० राष्ट्रपतिले दिएको चौथोपटकको म्याद समाप्त हुँदै गर्दा प्रमुख दलहरूबीच सहमति हुने चर्चा निकै चलेको थियो, तर त्यो हल्ला पनि निरर्थक भयो, के फेरि पनि सहमति भाँडिएको हो ?
– सहमति भाँडियो नै त म भन्न सक्दिनँ, तर यसमा केही व्यवधान भने निस्केका छन् । मलाई जानकारी प्राप्त भएअनुसार प्रधानमन्त्री बाबुराम भट्टराई सहमतिका लागि तयार भइसक्नुभएको छैन । उहाँ नयाँ–नयाँ सर्त थप्दै हुनुहुन्छ । विगतमा एमाओवादी नेतृत्वसँग भएको समझदारीका बेला त उहाँ पनि संलग्न हुनुहुन्थ्यो, तर अहिले आएर फेरि सरकार नछोड्ने बरु यही सरकारमा केही दिनका लागि भए पनि एमाले र काङ्ग्रेस सहभागी भइदिएर सहमतिको स्वरूप दिनुपर्यो भन्ने सर्त उहाँबाट तेस्र्याइन थालिएको छ, जो कि उचित होइन र हामी यसका लागि तयार छैनौँ ।
० कागजी सम्झौताका भरमा मात्र सङ्घीयताविरोधीलाई म कुर्सी सुम्पन सक्दिनँ भनेर प्रधानमन्त्रीले त गम्भीर कुरा उठाउनुभएको छ नि ?
– सङ्घीयताविरोधी को हो र को होइन, सङ्घीयतालाई एउटा सत्ता कब्जा गर्ने भर्याङको रूपमा मात्रै कसले उपयोग गर्दै छ भन्ने त इतिहासले प्रमाणित गर्दै छ । त्यसैले यस्ता बखेडा झिक्नु सरासर राजनीतिक बेइमानी हो । हामी यसलाई उचित ठान्दैनौँ । तै पनि एउटा सहमतिमा प्रवेश गर्न लागेको र निर्वाचनका लागि निष्पक्ष सरकार निर्माणको कार्यमा लागेको सन्दर्भमा विवाद बढाउने काम हामी गर्दैनौँ । तर, कसैले विवाद जानी–बुझीकन बढाउन खोज्छ भने त त्यसलाई हामी स्वीकार गर्दैनौँ ।
० तपाईंहरूको यस्तो अडानले बन्न लागेको सहमतिमा हलो अड्काउने भयो नि त ?
– हलो अड्काउने प्रयास हामीबाट होइन अन्यत्रैबाट गरिँदै छ । राजनीतिमा कसैको एकपक्षीय प्रयासले मात्र हुँदैन, चारैतिरको जनदबाब, राजनीतिक दबाब भइसकेपछि जो आवश्यक पर्छ त्यही हुन्छ नै । मेरो दृष्टिमा अहिले चारैतिरबाट चर्को दबाब छ कि यो सरकारको बहिर्गमन भएर सहमतिको नयाँ सरकार बनोस्् भनेर । अहिले अलमल गराउनुको मतलब हुन्छ– सहमति हुनै नदिने र निर्वाचन गर्नै नदिने । त्यसकारण यसप्रकारको षड्यन्त्रलाई कसैले पनि स्वीकार गर्न सक्दैन । आज सारा जनता नयाँ सरकारको
प्रतीक्षामा छन् । यसका लागि काङ्ग्रेसको नेतृत्वको सरकार हुनुपर्नेमा सबैबाट स्वीकारोक्ति भइसकेको छ । यसका आधारमा मलाई विश्वास छ– बाबुराम भट्टराई सत्ता छोड्न अन्ततः तयार हुनुहुनेछ ।
० प्रधानमन्त्रीले त काङ्ग्रेस–एमाले यही सरकारमा आउनुपर्ने, निर्वाचनको तिथि तोकिनुपर्ने अनि सत्ता छोड्ने त्यो पनि मधेसी नेतृत्वको हातमा भनेर भन्नुभएको छ, के भन्नुहुन्छ तपाईं ?
