१४ मेगावाट क्षमताको घारखोला आयोजना निर्माण शुरु

१४ मेगावाट क्षमताको घारखोला आयोजना निर्माण शुरु


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घार भन्ने स्थानमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको छ ।

घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेललाई उद्धृत गर्दै राससले जनाएको छ । बताइएअनुसार आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ ।

आयोजनाले सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेको र बाँकी केहीको पनि कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउने जनाएको छ ।
त्यसपछि निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम थालिने छ ।

घारको कुरिला बगरमा बाँध रहने यस आयोजनामा विद्युतगृहसम्म पानी खसाल्नका लागि तीन किमी ४८ मिटर लामो सुरुङमार्ग निर्माण गरिने छ । सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई करीव एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

आगामी २०७७ साल (तीन वर्ष)भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस आयोजनामा रु दुई अर्ब ४१ करोड लगानी अनुमान गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिएका छन् ।