एक साँझ नेपाली राजनीतिका उच्च नेतासँग भेट भयो । उहाँले भन्नुभयो– नेपाललाई भारतले सिध्याउन लागिसक्यो, तपाईंहरूलाई रिस छैन ? मैले उहाँलाई भने– यदि छिमेकीमा आफूभन्दा बलिया देश छन् भने ऊसँग मिलेर, उस्लाई विश्वासमा लिएर अगाडि बढ्नेभन्दा अरू उपाय के हुन्छ त ? उहाँ झन् जङ्गिनुभयो र भन्नुभयो के कुरामा मिल्ने ? हामीले भारतको एक बिघा जमिन हडपेका छैनौँ, फेरि उनीहरू त्यत्रो जमिन हुँदाहुँदै पिलर सारीसारी हामीजस्तो सानो मुलुकको जमिन हडप्न किन कोसिस गर्छन् ? हामीले तिनका देशको सुरक्षामा दुस्प्रभाव पार्ने कुनै काम गरेका छैनौँ, फेरि उनीहरू नेपालका मावोवादीलाई दिल्लीबाट समर्थन र सुरक्षा दिँदै किन नेपालीलाई नै मार्न लगाउँछन् ? हामीले तिनका मुलुकको अखण्डतालाई क्षति पुग्ने गरी कुनै षड्यन्त्र गरेका छैनौँ, फेरि तिनीहरू किन बिहारमा लगेर त्यहाँको सीमामा तैनाथ अर्धसैनिक बलको समेत सहयोग र संलग्नतामा हाम्रो तराईमा विद्रोह गर्ने फौज खडा गर्दछन् ? हाम्रो वाणिज्यदूत कोलकातामा बसेर केवल व्यापारिक काम गर्छन् फेरि भारतका वाणिज्यदूतहरू वीरगञ्जमा बसेर तराई अलग्याउने षड्यन्त्र किन गर्दै छन् ? अब हामीले त्यस्तो देशसँग कसरी मिल्ने ? के हामी भारतमा नेपाल गाभे हुन्छ भनेर बस्ने ? के उनीहरूले पैसा बाँडे भने नेपाल भारतको अङ्ग भए पनि हुन्छ भनेर ल्याप्चे लगाउने ? तपाईंहरू यति धेरै पढेर पनि कस्तो हावाको कुरा गर्नुहुन्छ ? के तपाईंमा राष्ट्रियता छैन ? मलाई त्यस दिन उहाँले राष्ट्रियताको नाममा निक्कै दपेट्नुभयो । अनि मैले कुरा राखेँ– माओवादी सरकारमा छ, उहाँहरू पनि त विदेशी प्रभुको इसारामा चल्दैनाँै भन्नुहुन्छ नि त ? त्यही सरकारलाई सहयोग गरे भएन त ? उहाँ झन् आगो हुनुभयो, झन् पड्कँदै भन्न थाल्नुभयो– माओवादीको जन्म भारतले नै गराएको हो । त्यसैले प्रधानमन्त्रीले त्यहाँको भक्त भएको देखाउन बिप्पा सम्झौताजस्तो गर्नै नहुने सम्झौता गरेर भक्ति देखाउनुभएको हो । माओवादीको हरेक मार्गचित्र भारतबाटै बन्छ । भारत नेपाललाई आफ्नो अङ्ग बनाउन चाहन्छ । नेपाल एक अलग सार्वभौम सम्पन्न देश हो भन्दा उसलाई किन रिस उठ्छ ? । ऊ चाहन्छ तराईका नेताहरूलाई उकासेर तराई अलग पार्ने र त्यहाँका जनप्रतिनिधिद्वारा त्यो भूभाग भारतमा आत्मसमर्पण गराउने । पश्चिमको पहाडी भागलाई सङ्घीयताको नाममा अलग प्रदेश बनाई कुमाऊँ, गडवालतर्फ मिलाउने । पूर्वको भागलाई अर्को प्रदेश बनाई पश्चिम बंगालतर्फ गाभ्ने काम गर्ने । यसैगरी नेपाललाई बिस्तारै–बिस्तारै अस्तित्वहीन बनाउने खेल सुरु भइसकेको छ र यसै खेलअन्तर्गत संवैधानिक पदहरू खाली पार्ने, संसद् भङ्ग गर्ने र राज्यशक्ति र स्रोतलाई मनलाग्दी माओवादी सरकारद्वारा प्रयोग गराउने काम भइरहेको छ ।
