भारत भ्रमण : केपीको अर्कै योजना

भारत भ्रमण : केपीको अर्कै योजना


भारतसँगको सम्बन्धलाई ‘पृथक’ बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष अग्रसरता लिने बताइएको छ । १२बुँदे सम्झौतादेखि यता नेपाल–भारत सम्बन्धमा भएका उतारचढावहरूको समीक्षा गरी सम्बन्धलाई परस्पर उपयोगी र सम्मानजनक बनाउने कुरालाई प्रधानमन्त्री ओलीले प्राथमिकतामा राख्नुभएको बालुवाटार स्रोतको भनाइ छ । यसबीचमा सम्बन्धमा उब्जिएको आशङ्कालाई सुधार गरी नयाँ ढङ्गले सम्बन्ध अघि बढाउने सोचमा प्रधानमन्त्री ओली हुनुहुन्छ । छिमेकी मुलुकका रूपमा भारतसँग भएको साधनस्रोत, ज्ञान र सीपको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे उच्चतम बिन्दुमा पुगेर छलफल गरिने बताइएको छ ।

प्राप्त जानकारीअनुसार यही चैत २३ देखि २५ गतेसम्मको यो भ्रमणमा नेपाल–भारत सम्बन्धको पुनरावलोकनलाई प्रधानमन्त्री ओलीले प्राथमिकतामा राखेका छन् । विगतको पुनरावलोकनपछि भविष्यको बाटो तय गरिने बताइएको छ । ऊर्जा भ्रमणको एजेण्डामध्येको एक हो । ऊर्जाका बारेमा पनि अहिलेसम्म भएका पहल, सहयोग र भविष्यमा गर्न सकिने सम्भावनाहरूको खोजी गरिनेछ । भ्रमणलाई सफल मात्र नभएर राष्ट्रको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारेमा गृहकार्य तीव्र पारिएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनुहुनेछ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा पचास जनाको टोली रहने थाहा भएको छ । प्रधानमन्त्रीका अलावा परराष्ट्रमन्त्री र सांसदहरूको सहभागिता रहनेछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन अजरबैजान जानुभएकाले उतैबाट प्रधानमन्त्रीको भ्रमणमा सामेल हुनुहुनेछ । भ्रमणमा सांसदहरू नेकपा एमालेबाट रामवीर मानन्धर, शान्ता चौधरी र गणेश ठगुन्ना, नेपाली काङ्ग्रेसका सीताराम महतो र उमा भण्डारी, एमाओवादीका दीनानाथ शर्मा र रामेश्वर राय यादव, राजपाका शरतसिंह भण्डारी र मधेसी जनअधिकार फोरमका विमलप्रसाद श्रीवास्तवको सहभागिता रहनेछ । सबै एजेण्डा तय भइसकेपछि आवश्यकता हेरेर अर्थमन्त्री जाने या नजाने टुङ्गो हुने पनि स्रोतले बताएको छ ।

ओलीलाई चीननजिक र भारतविरोधीका रूपमा लिने गरिएकाले पनि यो भ्रमण भारतका लागि पनि त्यत्तिकै महत्वपूर्ण मानिएको छ । प्रधानमन्त्रीका रूपमा गरिएको केपी ओलीको अघिल्लो भ्रमणमा भारतले दुई प्रधानमन्त्रीका तर्फबाट विगतमा जारी गर्दै आएको संयुक्त वक्तव्य जारी गरेको थिएन । यसपटकको भ्रमणमा संयुक्त वक्तव्य जारी गरिन्छ कि गरिँदैन भन्ने कुरालाई व्यग्रतापूर्वक हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणलाई भारतले पनि उच्च महत्व दिएको छ । प्रधानमन्त्रीको व्यवहार र त्यहाँ बन्ने समझदारीले दुई पक्षबीचको सम्बन्धको गहिराइ तय गर्नेछ ।

यो पनि हेर्नुहोस्-
प्रधानमन्त्री ओलीको भारत भ्रमण र अपेक्षा

https://ghatanarabichar.com/96409