३२ जिल्लामा एकलाख १४ हजार भूकम्पपीडितको आवास निर्माण

३२ जिल्लामा एकलाख १४ हजार भूकम्पपीडितको आवास निर्माण


छविलाल बगाले
भूकम्प गएको पनि तीन बर्ष वितिसक्यो । तर सबै भूकम्पपीडितको आवास अझै पनि निर्माण हुन सकेको छ्रैन् । सरकारी ढिलासुस्ती र झन्झटिलो प्रक्रियाका कारण भूकम्पपीडितहरुले समयमा आवास निर्माण गर्न पाएका छैनन् । तर सरकारले आगामी बर्खाअघि भूकम्पपीडितलाई छानोमूनि ल्याउने लक्ष्य लिएको छ । यही लक्ष्यलाई पुरा गर्न प्राधिकरणले पुननिर्माणलाई तिब्रता दिएको हो ।

भूकम्प प्रभावित ३२ जिल्लामा हालसम्म एकलाख बढि भूकम्पपीडितको आवास निर्माण भएको छ । कुल ७ लाख ६७ हजार ७ सय ८ लाभग्राहीमध्ये हालससम्म एकलाख १४ हजार ६९ पीडितको मात्रै आवास निर्माण भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पछिल्लो समय आवास निर्माणले तिब्रता पाएको जनाएको छ । कुल लाभग्राहीमध्ये ७ लाख ६ हजार ६ सय १६ पीडितले अनुदान सम्झौता गरिसकेको र सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीले पहिलो किस्तावापतको रकम लिएर आवास निर्माण गरिसकेको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले बताए ।

आवास निर्माणका लागि हालसम्म ६ लाख ९२ हजार ४ सय २५ ले पहिलो, २ लाख ९८ हजार ८ सय ७६ ले दोस्रो र ७४ हजार ६ सय १२ जनाले तेस्रो किस्तावापतको रकम लिइसकेका छन् । प्राधिकरणको तथ्यांकमा ४ लाख ५ हजार ४ सय २८ ले सरकारी अनुृदान लिएर नीजि आवास निर्माण शूरु गरेका छन् भने १४ जिल्लाका साढे ४ लाख नीजि आवासको निर्माण तिब्र गतिमा अघि बढिरहेको उपसचिव घिमिरेको भनाई छ ।

प्राधिकरणले यसअघि घर निर्माण गरिसक्ने र अनुदान सम्झौता गर्ने समय कम भएको भन्दै समयावधि थप गरेको छ । प्राधिकरणले ०७५ असार मसान्तभित्र दोस्रो किस्ता र ०७५ पुस मसान्तसम्म तेस्रो किस्ता सम्झौता गर्ने समयावधि थप गरेको छ । यता, भूकम्पबाट सात हजार ५ सय ५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७०० विद्यालय बन्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, ७ सय ५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकोमा करीब एकसय सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।