डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा शुक्रबार आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्बन्धित गाउँपालिका-नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सहकारीको अभिलेख हस्तान्तरण गरेका थिए ।
डिभिजन सहकारी कार्यालयका अधिकृत दुर्गाप्रसाद न्यौपानेले नयाँ संविधान र सहकारी ऐन २०७४ को प्रावधानअनुसार यही चैत महिनाभर मात्र डिभिजन सहकारी कार्यालय अस्तित्वमा रहने भएकाले स्थानीय तहलाई अभिलेख हस्तान्तरण गरिएको बताए । जिल्लामा सबैभन्दा धेरै सहकारी बिर्तामोड नगरपालिकामा १३२ र सबैभन्दा कम झापा गाउँपालिकामा २१ सहकारी छन् ।
प्रतिक्रिया