यति कुरा गरुन्जेल उहाँ झन् उत्तेजित भइसक्नुभएको थियो । उहाँले बार–बार मलाई बीचबीचमा भन्दै गर्नुहुन्थ्यो– नेपालमाथि यतिसम्म अत्याचार भइरहेको छ । फेरि तपाईं भारतसँग मिल्ने कुरा गर्नुहुन्छ ? अनि मैले बीचमा कुरा थपँे– होइन, राजाहरूको शासन रहुन्जेल त कमसेकम हाम्रो राष्ट्रियतामाथि सङ्कट थिएन नि त ? उहाँ मेरो कुराले झन् आगो बन्नुभयो र भन्न थाल्नुभयो– के गरे राजाले माओवादीलाई भारतले उचाली शसस्त्र विद्रोह गर्दा उनीहरूविरुद्ध सेना परिचालन गर्न नदिने त्यही संस्था होइन ? भारतको वाणिज्यदूत नेपालमा आवश्यक नै थिएन, तिनलाई वीरगञ्जमा बस्न दिएर तराई अलग्याउने खेल खेल्ने वातावरण बनाइदिने त्यही संस्था होइन ? भएको प्रजातन्त्र छिनेर सबैलाई जेल हालेर एक्लै शासन गर्न दुस्साहस गर्ने त्यही संस्था होइन ? त्यस्तो संस्थाले यो मुलुकको राष्ट्रियता जोगाउँछ ? हिजो इतिहास हेर्यो भने बिचरा त्रिभुवन पनि त भारतसँग मिल्नै खोजेका थिए नि ? तिनले पनि के पाए ? जोे–जो मिल्न चाहन्छन् तिनैमाथि शोषण गर्दछ त्यो देशले ।
रातो–पिरो हँुदै त्यस दिन उहाँ भारत नेपाल र नेपालीहरूको हितमा छैन भन्ने कुरा मलाई बुझाउन खोजिरहनुभएको थियो । उहाँका कुराले कतै–कतै मलाई मनमा छोई पनि रहेको थियो । तर, पूर्ण रूपमा म उहाँसँग सहमत भने थिइनँ, किनकि मलाई लाग्छ कुनै पनि मुलुकका नेता हुन चाहनेहरूसँग नेपालको विदेशनीति कस्तो हुनुपर्छ भन्ने कुरामा स्पष्ट सोच हुनुपर्छ । ०४७ सालपछि नेपालमा आफूलाई नेताको काम गर्छु भनेर जनताको भोट माग्दै हिँड्नेमध्ये धेरैले यो देशको प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री हुने सौभाग्य पाएकै थिए, तर कहिल्यै कसैले राष्ट्रिय, परराष्ट्र नीति, आर्थिक नीति, कृषिनीति, सुरक्षानीतिजस्ता विषयमा बहस चलाएनन् । केवल एक पार्टीले अर्को पार्टीको खेदो खन्ने र आफ्नो सरकार ढल्ने भए संसद् नै विघटन गरिदिने वा सांसद नै गायव गराउनेजस्ता तल्लोस्तरका काम मात्र गर्दै गए । खालि भ्रष्टाचार गर्नेमा महारथी हासिल गरे, प्रशासनतन्त्रलाई पङ्गु बनाउँदै लगे, सुरक्षा निकायहरूलाई राजनीतीकरण गरिदिए, फलस्वरूप देशको विकास हुन सकेन, आमजनताको जीवनस्तर बढ्न सकेन र शान्तिसुरक्षाको स्थिति जर्जर हँुदै गयो । यसैको परिणाम राजा सक्रिय हुने र माओवादी जन्मने वातावरण बन्यो । मेरो विचारमा त्यतिवेला त भारतले यहाँका पार्टीहरूलाई संसद् भङ्ग गर्ने वा सांसद लुकाएर शासन गर्ने वा जर्जर जमिनमा सिँचाइको व्यवस्था नगर्ने निर्देशन त दिएको थिएन होला नि ? फेरि त्यस प्रकारका गम्भीर गल्तीहरू यहाँका नेताहरूले त्यसबेला किन गरे र आज जब सरकारबाट बाहिरिनुपर्यो अनि माओवादीलाई सत्ताच्युत गर्न भारतको डर नेपालीलाई किन देखाइरहेछन् ? त्यसको पनि जवाफ खोज्नुपर्छ । यदि हिजो आफ्ना गल्तीका कारण नै नेपाल र नेपालीले यो दुःख भोग्नुपरेको हो भन्ने कुरा यदि भित्री आत्माबाट कसैलाई महसुस हुन्छ भने ती नेताहरूले अब आत्माआलोचना र जनतासमक्ष क्षमा मागी राजनीतिबाट सन्न्यास लिनुपर्छ र नयाँ पुस्तालाई नेपाल बनाउन र नेपालीको जीवनस्तर माथि उठाउन राजनीतिको बाटो छोडिदिनुपर्छ । हिजो महान् गल्ती गर्नेहरूले नै आज भारतलाई गाली गर्न मिल्दैन, बरु पहिला आफ्नो कार्यकालका कमजोरी कोट्याउनुपर्छ ।
