भरतपुरस्थित कागज कारखानामा आगलागी, लाखौँको क्षति

भरतपुरस्थित कागज कारखानामा आगलागी, लाखौँको क्षति


नारायणी नेपाल कागज उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आज बिहान आगलागी हुँदा करीब १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनकै हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो । दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए ।

सो घटनामा मानवीय क्षति भने नभएको राससले जनाएको छ । बताइएअनुसार कारखाना र त्यहाँ रहेका कागज र कच्चापदार्थ ठूलो मात्रामा क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान शुरु गरिएको छ ।