– यो बकवासबाहेक केही हुन सक्दैन । यस्तो किन भनेको हो उहाँले मात्रै बुझ्नुहोला । निर्वाचन अड्काउने रणनीति हो भने यो सफल हुन सक्दैन । उहाँले आजभन्दा धेरै अगाडि राजीनामा दिइसक्नुपथ्र्यो । सबै दललाई झुक्याएर मङ्सिर ७ को निर्वाचन मिति तोक्ने व्यक्तिले निर्वाचन गर्न नसक्ने, आफ्नो सरकारलाई यत्तिका समयसम्म राजनीतिक स्वरूप दिन नसक्ने, अनि फेरि अहिले आएर आफ्नै सरकारमा आऊ भन्नु त सरासर राजनीतिक बेइमानी हो, यो सम्भव छैन । उहाँको सरकारमा हामी पहिले गइसकेकै हौँ ।
० बाधा अड्काउ फुकाउन आफैँले पाउनुपर्यो भन्नुभएको छ प्रधानमन्त्रीले, यो जायज होइन ?
– फुकाइसक्नुभयो नि उहाँले बाधा–अड्काउ त, त्यत्रो संविधानसभा नै अन्त्य गरिदिनुभयो, योभन्दा ठूलो ‘बाधा–अड्काउ फुकाउ’ अरू के हुनसक्ला ? जुन संवैधानिक निकायले उहाँलाई निर्वाचित गर्यो त्यसैलाई समाप्त पारिदिनुभयो, आफ्नो प्रधानमन्त्रीत्वलाई निरन्तरता दिनका लागि त्यत्रो निकाय भङ्ग गराइसक्नुभयो । अब राजनीतिक दबाबबाट निस्कने सहमतिका आधारमा नयाँ सरकार बन्ने उपक्रम छ, त्यसलाई पनि अनेक बखेडा झिकेर उहाँ बिथोल्न खोज्नुहुन्छ भने हामी किमार्थ स्वीकार गर्दैनौँ ।
० अहिलेको स्थितिमा काङ्ग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन किन नचाहेको होला डा. भट्टराईले ?
– त्यसको जवाफ स्पष्टै छ नि, उहाँ आफू सत्ता छोड्नै चाहनुहुन्न अनि अरूलाई त्यहाँ पुर्याउन कसरी चाहनु त उहाँले ? सत्ता छोड्न नचाहेकोले नै संसद्को अन्त्य गरिदिनुभएको हो । तर, यतिखेर म पुनः यो विषयलाई चर्काउने पक्षमा छैन । बरु यही आशा र विश्वास व्यक्त गर्न चाहन्छु कि डा. बाबुराम भट्टराईले अन्ततः कुर्सी छोड्नुहुनेछ, छोड्नैपर्छ । छोड्ने बेलामा मानिसलाई अलिक गाह्रो पनि हुन्छ, कतिपय आफ्नाहरूले ‘नछोड’ भनेर उक्साइरहेका पनि हुनसक्छन्, तर छोड्नैपर्छ नि ।
० मैले बाबुरामजीलाई मनाउन सकिनँ, अब काङ्ग्रेस–एमालेहरूले मनाउनुपर्यो भन्नुभएको छ प्रचण्डजीले त ?
– अब जनताको दबाबले मनाउनेछ बाबुरामजीलाई । यत्तिका दलहरूले छोड भनिसकेपछि एक्लै सत्तामा बसिरहन्छु भनेर चल्नेवाला छैन ।
० फेरि पनि म्याद थप्ने कुरो आइरहेको छ नि ?
– म त म्याद थप्नुपर्छ भन्ने पक्षमा छैन, म्याद मात्र थपेर समाधान हुने देखिएन । संविधानको धारा ३८(२) बमोजिम अब राष्ट्रपतिले राजनीतिक दलहरूसँग परामर्श गरेर जसको पक्षमा बहुमत निस्कन्छ त्यसैबाट प्रधानमन्त्री घोषणा गरिदिनुपर्छ भन्ने मेरो विचार हो । यो तमासा लामो समयसम्म चल्न दिनुहुन्न ।
प्रतिक्रिया