेको पनि दुई दशक नाघिसकेको छ
५०औं वर्षसम्म पनि नसिद्धिने अशुभ लक्षण देखिएको छ
जनता शीर्ष, शक्तिशाली, सार्वभौम सम्पन्न हुन्छ भन्छन्
तर यहाँ यो सुत्र, समीकरण झुटा ठहरिएको छ ।

सप्तकोशी नदीले चक्कर लगाएको भए विश्वलाई नै फन्को मारिसक्थ्यो होला
कछुवाले हिमाल आरोहण गरेको भए उहिल्यै शिखर चुमिसकेको हुन्थ्यो होला
निदाएको मान्छेलाई निश्चित उठाउन सकिन्छ, जगाउन सकिन्छ
तर भौतिक ऐश–आराम र विलाशिलतामा डुबेको नायकलाई बिउँझाउन कहाँ सम्भव होला ?

आजको यो संक्रमणकाल प्राकृतिक पनि होइन
आजको यो संक्रमणकाल स्वभाविक पनि होइन
आजको यो संक्रमणकाल रचनाकारले निर्माण गरेको भूतिया चलचित्र जस्तो मात्र हो
झुक्याउने, तर्साउने, अलमलाउनेदेखि केही केही होइन यो ।

संक्रमणकाल छ, निद हरण भएका छन्, तर उसलाई केही फरक पर्दैन
संक्रमणकाल छ, चुलोहरू चिसा भएका छन्, ठालूलाई कहिल्यै फरक पर्दैन
सुनियोजित छ, लक्ष्य यही छ, योजना यही छ , प्रवृत्ति यही छ
रोई, कराई घुक्र्याएर उसलाई केही फरक पर्दैन ।

जनताको बुई चढेर गएकाहरु, जनताको टाउकामा गिर खेलिराखेका छन्
आमाको काखमा सैशवकाल बिताएकाहरू नै आमाको अस्मिता लुट्न तल्लिन रहेका छन्
जनता तिमी सर्वशक्तिमान हौं, पवन पुत्र झैं अद्भूत छौ
कस्तुरीलेझैं वीनाको खोजीमा भड्किन छोड, समयले तिम्रो क्षमता, रौद्र रुपको माग गरिरहेको छ ।
– धरान