महिला ह्याण्डबलमा नेपाललाई ऐतिहासिक सफलता

महिला ह्याण्डबलमा नेपाललाई ऐतिहासिक सफलता


नेपाली महिला ह्याण्डबल टोलीले विदेशीभूमिमा हालसम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ । मित्रराष्ट्र भारतमा संचालित पाँचौँ महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगितामा नेपालले उत्कृष्ट नतिजा हात पार्दै दोश्रो स्थान हात पारेको हो । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको यो पहिलो सफलता हो ।

भारतको लखनउमा २०१८ मार्च ३१ बाट अर्पिल ४ सम्म भएको प्रतियोगितामा नेपालले बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित गरेको थियो । फाइनलमा नेपाल आयोजक भारतसंग पराजित भएको थियो ।

राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तानलाई २३–४ र भुटानलाई २८–४ गोल अन्तरले पराजित गरेको थियो । तर फाइनलमा भने नेपाल भारत संग २४–५ गोल अन्तरले पराजित हुँदै दोश्रो स्थानमा चित्त बुझाएको थियो ।

नेपाली टीममा उमा राई (टिम कप्तान), बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देब कुमारी बास्कोटा, संगिता चौधरी, दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका थिए । त्यस्तै प्रशिक्षकको भूमिकामा अरुण लाल कर्ण र रमेश सापकोटाले निभाएका थिए ।

यो सफलताले नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदमा टिम गेममा पदकको सम्भावना लाई बलियो बनाएको नेपाल ह्याण्डबल संघका सचिव केशब पाठकले बताएका छन् ।