एलेभेन स्टार क्लबका राम राई र राजु वज्राचार्यको जोडीले प्रथम ललितपुर जिल्ला रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्स उपाधि जितेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा उक्त जोडीले सातदोबाटो युथ क्लबका विकास महर्जन र प्रदीप महर्जनको जोडीलाई २१–१५, १६–२१ र २१–१४ को सेटमा पराजित गरे । विजेताले रनिङ सिल्डसहित १५ हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाए ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज सिंगल्समा लगनखेल युथ क्लबका निखिल भट्टले फाइनलमा बालकुमारी रिमिक्स क्लबका आर्यन महर्जनलाई २१–१५ र २१–७ को सोझो सेटमा हराउदै पहिलो भए । निखिलले ८ हजार र आर्यनले ५ हजार नगद पुरस्कार हात पारे ।
भेट्रान पुरुष डबल्समा सातदोबाटोका कमल शाक्य र सानुबाबु महर्जनको जोडीले स्वर्ण जिते । फाइनलमा उक्त जोडीले आफ्नै क्लबका सुगतरत्न शाक्य र सुनीलमान शाक्यको जोडीमाथि २१–१६ र २१–१४ को जित दर्ता गरे । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य वीरेन्द्र श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । चैत १३ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा ११ खेलाडी सहभागि थिए भने भेट्रान डबल्समा २१ र पुरुष डबल्समा ४१ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया