पूर्वआईजीपी रवीन्द्रप्रताप शाहको कार्यकालको अन्तिम समयमा नेपाली नागरिकले आफ्ना छोराछोरीलाई ड्रग्सबाट जोगाउने एउटा ऐतिहासिक कार्यक्रम पाएका थिए । नार्कोनन्ले प्रस्ताव गरेको त्यो अभियान पूर्वप्रहरीप्रमुख शाहले प्रहरीको उच्च तहको मिटिङमा (पीसीसी मिटिङमा) राखी पास गराई गृह मन्त्रालयको समेत समर्थन लिई देशव्यापी रूपमा अगाडि बढाउनुभएको थियो । गृहबाट सचिवस्तरीय स्वीकृत प्राप्त भएपछि शाहले एआईजी भीष्म प्रसाईंको संयोजकत्वमा ६ महिनाभित्र यो अभियान देशको लगभग ५६ लाख घरधुरीमा पुर्याउन निर्देशन दिनुभयो । त्यसै निर्देशनअनुसार उहाँको नेतृत्वमा नार्कोनन् नेपालको तर्फबाट म र प्रहरी प्रधान कार्यालयको तर्फबाट एक डीआईजी र एक एआईजी यो काममा लाग्यौँ । ६ महिनाभित्र देशव्यापी गाउँस्तरसम्म कार्यक्रम पुर्याउन पहिला केन्द्रदेखि जिल्लास्तरसम्म प्रहरी प्रमुख र प्रशासकको साथै उहाँहरूलाई सहयोग गर्ने समाजसेवीहरूलाई पनि प्रशिक्षण दिन जरुरी थियो । प्रसाईंको नेतृत्वमा प्रहरी प्रधान कार्यालयमा प्रेस कन्फरेन्स गरी आगामी पुस मसान्तभित्र यो कार्यक्रम देशभरि पुर्याउने उद्घोषण भयो र हामी क्यालेन्डर बनाई काममा जुट्यौँ । योजनाअनुसार यस कार्यक्रममा नेपालभरका गाविस र नगरपालिकाका गरी ६५ हजार स्वयम्सेवकहरू प्रत्यक्ष रूपमा प्रहरीको नेतृत्वमा काम गर्नेवाला थिए र तिनलाई व्यवस्थापन गरी एउटै योजनामा काम गराउन प्रहरी प्रधान कार्यालयमा एक डेस्क पनि खडा भयो ।
यो कार्यक्रम गत असारबाट विधिवत् सुरु भयो र हामीले करिब तीन महिनाभित्रै ४३ जिल्लाका १७ सय गाविस र झन्डै आठवटा नगरपालिकामा यो कार्यक्रम पुर्यायौँ । यो कामलाई नार्कोनन्ले कतैबाट एक रुपैयाँ पनि सहयोग पाएको थिएन तर पनि हामीले नेपाललाई दुव्र्यसनमुक्त बनाउने यस महान् अभियानमा आफ्नोतर्फबाट पूरा गर्नुपर्ने दायित्व कुनै हालतमा पूरा गर्ने अठोट गर्याँै । बस चढेर वा मोटरसाइकल चढेर भए पनि ७५ जिल्लामा नै पुगी नार्कोनन्ले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न थाल्यौँ ।
प्रहरीले कार्यक्रम राखेको ठाउँमा नार्कोनन्ले ड्रग्सबारे प्रशिक्षण दिनुपथ्र्यो । हामी पहाडदेखि तराईसम्म पुग्यौँ । सम्पूर्ण रूपमा प्रहरीलाई साथ दियौँ । प्रत्येक ठाउँमा जनताले यो कार्यक्रमलाई सहयोग गरे । स्वयम्सेवकमा बस्न स्थानीय जनता तँछाड मछाड गर्दथे । यस अभियानका नेतृत्व लिनुभएका एआईजी भीष्म प्रसार्इं एक सय तीन ज्वरो आउँदा पनि एन्टिबायोटिक खाँदै तोकिएको ठाउँमा पुग्नुहुन्थ्यो । हामी बहुतै हौसलामा काम गर्दै थियौँ तर कार्य पूरा नहुँदै प्रहरीमा आईजीपी परिवर्तन भयो ।
कुवेर राना नयाँ प्रहरी प्रमुख भएपश्चात् यो कार्यक्रम रोकियो । उहाँले यो कार्यक्रममा पुन: छलफल गरी अघि बढ्ने कुरा मलाई बताउनुभयो र मैले हुन्छ तर निर्णय छिटो गराँै भने किनकि नार्कोनन् नेपाल सरकारद्वारा ड्रग्सविरुद्ध चालिएको को अभियान रोकिएको देख्न चाहँदैन थियो । मैले व्यस्त आईजीपी साहवलाई सम्झाउन यो अभियानबारे पत्र पनि लेखेँ । प्रहरी प्रधान कार्यालयले पनि यस विषयलाई पीसीसमा पुन: राख्न लागेको कुरा मलाई लिखितै जानकारी दियो । झन्डै दुई महिनादेखि अहिले यो कार्यक्रम रोकिएको छ तर लगभग १७ सय गाविससम्म स्वयम्सेवक गठन भइसकेको अहिलेको अवस्थामा नेपालका गाउँगाउँबाट अब हामीले के काम गर्ने ? भनेर स्थानीय मानिसले नार्कोनन्मा सोध्न थालेका छन् । म भन्ने गर्छु, ‘पख्नुस् नयाँ आईजीपी साहवले यसलाई अझै प्रभावकारी बनाउँदै हुनुहुन्छ ।’ म यसरी नै दैनिक नेपालभरबाट आउने जिज्ञासाको जवाफ दिँदै छु । तर, मलाई पनि आईजीको भित्री मनसाय यस कार्यक्रमबारे के छ ? त्योे यकिन रूपमा थाहा छैन । तर, पूर्वघोषणा गरिएअनुरूप यो कार्यक्रम आगामी पुस मसान्तभित्र देशभर नपुग्ने भो भन्ने कुरामा भने म वास्तवमै चिन्तित छु ।
केही दिनअघि मैले केही प्रहरीका जर्नेल साहवहरूलाई यसबारे सोधेँ, ‘होइन आईजीपी साहवले आफँै पब्लिकसँग मिलेर काम गर्ने घोषणा गर्नुभएको छ, उहाँ आफैँ मेट्रोमा हुँदा यो कार्यक्रममा सहभागी हुनुहुन्थ्यो, यस कार्यले ड्रग्स रोक्ने मात्र होइन अपराध घटाउन पनि मद्दत गर्दछ, स्थानीय नगरपालिका, गाविसहरू यस काममा आर्थिक सहयोग गर्न तयार छन् भने फेरि यति राम्रो अघि बढिसकेको कार्यक्रमलाई उहाँले किन रोक्नुभएको होला ?’ जवाफमा ती जर्नेलहरूले हाँस्दै भन्नुभयो, ‘यो कार्यक्रम रोक्ने काम मंगलग्रहबाट आएका दुईजना प्रहरीका डीआईजीहरूले गरेका हुन् ।’ आईजीपीलाई ती मंगलग्रहबाट आएकाहरूले यो अलोकप्रिय कदम चाल्न बाध्य बनाएका छन् । मैले सोधेँ, ‘को हुन् ती मंगलग्रहबाट आएका पुलिसहरू ?’ उनले हाँस्दै भने, ‘सबैले चिनेकै छन् नि, राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह ।’