त्यस साँझ धेरैबेर कुरा भयो । भारतले विमानस्थलमा आफ्नो सुरक्षा राखेदेखि ‘र’ को गतिविधि यहाँ बढेकालगायत राजाका गल्तीदेखि गिरिजाले राष्ट्रपति हुने चाहनामा गरेका गल्तीसम्मको विश्लेषण भयो । १२बुँदे सम्झौता गर्दा त्यसै बेला माओवादी लडाकुहरूको व्यवस्थापन गर्नुपथ्र्यो भन्ने कुरा पनि आयो । धेरैबेर कुरा सुनेपछि मैले पनि भने– कुरो ठीकै होला तर राष्ट्रियता जगाउन देशका नागरिकको जीवनस्तर माथि उकास्न अति नै जरुरी छ । त्यसका लागि आर्थिक विकास अपरिहार्य छ । तपार्इंहरूको गल्ती यही भो कि तपार्इंहरूले आफू र आफ्ना पार्टीका लागि राजनीति त गर्नुभयो तर मुख्य काम जनताको जीवनस्तर उकास्न भने सक्नुभएन । त्यसैले तपार्इंहरूको मात्र कुरा सुनेर वा अनुहार हेरेर नेपाली कुनै आह्वानमा सक्रिय हुँदैनन्, अब नयाँ पुस्तालाई यो जिम्मा दिनुहोस् । नयाँ पुस्ताको कुरा गर्दा उहाँले नमिठो अनुहार लगाउनुभयो ।
जे होस्, त्यस साँझ मैले नेपाल–भारतको सम्बन्धबवारे धेरै कुरा सुन्ने–बुझ्ने मौका पाएँ । ती भनिएका कुरामध्ये कति ठीक छन्, कति बेठीक म राज्य सञ्चालनमा नभएकोले छुट्याउन सक्ने अवस्थामा थिइनँ तर पनि एउटा सच्चा नेपाली भएको नाताले मलाई यति थाहा छ कि ब्रिटिसले पूरै हिन्दुस्तान कब्जा गर्दा पनि हाम्रा पुर्खाले खुकुरीले बचाएको यो मुलुकमाथि हाम्रो पुस्ताले पनि कुनै आँच आउन दिनुहुँदैन । ज–जसले त्यस युद्दमा लडेर नेपालको सीमास्तम्भ गाडे त्यो सीमास्तम्भ र सार्वभौम सत्तामाथि हामीले थोरै पनि आँच आउन दिनुहुँदैन । अङ्ग्रेजको शासनमा समेत लखनउजस्ता सहर जित्न नसकी नेपाली फौजको मद्दत माग्ने स्थिति यो देशको थियो । त्यस्तो देशका हामी नागरिकले अरू देशसँग मिली आफ्नै मुलुकलाई मक्काउने काम कदापि गर्नुहुँदैन । आजको भारतलाई नक्सामा महान् बनाउन नेपालीको रगत पनि परेको छ, त्यसैले भारतले पनि नेपाली भूमिलाई अखण्ड राख्न मद्दत गर्नुपर्छ । नेपाली राजनीतिज्ञले पनि बुझ्नुपर्छ कि यदि आफ्नै मुलुकमा एटम बम खसाल्ने जापानजस्तो देशले समयअनुसार विकास गर्न त्यही अमेरिकाको सैनिक आफ्नो मुलुकमा राख्न सक्छ भने नेपालले पनि भारतसँगको सम्बन्ध अब कसरी अगाडि बढाउने ? भन्ने सम्बन्धमा नयाँ आयामबाट सोच्नुपर्छ । केवल भारतलाई प्रधानमन्त्रीमा पुर्याइदिने भर्याङको रूपमा प्रयोग गर्ने काम राजनीतिज्ञहरूले छाड्नुपर्छ । भारत–नेपालबीचको यथार्थ कुरा जस्ताको तस्तै रूपमा बाहिर ल्याउन जरुरी छ । यदि कोही नेता भएर भारतसँग मिली नेपालको सार्वभौमसत्ता अखण्डता धरापमा पार्दै छन् भने त्यस्तालाई नेपाली जनताले समाप्त नै पारिदिनुपर्छ । मलाई लाग्छ तीभन्दा ठूला महाअपराधी अरू कोही हुन सक्दैनन् ।
अहिले भारत र नेपालको सम्बन्ध कस्तो छ ? आमनेपालीलाई जिम्मेवार राजनीतिक दलहरूले बुझ्ने गरी स्पष्ट पारिदिनुपर्ने अवस्था आएको छ । साँच्चिकै भारतका कारणले नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच पुग्दै छ भने प्रत्येक नेपालीले राष्ट्रको सुरक्षाका लागि आ–आफ्ना खुकुरी फेरि धार लगाउनुपर्छ । तर, नेताहरूले आफ्ना स्वार्थसिद्धिका लागि जनतालाई भ्रम छरेर बेबकुफ बनाइरहेका छन् भने त्यस्ता नेतालाई पनि चेतावनी दिनुपर्छ । भारतले पनि यो कुरा बुझ्नुपर्छ कि नेपालले भारतको स्थिरतामा र भारतले नेपालको आर्थिक विकासमा ठूलो सहयोग गर्न सक्छौँ । अहिले नेपाली नेताहरूले मजस्ता लाखौँ–करोडाँै जनतालाई स्पष्ट रूपमा नेपाल–भारत सम्बन्धबारे बुझाइदिन जरुरी छ ।
प्रतिक्रिया