उहाँहरूको कुरा सुनेपछि म अलि स्पष्ट भएँ । ती डीआईजी साहवहरू प्रहरी प्रधान कार्यालय आउनुअघि पूर्व क्षेत्र र पश्चिम क्षेत्रमा हुनुहुन्थ्यो । पूर्व क्षेत्र र पश्चिम क्षेत्र ड्रग्सका दृष्टिले सबैभन्दा बढी जनता पीडित भएको ठाउँ हो, तर यो अभियानलाई सबै क्षेत्रले गाउँगाउँ पुर्याउँदा पनि यी दुई डीआईजीहरूले असहयोग गरी कार्यक्रम जनस्तरमा जान दिएका थिएनन् । त्यतिबेला भीष्म प्रसाईं र कुवेर रानाबीच प्रहरीप्रमुखका लागि होडबाजी हुँदा यी दुई डीआईजीहरूले भीष्म प्रसाईंलाई असहयोग गर्न र कुवेर रानालाई सहयोग गर्न त्यो कदम चालेका थिए भन्ने पनि त्यतिबेला चर्चा चलेको थियो । तर, मेरो सरोकार को प्रहरीप्रमूख हुन्छन् भन्दा पनि कसरी देशका घरघरलाई ड्रग्सबाट बचाउने भन्ने कुरामा केन्द्रित भएको हुँदा मैले त्यतातिर खासै ध्यान दिएको थिइनँ । जब आईजीमा कुवेर राना आउनुभयो त्यसपछि पनि मैले यो अभियान पूर्व क्षेत्र र पश्चिम क्षेत्रमा नपुगेकाले तत्कालै अघि बढाउदै जाउँm भनेको थिएँ, तर पछि मैले त्यसै क्षेत्रका अधिकृतहरूबाट थाहा पाएँ कि ती क्षेत्रमा गएका नयाँ डीआईजीहरूलाई पनि यो अभियान अहिले अगाडि नबढाउनु भनी आईजी कार्यालयबाटै निर्देशन गएको रहेछ । यो कुरा मलाई थाहा थिएन । अनि मैले भने यस्तो अलोकप्रिय निर्णय आईजी रानाले किन गरे होलान् ? यस विषयमा पनि प्रहरीका जर्नेलले बताएअनुसार ‘यो महान् काम गर्न लगाउने पनि तिनै मंगलग्रहबाट आएका डीआईजीहरू नै हुन् ।’
अब मलाई यो कार्यक्रम किन आईजी कुवेर रानाले रोक्नुभएको रहेछ भनी स्पष्ट हुँदै गएको छ । तर, म एक नागरिक, समाजसेवी, पत्रकार तथा पूर्वप्रहरी अधिकृतको हैसियतले उहाँलाई निवेदन गर्न चाहन्छु कि यो कार्यक्रम नरोक्नुहोस् । अझ यसलाई सशक्त ढङ्गले गाउँगाउँसम्म पुर्याउनुहोस् । आज लाखौँ परिवार ड्रग्सले रोएका छन् । हजारौँ कलिलै उमेरमा मरिरहेका छन् । ८० प्रतिशत अपराध यसैका कारण जन्मिरहेछ । स्कुल–कलेजका बालबालिका गुणात्मक ढङ्गले ड्रग्समा पर्दै छन् । प्रहरीकै परिवारमा पनि थुप्रैको मृत्यु भइसकेको छ । यो कार्यक्रममा नार्कोनन्लाई हटाउन मन लागे हटाउनुहोस्् हामी बाहिरै भएर पनि तपार्इंको यो अभियानलाई सहयोग गर्नेछौँ । तपाईंले भनेको पीपीपी (पुलिस पब्लिक पार्टनरसिप ) को योभन्दा ठूलो कार्यक्रम अरू केही हुन सक्दैन, जहाँ पूरै देशका जनताको प्रहरीलाई साथ हुनेछ । पब्लिक पुलिस पार्टनरसिप त्यसै हुँदैन । त्यसका लागि संयुक्त काम गर्ने विषय र त्यसलाई निरन्तरता दिने सङ्गठन पनि चाहिन्छ । यो कार्यक्रममा सङ्गठन पनि निर्माण भइसकेको छ । हिजो भीष्म प्रसार्इं र तपाईंमा प्रतिद्वन्द्विता थियो होला, आज छैन । भीष्म प्रसाईंले गरेकै कारण तपाईंले यो कार्यक्रम रोक्नुभएको होलाजस्तो मलाई लाग्दैन । नार्कोनन्को सम्बन्धमा कुनै प्रश्न छ भने तपाईं उच्च प्रहरी अधिकृतको अगाडि मलाई सोध्न सक्नुहुन्छ । त्यसको जवाफ नार्कोनन्ले दिनेछ । नार्कोनन्जस्तो सामाजिक संस्था, त्यसमाथि पूर्वप्रहरीले नेतृत्व गरेको, अझ त्यस्तो पूर्वप्रहरी जसले नेपाल प्रहरीमा चेलिबेटी बेचबिखन अभियान चलाउनेदेखि आसरा केन्द्र खोल्नेसम्म र केन्ट्रोल रुम बनाउनेदेखि अवकाशपश्चात्समेत ड्रग्स रोक्ने कार्यमा अन्तर्राष्ट्रिय ख्याति कमाएको छ त्यसको सहयोग र साथ प्रहरीलाई हुनु तपाईंको नेतृत्व सफल पार्न रामै्र सहयोग हुनेछ । यदि यस कार्यमा अरू पार्टनर थप्नु छ, जिम्मेवारी हेरफेर गर्नु छ भने त्यो गर्नुहोस् किनकि हामी बाहिर बसेर सोच्दा प्रहरी भनेकै प्रहरी प्रमुख हुन् र प्रमुखले आवश्यकताअनुसार जसलाई पनि जहाँ खटाउने अधिकार राख्छन् । तर, यहाँनिर म महानिरीक्षक रानालाई के कुरामा सचेत गराउन चाहन्छु भने कुनै अधिकृत बुद्धिमान छ–छैन भन्ने कुरा नतिजाबाट हेर्नुहोस् । आज सबैभन्दा बढी ड्रग्सको समस्या पूर्व क्षेत्र र पश्चिम क्षेत्रमा छ । जुन क्षेत्रमा बसेका डीआईजीहरूले ड्रग्समाथि नियन्त्रण गर्न सकेनन् तिनले तपार्इंलाई यो विषयमा के सल्लाह देलान् ? मेरो कुरा सही हो वा गलत भन्ने कुरा तपाईंले हालका पूर्व तथा पश्चिममा खटिएका डीआईजीहरूसँग पनि भेरिफिकेसन गर्न सक्नुहुन्छ ।
मलाई आशा छ– आईजी रानाले जनतालाई ड्रग्सबाट जोगाउन या त यो कार्यक्रमलाई अझै सशक्त ढङ्गले अगाडि बढाउनुहुनेछ वा यसभन्दा अर्को झनै प्रभावकारी कार्यक्रम ल्याउनुहुनेछ । दुवै अवस्थामा उहाँलाई नार्कोनन्ले साथ दिनेछ तर विकल्प पनि नदिने र यस कार्यक्रमलाई पनि बीचैमा रोक्ने कार्य भएमा त्यो कदमको भने नार्कोनन्ले स्वागत गर्ने छैन । यहाँनिर आईजी रानालाई म के कुरा स्मरण गराउन चाहन्छु भने हिटलरलाई ग्यास च्याम्बर बनाएर लाखाँै यहुदीहरूलाई मार्न सल्लाह दिने नौजना डाक्टर नै थिए । तिनका फोटो अहिले पनि इजरायलको होलोकोस्ट म्युजियममा घृणाका आँखाले हेर्न राखिएका छन् । ती डाक्टर विद्वान् थिए होलान् तर समाजका लागि घातक थिए । यसै गरी यदि तपाईंलाई पनि कुनै आफूलाई विद्वान् ठान्ने अधिकृतले नेपालका घरघरमा दुव्र्यसनविरुद्ध प्रहरीको नेतृत्वमा अभियान चाल्ने कदमलाई रोक्ने सल्लाह दिन्छ भने सावधान हुनुहोला किनकि तपार्इंको त्यस्तो अलोकप्रिय कदमको पनि भविष्यमा प्रत्येक नेपालीबाट ठूलो आलोचना हुने निश्चित छ । आईजीसाव, मंगलग्रहका प्रहरीसँग सावधान हुनुहोस् ।
प्रतिक्रिया